|

रौतहट : व्यवसायमा घाटा लागेपछि अपहरण परेको नाटक गरी बेपत्ता भएका रौतहटका एक जना व्यापारी जोगीको भेषमा पक्राउ परेका छन्।

हराएको दुई महिनापछि ती व्यापारीलाई प्रहरीले पक्राउ गरेको हो। रौतहटको कटहरिया नगरपालिका ७ बगही बस्ने भगवान साहलाइ साढे दुई महिना पछि रौतहट प्रहरीले पक्राउ गरेको हो।

गत बैशाख १७ गते बेपत्ता भएका साह जोगीको भेषमा पहेँलो वस्त्रधारण गरेर भारतको मुम्बई, हरिद्वार लगायतका स्थानमा लुकेर बस्दै आएका थिए। सोही अवस्थामा उनलाई पक्राउ गरिएको रौतहट प्रहरीले जनाएको छ। ती व्यापारीलाई रुपन्देही जिल्लाको नेपाल भारत सीमा नजिकबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

साहलाई पक्राउ गर्न एक महिनादेखि भारतका विभिन्न स्थानमा रौतहटका दुई जना प्रहरी परिचालित रहँदै आएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक नविन कार्कीले जानकारी दिए।

पक्राउ परेका साहविरुद्ध सार्वजनिक अभद्र व्यवहार कसुरमा मुद्दा चलाइएको कार्कीले जानकारी दिए।

व्यापारी साह गरुडा नगरपालिका–४ गरुडाबजार स्थित लक्ष्मी कोल्ड स्टोरको गोदाममा लु ४१ प ५७४९ नम्बरको मोटरइसाइकल राखी सम्पर्क विहीन बनेका थिए। उनका बुवा जीयालाल साह तेलीले खोजतलासको लागि इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दर्ता गराएका थिए। बेपता भएको दुई दिनपछि लक्ष्मी कोल्डस्टोरमा साहको मोटरसाइकल सहित मोटरसाइकलको लेगार्डमा नाइलनको झोलाभित्र लाभा कम्पनीको साधारण मोबाइल फोन, एमआई कम्पनीको स्मार्ट मोबाइल फोन पीओएस एटीएम मेसिन २४८३ नम्बरको नागरिकताको प्रमाणपत्र, अजिम आलमको ३२–५६–७३ नम्बरको नागरिका लगायत मोबाईलमा प्रयोग भएका सिमहरू फेला परेका थिए।

साहका सामान फेला परेपछि उनका परिवारका सदस्यले स्टोरका संचालक रामकुमार चौधरीविरुद्ध अपहरण र कर्तव्य ज्यान सम्बन्धि जाहेरी दर्ता गराएका थिए। प्रहरीले अनुसन्धानको लागि चौधरीलाई पक्राउ गरेको थियो। उनी निर्दोष पाइएपछि प्रहरीले थुनामुक्त गरेको थियो।

साहले कटहरियामा तराई ईन्टरप्राईजेज र काठमाण्डौमा बाजुरा ईन्टरप्राईजेज नामक आइएमई व्यवसाय गर्दै आएकोमा त्यसमा घाटा लागेपछि आफू अपहरणमा परेको नाटक गरेर बेपत्ता भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.