बाँके : भुमिसुधार तथा मालपोत कार्यालय, बाँकेमा अबदेखि नगद कारोवार नहुने भएको छ। नेपाल बैंक लिमिटेडसँगको सहकार्यमा मालपोत कार्यालयले बैंकमार्फत राजस्व संकलन गर्ने नीति अवलम्बन गरेपछि नगद कारोवार नहुने भएको हो।
सरकारले निर्धारण गरेको राजस्व सिधै भुमिसुधार तथा मालपोत कार्यालयलाई बुझाउँदै आएका सेवाग्राहीले अब नेपाल बैंक लिमिटेडमा रहेको मालपोत कार्यालयको खातामा रकम जम्मा गरेर भौचर मात्र बुझाउने नियम लागू भएको प्रमुख मालपोत अधिकृत प्रेमबहादुर दौल्यालले बताए।
उनले भुमिसुधार तथा मालपोत कार्यालयलाई बुझाउनु पर्ने रकम १ साउनदेखि बैंकमा दाखिला गरेर भौचरमात्र मालपोत कार्यालयमा बुझाउने प्रावधान लागु भएको बताए। मालपोत कार्यालयले बैंक भौचरका आधारमा सेवा दिने भएपछि नगद कारोवार बन्द भएको हो। मालपोत कार्यालयमा हुन सक्ने आर्थिक अनियमितता, घुस लेनदेनलाई निरुत्साहित गर्ने र कार्यालयको काममा सहजता ल्याउने उनले दावी गरे।
नेपालगन्जस्थित नेपाल बैंक, सिटी कार्यालयले राजस्व बुझाउनका लागि छुट्टै काउन्टरको ब्यवस्था गरिएको सिटी कार्यालयका प्रवन्धक जनकप्रसाद सुवेदीले बताए। उनले सेवाग्राहीको चापलाई मध्यनजर गरि कर्मचारी ब्यवस्थापन गरिने स्पष्ट पारे। सेवाग्राहीलाई चुस्त, दुरुस्त सेवा प्रदान गर्न कुनै किसिमको कसुर बाँकी राखिने छैन,’ उनले भने, ‘सेवाग्राहीबाट कुनै किसिमको गुनासो नआउने गरि कर्मचारीको ब्यवस्था मिलाइको छ।’
काउन्टर उद्घाटन भएसँग बैंकले कारोबार पनि सुरु गरेको छ। दामोदर सुनार र बिष्णुकुमारी कार्कीले नेपाल बैंक लि. सिटी कार्यालयमा मालपोत कार्यालयको राजस्व दाखिला गरेर पहिलो सेवाग्राही बन्ने अवसर पाएका छन्। ति दुई जनाले मालपोत कार्यालयलाई बुझाएको राजस्व रकम बैंकमा दाखिला गरेको भौचर बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, नेपाल राष्ट्र बैंक, नेपालगन्जका निर्देशक मुक्तिनाथ सापकोटा, नेपाल बैंक, प्रदेश नं. ५ का प्रमुख पासाङ्ग दोर्जे शेर्पा, प्रमुख मालपोत अधिकृत दौल्यालले पहिलो सेवाग्राहीलाई बैंक भौचर प्रदान गरि सेवाको उद्घाटन गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।