|

म्याग्दी : म्याग्दीको उच्च हिमाली भेगहरुका जंगलमा प्रशस्त मात्रामा पाइने नेपालको राष्ट्रिय पंक्षीको मान्यता पाएको  डाँफेको संरक्षणका लागि स्थानीय सक्रिय भएका छन्।

समुद्री सतहदेखि ३ हजार मिटर भन्दा माथिल्लो क्षेत्रमा पाइने यो पंक्षी म्याग्दीको अन्नपूर्ण र धौलागिरि गाउँपालिका क्षेत्रका जंगलहरुमा पाइने स्थानीयले बताएका छन्।

जमिनमा दौडने र थोरै मात्र उड्ने कुखुरा प्रजातिको डाँफेको संरक्षणका लागि धौलागिरि गाउँपालिकाले संरक्षण नीति नै बनाएर संरक्षणको कार्य गरिरहेको धौलागिरि गाउँपालिका १ गुर्जाका वडाअध्यक्ष झक छन्त्यालले बताउनुभयो।

त्यसैगरी अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत पर्ने अन्नपूर्ण गाउँपालिका वडा नं ५ शिखका वडाअध्यक्ष दिनेशकुमार पुनले गाउँपालिकाका दर्जन बढी जंगलमा डाँफे देखिएको बताउँदै त्यसको संरक्षणका लागि अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)संग सहकार्य गरेर संरक्षण अभियान संचालन गरिएको जानकारी दिए।

सन् १९९९ मा चराबीद् कक्सले गरेको अनुसन्धान अनुसार म्याग्दीको माथिल्लो क्षेत्रमा ७ सयको हाराहारीमा डाँफे भेटिएका उल्लेख गरिएको छ।

सशस्त्र द्धन्द्धकालमा चोरी शिकारी र आगलागीका कारण डाँफेको संख्या घटेकोमा २०६५ सालयताको एक दशकको अवधिमा यसको संख्या दोब्बरले बृद्धि भएको स्थानीयले बताएका छन्।

 विगत ५ वर्षदेखि पंक्षी तथा जंगली प्राणीहरुको खोज अनुसन्धानमा लाग्नुभएका त्रिभुवन विश्वविद्यालयमा एमएससी (प्राणीशास्त्र उत्र्तीण) त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्रध्यापक केशव चोखालका अनुसार नेपालमा पाइने ८ प्रकारका थोरै उड्ने र जमिनमा दौडने पंक्षीका प्रजातीमध्ये डाँफे सवैभन्दा आकर्षक र ठूलो प्रजातीको पंक्षी हो।

नेपालमा डाँफेको संख्या ३ हजार ५ सयदेखि ५ हजारसम्म रहेको अनुमान गरिएको चोखालले बताउनुभयो।चोखालका अनुसार सन् १९७३ को बन तथा बन्यजन्तु ऐनमा यो पंक्षीलाई संरक्षित वन्यजन्तुको सूचिमा सूचिकृत गरिएको छ। यो पंक्षी विशेषगरी  अफगानिस्तान,पाकिस्थान,तिब्बत,भुटान र नेपालमा पाइने चोखालले बताए।

विश्वका अत्यन्त कम देशहरुमा मात्र पाइने र नेपालमा राष्ट्रिय पंक्षीको मान्यता दिइएको डाँफेको संरक्षणका लागि स्थानीयले गरेको प्रयास अत्यन्त सह्रानीय रहेको डिभिजन बन कार्यालय म्याग्दीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.