|

निल आर्मस्ट्रङ मानव इतिहासकै प्रसिद्ध व्यक्तिहरूमध्येका एक हुन्। उनी चन्द्रमाबाट धर्तीमा झर्नासाथ के राजारानी, के प्रधानन्त्री वा राष्ट्रपति, सिंगो संसारले उनको स्वागत गर्‍यो। सिंगो संसार उनको पैतालामुनि थियो। तर त्यो वाहवाहीमा भुल्नुको सट्टा उनले सार्वजनिक जिवनबाट ओझेलिने बाटो रोजे।

हामीलाई ती रहस्यमयी मान्छेबारे धेरै कममात्र थाहा छ। हामी यहाँ वास्तविक निलको केही झलक पस्कँदैछौं।

निलले यसरी प्रेरित गरे

भनिन्छ, उनी एकान्तप्रिय मानिस थिए। हुनसक्छ, लुनार मिसनको अनुभवले उनलाई आघात परेको थियो। त्यो उचाइमा पुगिसकेको मान्छेलाई यो धर्तीको जीवन निराशाजनक लागेको पो लागेको थियो कि! उनले अन्तर्वार्ता दिन पनि त्यति रुचाएनन्, जसले 'चन्द्रमामा मान्छे पुगेकै थिएन' भन्ने तर्क गर्नेहरूले बल पाए।

म ती सिमित पत्रकारमध्येको थिएँ, जसले निललाई भेट्ने मौका पायो। निल मैले आजसम्म भेटेका मान्छेहरूमध्येकै समझदार मान्छे थिए। म त्यतिखेर युवा नै थिएँ, बिबिसीमा सम्वाददाताका रुपमा कार्यरत थिएँ। उनी मानार्थ उपाधी ग्रहण गर्न क्रेनफिल्ड युनिभर्सिटी आउँदा म उनको अन्तर्वार्ता गर्न निम्त्याइएको थिएँ।

उनको अन्तर्वार्ता लिँदा मेरा नौनाडी गलेका थिए। बदलामा उनी भने मुस्कुराइराखे, मित्रवत् व्यवहार देखाइराखे। चन्द्रमामा पहिलो पाइला टेकेर फर्केको मानिस मेरा अघि विनीत भावमा मुस्कुराइराइराखेको थियो, मलाई सहज बनाउने कोशिश गर्दै मेरा प्रश्नको गम्भीरताका साथ जवाफ दिइराखेको थियो।

मैले अपोलो–मिसन रद्द हुँदाको मेरो पीडा सुनाएँ। उनले भेरो भाव नबुझ्ने कुरै थिएन, एक युवाका रुपमा मेरो पनि सपना थियो, कुनै दिन निलले जस्तै अन्तरिक्ष–यात्रा गरुँ!

मैले भनें उनलाई, 'खै, आर्मस्ट्रङ बन्ने सपना कता हरायो कता!'

'त्यो सपना ज्युँका त्युँ छ,' उनका आँखा चम्किए। 'त्यो केहीबेर छायामा परेको हुनसक्छ, तर त्यो समयमै फर्कनेछ,' उनले थपे। उनको जवाफ सामान्य थिएन, एउटा युवाको सपनालाई पुन:जागृत पार्ने किसिमको थियो। प्रेमले भरिपूर्ण थियो।

निलसँगको दोस्रो भेट


त्यो अन्तर्रवार्ताको १६ वर्षपछि मैले उनलाई फेरि भेटें। चन्द्रमामा मानव पाइला परेको चालिसौं वार्षिकोत्सव मनाउन उनी आफ्ना वैज्ञानिक मित्रहरूसँगै बेलायत आएका थिए। म फेरि त्यो टोलीको अन्तर्वार्तको लागि खटाइएँ।

उनीहरू हिथ्रो विमानस्थलछेवैको ठिकठिकैको होटेलमा बसेका रहेछन्। उनीहरूको बसाइ निकै गोप्य राखिएको थियो। यहाँसम्म कि उनीहरूको रजिष्ट्रेसन पनि छद्म नाममा गरिएको थियो। होटलका स्टाफहरूले अन्तर्वार्ता लिइने व्यक्तिबारे चासो राखेपछि मैलेसमेत ढाँट्नपर्‍यो। मैले गल्फ खेलको विषयमा अन्तर्वार्ता लिन आएको बताएँ। अन्तरिक्ष यात्रीहरूको परिचय लुकाउन मेरो बहानाले राम्रै काम गर्‍यो।

मैले निललाई १६ वर्षअघिको भेट सम्झाएँ। उनले उही पूर्वपरिचित मुस्कान छर्दै आँफूलाई उक्त अन्तर्वार्ताको राम्रै हेक्का रहेको बताए। स्याण्डविच प्लेट नरित्तिउञ्जेल हामीले उनको बेलायत भ्रमणबारे छोटो कुराकानी गर्‍यौं। अन्तर्वार्ताको प्रस्ताव भने उनले नकारे, आँफुभन्दा आफ्ना साथीहरू चर्चायोग्य रहेको भन्दै उनीहरूतिर औंला तेर्स्याए।

कहिल्यै पुरानो हुनेछैन निल आर्मस्ट्रङको कथा
निलबारे तयार पारिएको डकुमेन्ट्री उक्त महाघटनाको ५० औं वार्षिकोत्सवको छेको पारेर आउँदो शुक्रबार रिलिज गरिँदैछ। निलका कान्छा छोरा मार्क र नातिनी केली स्यमं बिबिसीको कार्यालयमा आएर डकुमेन्ट्रीबारे जानकारी दिए। पेशाले ती दुवैजना संगीतकर्मी रहेछन्।

हामीले उनीहरूलाई चन्द्रमा मिसनको भिडियो क्लिप्सहरू देखायौं। आफ्ना हजुरबा लन्चप्याडतिर लम्किइरहेको देख्दा केली असाध्यै अभिभूत भइन्। भिडियोमा देखिएका ३९ वर्षे हजुरबा र सँगै बसेका आफ्ना ५६ वर्षीय पितामा उनले धेरै समानता देखेको हुनुपर्छ, त्यसैले।

भिडियो हेरेर दुवै मख्ख परे, मुस्कुराए। उनीहरू कति शौभाग्यशाली थिए भन्ने कुरा शब्दमा व्यक्त गर्न सकिने कुरै थिएन। त्यसो त, त्यो मिसन वा यो भिडियो, दुवै कुरा यी बाबुछोरीका लागि नौला थिएनन्। तैपनि उनीहरू असाध्यै भावुक भए। मार्कले छोरीलाई भने, 'यो कथा कहिल्यै पुरानो हुनेछैन।'

त्यसपछि बाबुछोरीले चकित पर्दै निल लुनारबाट चन्द्रमामा ओर्लिएको हेरे, र त्यही वाक्य दोहोर्‍याए, जुन इतिहासमा गुञ्जयमान छ : 'मान्छेका लागि त्यो सानो पाइला होला, तर मानव इतिहासका लागि ठूलो छलाङ हो।'

'स्याब्बास् हजुरबा!', केली सासैसासले फुस्फुसाइन्। तिनका आखाँ आँसुले डबडबाइरहेका थिए। यस्तो लाग्थ्यो, उनी रेकर्डेड भिडियो होइन, लुनार मिसनको प्रत्यक्ष प्रशारण हेरिरहेकी थिइन्।

पृथ्वीबारे चिन्तित थिए आर्मस्ट्रङ


जनमानसमा व्यप्त निलको एकान्तप्रियको छविप्रति मार्क असन्तुष्ट रहेछन्। 'मिडियाले बुबाबारे गलत चरित्रचित्रण गर्‍यो,' उनले तितो पोखे।

'उहाँ एक विद्वान मानिस हुनुहुन्थ्यो। ख्यालठट्टा गर्न रुचाउनुहुन्थ्यो, संगीतमा असाध्यै रुचि थियो। उहाँ कहिलेकाँही तल हलमा ओर्लिनुहुन्थ्यो र गीत गाउन थाल्नुहुन्थ्यो। ओक्लोहामाका गीतहरू!', मार्कले भने।

'उहाँ बच्चलाई यो गर त्यो नगर भनेर आदेश दिइराख्ने खालको पिता हुनुहुन्नथ्यो। उहाँ प्राध्यापकजस्तो हुनुहुन्थ्यो, जसले तपाईंलाई फरक–फरक विकल्प देखाउँछ र भन्छ होसियारीका साथ ठिक लागेको रोज। जस्तो कि, उहाँको सिंगो जीवन नै पनि आँफैमा एउटा उदाहरण हो।'

केलीका लागि भने उनका हजुरबा सामान्य हजुरबाजस्तै थिए, जो चन्द्रमा मिसनबारे धेरै कुरा गर्न रुचाउँदैनथे। तर एकपटक उनले लुनारबाट हेर्दा पृथ्वी कस्तो देखिएको थियो भनेर सुनाएको केली सम्झन्छिन्। 'सन् १९६९ मा उहाँले अन्तरिक्षबाट पृथ्वीलाई हेर्दा यसका जीवनदायी स्रोतहरू जोखिममा रहेको महशुस गर्नुभएको थियो, उहाँलाई आशा थियो मान्छेहरूले पृथ्वीको राम्ररी ख्याल राख्नेछन्,' केलीले भनिन्।

चन्द्रमामा पाइला टेकेर मान्छेले के पायो?
यही सिलसिलामा मैले निलका जेठा छोरा रिकलाई पनि भेटें। रिक सफ्टवेयर इन्जिनियर हुन्। उनी त्यही महाघटनाको वार्षिकोत्सव मनाउन बेलायत आएका थिए। रिक बाबुकै पदचिह्न पच्छ्याउन चाहन्थे, तर भनेजस्तो भएन।

'मेरो एक किसिमको अपेक्षा थियो,' उनले भने, 'कुनै पनि मान्छे आफ्नै गुण र दोषका आधारमा आफ्नो मुल्याङ्कन होस् भन्ने चाहन्छ। तर कहिलेकाँही कोही प्रसिद्ध मान्छेको छोरो हुनु अप्ठ्यारो विषय भइदिन्छ।'

'म अन्तरिक्ष यात्रीका रुपमा सटल–प्रोग्राममा सामेल हुन चाहन्थें, तर भइनँ। मलाई मान्छेहरूले म र बुबाबिच तुलना गरेको मन पर्दैनथ्यो', उनले भने। त्यसपछि मैले उनलाई निलको विरासतबारे सोधें। रिकले भने, 'जब म त्यस विजयको विरासतबारे सोच्छु, त्यतिखेर मेरो दिमागमा बुबा आउनुहुन्न। किनभने अपोलो मिसन एउटा सामूहिक प्रयत्नको उपज थियो, जहाँ हजारौं मान्छेहरू समान लक्ष्य प्राप्त गर्न दत्तचित्त भएर खटेका थिए। जब तपाईं त्यसरी मग्न भएर काम गर्नुहुन्छ, गजब–गजबका उपलब्धीहरू हासिल हुन्छन्।'

'त्यो सफलताले मान्छेहरूलाई प्रेरणा दियो। आज पनि कतिपय मान्छेले मलाई सुनाउँछन् कि त्यही घटनाबाट प्रेरित भएर उनीहरू डाक्टर, इन्जिनियर वा वैज्ञानिक बने। सन् ६० को दशकमा भएको त्यो घटनाबाट मान्छेहरू विघ्नै प्रेरित भएका थिए। त्यसको मूल्यको तपाईं हिसावै गर्न सक्नुहुन्न।'

निल आर्मस्ट्रङको महानता
अर्को अर्थमा भन्ने हो भने, त्यो परिघटना भएको समयका सबै मान्छेहरू निलका बच्चाजस्ता थिए। त्यो यस्तो पल थियो, जहाँ संसारका लाखौं मान्छेले खुसी साटासाट गरे, प्रेरित भए। मान्छेलाई आफ्नो हैसियत र क्षमता थाहा भयो। गर्‍यो भने के हुँदैन? भन्ने कुराको ज्ञान भयो।

मेरो नजरमा भने निलको महानता यस कुरामा छ कि उनी त्यो अतुलनीय कार्यपछि चमकदमकयुक्त दुनियाँबाट विनम्रताका साथ पाखा लागे। पहिले जस्तो थिए त्यस्तै मान्छे बनिराखे– एक प्राध्यापक, एक संगीतज्ञ, एक पिता, एक इन्जिनियर– वास्तविक निल आर्मस्ट्रङ।

पत्रकार पल्लव घोषको यो आलेख बिबिसीबाट भावानुवाद गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.