|

म्याग्दी : म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट गाउँका किसानले धान फल्ने खेतमा केरा खेती गरेका छन्।

धान, गहुँ, मकै बालीको विकल्पमा यहाँका कृषकले  खेतका गह्रा गह्रामा व्यावसायीक रुपमा केरा खेती गरेर आय आर्जन गर्ने माध्यम बनाएका छन्। अन्नबालीलाई जस्तो धेरै मेहनत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि बढि हुने भएकाले धान फल्ने खेतमा केरा खेती गरिएको कृषकहरुले बताएका छन्।

केही वर्षअघिसम्म परम्परागत खाद्यान्न खेती हुने बगरफाँट अहिले केराको बगैचामा परिणत भएको छ। अनुकूल हावापानी, वातावरण, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक केरा खेतीतर्फ आकर्षण बढेको कृषक खिमवहादुर कार्कीले बताए। कार्कीले  खेतका गह्रामा २ सय ५० ओटा केराका विरुवा लगाएका छन्।

त्यसैगरी अर्का कृषक भीमबहादुर कार्कीले पनि गुडुराको धान फल्ने ४ रोपनी खेतमा केराका विरुवा लगाउनुभएको छ। ‘खेती गर्न झन्झटिलो हुने,कम उत्पादन हुने,खर्च बढि हुने र  काम गर्ने मान्छे पनि नपाइने हुँदा खेतै भरी केरा लगाएको हुँ, कार्कीले भने।

‘यहाँका सबै कृषकले केरा खेती गरेका छन्,गाउँको करिब ९  हेक्टर क्षेत्रफलमा केरा खेती गरिएको छ। कार्कीले भने ‘अबको दुई वर्ष पछि बगरफाँट केराफाँटमा परिणत हुने भएको छ।

करीब २० जना कृषकले बगैँचा नै बनाएर व्यावसायिक केराखेती गरेका छन्। दश पन्ध्र घारी केरा नलगाएको घरनै छैन्। अम्बिका शर्मा,सरिता शर्मा,चन्द्रवहादुर घिमिेरे,कृष्णप्रसाद रिजाल,भीमबहादुर कार्की लगाएतका कृषकले धानफल्ने खेतमा नै केरा खेती विस्तार गरेका छन्।

मजदूर अभावमा खाद्यबाली हुने जमीन बाझिन थालेको अवस्थामा केराखेती प्रभावकारी विकल्प बनेको स्थानीयवासी कृष्णप्रसाद रिजालले बताए। एक वर्ष अघि गत वर्षको जेठमा यहाँका कृषकले करिब २ हजार केराका विरुवा लगाएका छन्। पकाएकोप्रति १२ कोसा एक सय रुपैयाँका दरले बिक्री हुने गरेको छ। एउटै घारीबाट एक हजार कोसासम्म उत्पादन लिन सकिने कृषकहरुले बताएका छन्।

बिरुवा लगाएको डेढवर्षमै उत्पादन लिन सकिन्छ। उत्तरतर्फ फर्किएको पाखोमा अवस्थित बगरफाँटको हावापानी केराखेतीका लागि अनुकूल मानिन्छ। बेनी नजिकै भएकाले कृषकलाई बजारको समस्या छैन्। बगरफाँटमा केरा उत्पादन हुन थालेपछि बेनीमा बाह्य जिल्लाबाट केराको आयात घट्ने फलफूल व्यापारीहरुले बताएका छन्।

बेनी नगरपालिकाले बगरफाँट र खबरालाई केरा गाउँ बनाउने लक्ष्यसहित ‘एक वडा एक उत्पादन कार्यक्रम’ सञ्चालन गरेको वडा सदस्य चन्द्रवहादुर कुवँरले बताउनुभयो। केराखेतीसम्बन्धी कार्यक्रमका लागि यसवर्ष पनि रु तीन लाख विनियोजन भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.