|

म्याग्दी : भारतबाट आयातित विषादीयुक्त तरकारी खान बाध्य नेपालीहरुले विषादी रहित तरकारीको विकल्प खोजीरहेको बेला म्याग्दीका केही युवाहरु आर्गानिक तरकारी उत्पादनमा लागेका छन्।

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा युवाहरुले ‘प्रगति स्वरोजगार कृषि उत्पादन केन्द्र’ स्थापना गरेर सामुहिकरुपमा आग्र्यानिक  तरकारी खेती शुरु गरेका हुन्।

विभिन्न क्षेत्रमा संलग्न ५ जना युवाहरुले ७ रोपनी जग्गा भाडामा लिएर व्यवसायिक रुपमा तरकारी खेति सुरु गरेका हुन्। गणेश केसी, जगत बानियाँ, कृष्टी बानियाँ, मनोज कार्की लगाएतका युवाहरु सामुहिक रुपमा आर्गानिक तरकारी खेतीमा लागेका हुन्।

५ जना युवकले १० लाख लगानी गरी सुरु गरेको कृषि उत्पादन केन्द्रमा अहिले गोलभेडा, काँक्रो, खुर्सानी, साग लगायतका आर्गानिक तरकारी फलाएर बजारमा विक्रि गर्दै आएका छन्।

‘‘हामी अहिले फरक फरक क्षेत्रमा क्रियाशिल युवाहरु मिलेर कृषिमा हात हालेका हौँ,बजारमा विषादी युक्त तरकारीको विकल्पमा हामीले विषादीरहित आर्गानिक तरकारी बेच्दै आएका छौं’ युवा कृषक मनोज कार्कीले बताए।   ‘कृषिमा सम्भावना देखेरै लगानी गरेका छौँ, अहिले सुरुवात चरणमा छौँ,बजारमा हाम्रो उत्पादन खोसाखोस हुन्छ, यो व्यवसायलाई विस्तार गर्दै जाने हाम्रो योजना छ’’– कार्कीले भन्नुभयो।

म्याग्दी खोलाको किनारमा रहेको जग्गालाई १५ बर्षसम्मको लागि भाडामा लिएका युवाहरुले गोलभेडा खेतिको लागि ४ वटा टनेल निर्माण गरेर गोलभेडा,खुर्सानी लगाएतका तरकारी लगाएका छन्। टनेलमा लगाएका गोलभेंडा विक्रि गरेर एक सिजनमा ४ लाख रुपैयाँ आम्दानी भएको कृषक कार्कीले बताउनुभयो।

तरकारी खेतीमा हाईटेक प्रविधिको उपयोग गरि मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्ने योजना रहेको उनको भनाइ थियो। तरकारी खेतीमा थोपा सिचाई र प्लाष्टिक छापाको प्रविधि प्रयोग गरिएको छ।

तरकारी खेती संगै माछापालन, फुलखेती, कुखुरापालन समेत शुरु गरेको अर्का कृषक जगत बानियाँले जानकारी दिए। कृषि प्राविधिक समेत रहेका बानियाँका अनुसार, भाडामा लिईएको जग्गालाई घेराबार गर्ने , माछापालन र कुखुरापालनको लागि थप पोखरी र खोर निर्माणको पूर्वाधार निर्माण गर्न लागिएको छ।

सो कृषि उत्पादन केन्द्रमा अहिले नियमित २ देखि ४ जनाले रोजगारिको समेत अवसर पाएका छन्। सदरमुकाम बेनीदेखि नजिकै सञ्चालन गरिएको कृषि उत्पादन केन्द्रबाट उत्पादन हुने कृषि उपजलाई बजारीकरणको समस्या नरहेकाले युवाहरुले सुरु गरेको कृषि खेती सफल हुने स्थानीय अगुवा क्याप्टेन मिनबहादुर कार्कीले बताए। यस केन्द्रलाई कृषि उपज उत्पादनसंगै कृषक पाठशालाको रुपमा समेत विकास गर्ने योजना रहेको लगानीकर्ताहरुको भनाई छ।

कृषि पेशामा युवाहरुको आकर्षण बढाउनको लागि आफुहरुको कृषि उत्पादन केन्द्रलाई पाठशालाको रुपमा विकास गर्ने योजना बनाएको कृषक एवम् कृषि प्राविधिक बानियाँले बताउनुभयो। उहाँले कृषि उत्पादन केन्द्रमा नयाँ अभ्यासको रुपमा मानव मुत्रलाई समेत मलको रुपमा प्रयोग गर्ने तयारी गरिएको जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.