|

गुल्मी : भूकम्प गएको चार वर्ष बितिसक्दा पनि गुल्मीमा तेस्रो किस्ता लिनेको संख्या एक हजार ५२३ मात्र रहेको छ। जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय गुल्मीका अनुसार कुल लाभग्राही संख्या चार हजार १४४ रहे पनि तीन हजार ९६४ ले मात्र पहिलो किस्ता लिएका छन्। दोस्रो किस्ता लिनेको संख्या भने दुई हजार ५२४ रहेको छ।

पहिलो किस्ता लिइसकेकाले घरको जग राखिसकेपछि दोस्रो किस्ताको दाबी गर्न पाउने प्रावधान रहे पनि एक  हजार  ५९० लाभग्राहीले पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ लिएपछि पुनः सम्पर्कमा नआएको कार्यालयले जनाएको छ। भूकम्पले सबैभन्दा बढी कालीगण्डकी गाउँपालिकामा एक हजार ७० घरहरु पूर्णरुपमा क्षति भएका थिए। उक्त गाउँपालिकामा प्रथम किस्ता लिनेको संख्या एक हजार ३७, दोस्रो किस्ता लिनेको संख्या ८१७ र तेस्रो किस्ता लिनेको संख्या भने ५४१ रहेको छ।

यसरी जिल्लाका १२ स्थानीय तहको प्रतिशतको आधारमा हेर्दा कालीगण्डकी  गाउँपालिकाको ५०.५६, चन्द्रकोटमा १९.३३, सत्यावती ५६.४४, धुर्कोट १४.११, ईश्मा १८.२, मालिका ३६.३६, मदाने ५८.५४, रुरुमा ४५.३३, छत्रकोटमा ३३.३३, गुल्मीदरबार गाउँपालिकामा ३७.९५ प्रतिशत प्रगति भएको कार्यालयले जनाएको छ। यस्तै, मुसीकोट नगरपालिकाको २१.०९ र रेसुंगा नगरपालिकाको ३९.८९ प्रतिशत प्रगति भएको कार्यालयकी कम्प्युटर अपरेटर पार्बती खत्रीले जानकारी दिइन्।

समग्रमा हेर्दा पहिलो किस्ता लिनेको ९५.६६ प्रतिशत, दोस्रो किस्ता लिनेको ६०.९१ प्रतिशत र तेस्रो किस्ता लिनेको ३६.७५ प्रतिशत मात्रै रहेको तथ्यांक छ। 

जिल्ला आयोजनाका इन्जिनियर पारस पन्थीका अनुसार जिल्लामा मापदण्डअनुसार घर नबनाएका कारण समस्या आएको र प्रगतिमा पनि कमी देखिएको दाबी गरे। पहिले किस्ता लिने लाभग्राहीहरुले प्राविधिकको सल्लाहबिना मापदण्डअनुसार घर नबनाएकाले दोस्रो र तेस्रो किस्ता लिनेको संख्यामा क्रमशः कम भएको उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.