|
फाइल तस्बिर

काठमाडौं : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मनपरी मूल्य बढाउने बल्खु र कालीमाटीका १९ जना तरकारी तथा फलफूलका थोक व्यापारीलाई कारबाही गरेको छ।

काठमाडौं उपत्यकामा तरकारीको भाउ अस्वभाविक रुपमा बढेको गुनासो आएपछि शुक्रबार कालिमाटी र बल्खुको तरकारी बजारमा दुई टोली बनाएर बिहान ३ देखि ८ बजेसम्म अनुगमन गरेको विभागले तरकारी बजार बल्खुका ११ र कालीमाटी तरकारी बजारका ८ व्यापारीमाथि कारवाही गरेको हो। उनीहरुलाई ५ देखि २० हजार रुपैयाँसम्म जरिवाना गर्दै आवश्यक कागजातसहित सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको कालिमाटी फलफूल तथा तरकारी बजारका निर्देशक तेजेन्द्र पौडेलले जानकारी दिए।

अनुगमनस्थलमै होलसेल व्यापारीलाई कारबाही गरेको यो पहिलो पटक हो। एक व्यापारीले लिएको तरकारीभित्रकै अर्को पसलमा बेच्दा ५० रुपैयाँसम्म नाफा राखेर बेचेको, बिलबिजकबिनै कारोबार गरेको तथा बिचौलियको काम गरेको भेटिएपछि कारबाही गरेको अनुगमान टोलीले जनाएको छ। 

बाढी, पहिरो र डुबानको समस्या देखाउँदै कालीमाटी र बल्खुका व्यवसायीले तरकारीको थोक मूल्य अस्वभाविकरूपमा वृद्धि गर्दा उपभोक्ता मारमा परेका छन्। विभागका निरीक्षण अधिकृत दीपक पोखरेलको नेतृत्वमा कालीमाटी र पवन प्याकुरेलको नेतृत्वमा बल्खुस्थित तरकारी बजारको अनुगमन गरिएको थियो। अनुगमन टोलीमा कृषि विभागका प्रतिनिधि र केही सुरक्षाकर्मी सहभागी थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.