|

म्याग्दी : म्याग्दीको बेनी नगरपालिका वडा नं २ फापरखेत र बागलुङ जिल्लाको बागलुङ नगरपालिका ५ चनौटे जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि दुवै जिल्लाका वासिन्दाले डेढ घण्टा पैदल हिडेर पुग्नु पर्ने ठाउँमा अव दुई मिनेटमा नै पुग्न सक्ने भएका छन्।

बागलुङको मालिका र म्याग्दीको ज्यामरुककोटको साँध (सिमाना) मा बग्ने ठूलो खोलामाथि सन्टेशन ग्रिड डिभिजन कार्यालय ललितपुरको झोलुङ्गे पुल कार्यक्रम अन्तर्गत सो पुल निर्माण गरिएको हो।

१ करोड ३९ लाखको लागतमा निर्माण भएको सो पुलको लम्वाई २ सय ६० मिटर र उचाइ ८५ मिटर रहेको पुल निर्माणको जिम्मा लिएका ठेकेदार नरहरि खड्काले जानकारी दिए। ठेकेदार खड्काका अनुसार गत माघ महिनादेखि निर्माण शुरु गरेको सो पुल निर्धारित मिति भन्दा ९ महिना अघि नै निर्माण सम्पन्न भएको बताए।

पुल निर्माण भएपछि छिमेकी जिल्ला बागलुङका चनौटे,रातमाटा, भान्छा,पञ्चकोट,पन्चासे र म्याग्दीका अर्जम,फापरखेत,भकुण्डे,लगाएतका गाउँका सयौं मानिसहरुलाई आवत जावत गर्न सहज भएको स्थानीय युवा अशोक घिमिरेले बताउनुभयो।

त्यसका बागलुङको पन्चासे र चनौटे गाउँका वासिन्दाहरुको खेत म्याग्दीमा र म्याग्दीको फापरखेत र अर्जमका वासिन्दाहरुको खेत जग्गा बागलुङमा पर्ने भएकाले खेती गर्नका लागि डेढ, दुई घण्टा हिडेर आवत जावत गर्नुपर्ने अवस्थाको पनि अन्त्य भएको छ। ठूलो खोलामा पुल नहुँदा निकै सास्ती खेप्नु पर्ने वाध्यतामा रहेका दुवै जिल्लाका वासिन्दाहरु पुल बनेपछि हर्षित भएका छन्।

पुल निर्माण पछि कृषकलाई मात्रै होइन विद्यार्थी,शिक्षक र कर्मचारीलाई पनि निकै सहज भएको छ। दुई घण्टा लगाएर भकुण्डेको अर्जुन माविमा पढ्न आउनु बाध्य चनौटेका विद्यार्थीहरु अव घरबाट निस्केको १५ मिनेटमा विद्यालय र विद्यालय छुटेको १५ मिनेटमा घर पुग्न पाएका छन्। त्यसैगरी शिक्षक र कर्मचारीहरुलाई पनि निकै सुविधा पुगेको स्थानीय भीम पौडेलले जानकारी दिए।

गाउँको पुछारमा दुई जिल्ला जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि म्याग्दीको फापरखेत र बागलुङको चनौटे गाउँको मुहार नै फेरिएको चनौटे घर भइ हाल फापरखेतमा वस्दै आउनुभएका प्रवेश कुवँरले बताउनुभयो। पुल हेर्न र प्राकृतिक सौन्दर्यमा रमाउनका लागि दैनिक २० भन्दा बढि व्यक्तिहरु गाउँमा आउने गरेको फापरखेतका स्थानीय शिव घिमिरेले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.