विदेश घुमेको भरमा यस्तो व्यवस्था लाद्न खोजिएको गुनासो

|

काठमाडौं :  उच्च विकासित देशमा मात्रै लागू गरिएको प्रविधि नेपालमा पूर्वधारबिना ल्याएको यातायात व्यवसायी र मजदुरहरूले गुनासो गरेका छन्। सरकारले साउन १ गतेदेखि लागू गरेको मालवस्तु ढुवानीका साधनको अनुगमन प्रणाली (भिसिटिएस) विदेशमा घुमेको भरमा नेपालमा लाद्‍न खोजेको उनीहरूले आरोप लगाएका छन्। यस्तो अवस्थमा गाडी थन्काएर बस्नुको विकल्प नहुने ती संस्थाले जनाएका छन्। 

शुक्रबार यातायात व्यवसायी, ढुवानी व्यवसायी एवम् यातायात मजदुरहरूको संयुक्त स्वतन्त्र संघर्ष  समितिले ढुवानी भाडामा मूल्य अभिवृद्धि कर (भ्याट) र भिसिटिएस प्रणाली अहिले लागू गर्न नसकिने बताएका हुन्। उनीहरूले सरोकारवालासँग छलफल नगरी गरिने निर्णय कार्यन्वयन गर्न समस्या पर्ने भन्दै सरकारको ध्यानकर्षण गराएका छन्।

समितिका संयोजक गोकर्ण पराजुलीले यस्तो व्यवस्था लागू गर्न समस्या पर्नेबारे पटक-पटक सरोकारवालको ध्यानकर्षण गराउँदा पनि सुनुवाइ नभएको गनासो गरे।

उनले व्यसायीको समस्याको विषयमा सरोकारवाला मन्त्रीले गुनासो नै सुन्‍न नचाहेकोसमेत आरोप लगाए। ‘भौतिक पूर्वधार तथा यातायात मन्त्रीलाई भेट्न हामी हिजो हताहतार काठमाडौं आयौँ । ३ बजेलाई भेट्न बोलाइएको थियो। तर २ बजे व्यस्त भए भन्दै हामीलाई भेट्न दिइएन,’ पराजुलीले भने, ‘हाम्रा समस्याको विषयमा सरकार मौन बसेको छ। यस्तो अवस्थामा गाडी चलाउन सकिँदैन’

उनले भिसिटिएस प्रविधिबारे सरोकारवालालाई जानकारी नगराएको तथा मालसामान आयात निर्यात गर्ने उद्योगी व्यवसयीले गर्ने गल्तीमा पनि यातायात व्यवसायी र मजदुर सजायको भागिदार बनाउन खोजिएको भन्दै गुनासो गरे।

त्यस्तै ढुवानीको भाडामा मूल्य अभिवृद्धिकर अव्यवहारिक भएको पनि उनको गुनासो छ। उनले ढुवानीकर्ताले भ्याट बिल काट्न नजान्‍ने र त्यस्तो अवस्थमा थप रोजगारी दिनुपर्ने अवस्था आउने बताउँदै वैकल्पिक उपायबाट कर उठाउन आग्रह गरेका छन्।

कुनै पनि सवारी किनेपछि यातायात व्यवस्था विभागमा पञ्जीकृत हुने भएकाले त्यसलाई पटक पटक नविकरण गर्न पर्ने व्यवस्था पनि लागू नगर्न उनीहरुले आग्रह गरेका छन्। त्यस्तै सम्बन्धित व्यवसाय छोडेपछि कम्पनीबाट बाहिरने व्यवस्था गर्न पनि व्यवसायीले माग गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.