|

तनहुँ : जिल्लाका कारागार तनहुँ परिसरभित्रै निर्माणाधीन महिला बन्दीगृहको काम रोकिएको छ। बन्दीगृह निर्माणका क्रममा सम्झौतामा नभएका अत्यावश्यक संरचना थप गर्नुपर्ने भएपछि निर्माण रोकिएको जिल्ला आयोजना कार्यान्वयन इकाइ भवन गोरखाले जनाएको छ। 

गत जेठ मसान्तसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने बन्दीगृहको परिमार्जित संरचना निर्माण गर्नका लागि म्याद थपको माग गर्दै निर्माणको काम स्थगित गरिएको जिल्ला आयोजना कार्यान्वयन इकाइ भवन गोरखाका प्रमुख सुनिता श्रेष्ठले जानकारी दिइन्। उनका अनुसार बन्दीगृह निर्माणका क्रममा कडा सजाय भोग्ने कैदीबन्दीलाई छुट्टै राखिने गोलघर निर्माण छुटेको छ। कडा सजाय भोग्ने कैदी राख्ने गोलघर सम्झौतामा उल्लेख नभएपछि निर्माणका लागि सम्झौता र म्याद थपको माग गरिएको प्रमुख श्रेष्ठको भनाइ छ। 

‘कडा सजाय भोग्नुपर्ने कैदीबन्दीलाई एक्लै राख्ने घर नभएको निर्माणको क्रममा थाहा पाएपछि काम रोकेर थप गर्न मन्त्रालयसँग माग गरी पत्र पठाएका छौं,’ प्रमुख श्रेष्ठले भनिन्, ‘मन्त्रालयबाट स्वीकृति पाएलगत्तै निर्माणको काम सुरु हुन्छ।’

बन्दीगृह निर्माणको सम्झौतामा स्क्रिनिङ्ग स्थल, घुम्ने विशेष व्यक्तिहरुलाई भित्र पठाउने प्रावधानको लागि दुई वटा छुट्टै बार, खाद्यान्न भण्डारण कक्ष, गोलघरलगायतका परिमार्जित संरचना निर्माणको ड्राफ्ट तयार गरी सम्झौताको मागसहित मन्त्रालयमा पत्र पठाइएको जनाइएको छ। बन्दीगृहमा यी संरचना निर्माण गर्नुपर्ने भए पनि मन्त्रालयबाट अख्तियारी नहुँदा निर्माण ढिलाइ भएको बताइएको छ।

परिमार्जित संरचना निर्माणका लागि मन्त्रालयले स्वीकृति दिएर सम्झौता परिमार्जन गरेपछि निर्माण काम सुरु हुने प्रमुख श्रेष्ठको भनाइ छ। 

सात करोड ३१ लाख ९३ हजार ५८७ रुपैयाँको लागतमा निर्माणाधीन बन्दीगृहको ७० प्रतिशत काम सकिएको छ। दुई रोपनी क्षेत्रफलमा महिला बन्दी गृह, प्रहरी व्यारेक र कार्यालय भवन रहने कारागारले जनाएको छ। ८० जना क्षमताको बन्दीगृहमा तीन वटै भवन २/२ ढलानको हुनेछन्। महिला बन्दीगृह तनहुँमै बनेपछि विभिन्न अभियोगमा जेल सजाय भएका महिलाहरुलाई राख्न सहज हुने बताइएको छ। हाल तनहुँ कारागारमा महिला बन्दीगृह नहुँदा उनीहरुलाई कास्की र गोरखा कारागार पठाउनुपर्ने अवस्था छ। 

तनहुँ कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी रहेका छन्। ३५ जना क्षमताको कारागारमा हाल ७० जना कैदी र ६८ थुनुवा गरी १३८ जना पुरुष कैदीबन्दीहरु रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.