|

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले एकअर्कालाई आआफ्नो 'परिपूरक' भन्दै एकताको ढोका खुला रहेको बताएका छन्।

सोमबार 'चाचाः भक्तिप्रसाद पाण्डेको संघर्षयात्रा' पुस्तकको  संयुक्त रुपमा विमोचन गर्दै प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले 'बाबुराम र प्रचण्ड एकअर्काका पूरक हुन् भन्ने इतिहासमा पुष्टि भएको' बताए।

संविधान जारी भएको एकसाता (२०७२ असोज ९ गते) तत्कालीन एकीकृत नेकपा माओवादीबाट अलग भइ नयाँ शक्ति नेपाल गठनमा लागेका भट्टराईले पनि आफूहरुको 'पूरक भूमिकाकै कारण इतिहास यो समयसम्म आइपुगेको' बताए।

अलग भएपछि प्रचण्ड र भट्टराई एउटै मञ्चमा देखिएका हुन्। 

'बाबुराम र प्रचण्ड एकअर्काका पूरक हुन् भन्ने इतिहासमा पुष्टि भएको छ। इतिहास साक्षी छ- न प्रचण्ड न बाबुराम कुनै ठूलो विचलनका प्रवक्ता हुन् भनेर', प्रचण्डले भने, 'तपाईँले हतार गर्नुभयो भनेर भन्ने गरेको छु। तपाईँले छलफल चलाउँदै गरेको भए सिंगै नेपाललाई नयाँ ठाउँमा पुर्‍याउन सक्थ्यौँ।'

'एकले अर्कालाई धेरै आरोपित गर्ने भन्दा पनि समीक्षा गर्नुपर्ने आवश्यकता छ। त्यो समीक्षाले फेरि एक ठाउँमा पुर्‍याउन सक्छ। हाम्रो क्याटेगोरी एउटै हो।'

नयाँ शक्ति नेपालका संयोजक डा. भट्टराईले पनि आफूहरु फेरि मिल्ने सम्भावना रहेको बताए। 'हाम्रा पूरक भूमिकामा केन्द्रित नभैकन कुनै पनि युद्ध सफल हुँदैनन्। त्यस अर्थमा मलाई पनि लाग्छ हाम्रो पूरक भूमिकाकै कारण इतिहास यो समयसम्म पुगेको हो', भट्टराईले भने, 'कमरेड भक्ति पाण्डेको धारणा अन्तिमसम्म तपाईहरु मिल्नुपर्छ भन्ने थियो। उहाँको मन मतिर र शरीर कामरेड प्रचण्डतिर भएको अवस्था उहाँको रह्यो। त्यसकारण पनि उहाँको धारणा मिल्नुपर्छ भन्ने थियो।'

'प्रचण्ड र बाबुरामको भूमिकाबारे मान्छेले चर्चा गरिरहेका छन्। हाम्रो व्यक्तिगत सम्बन्ध थिएन र अहिले पनि कुनै द्विविधा छैन। उत्तिकै सौहार्दता छ। तर विचारमा केही भिन्नताहरु छन्। हिजो पनि थियो र अहिले पनि छन्। त्यसैले मैले फरक बाटो लागेको हुँ। हामी मिल्न चाहान्छौं र भोलि पनि मिल्ने सम्भावना रहन्छ। त्यसका लागि विचार एक ठाउँमा हुनुपर्छ। विचार नीति र कार्यक्रम एक हुनुपर्‍यो।'

पढ्नुस् पुस्तक अंशः चाचाजीको डायरीबाटः आफ्नो सेना भएपछि जे पनि गर्न सकिँदो रहेछ....

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.