पहाडी क्षेत्रमा खाद्यन्न संकट

|

उदयपुरः एक साता अघिको बाढी पहिरोले क्षतिग्रस्त बनेको उदयपुरको लिम्चुङबुङ गाउँ पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ। गाउँ कार्यपालिकाको गएको असार ३१ गते बसेको बैठकले प्राकृतिक विपत्ति आई परेकाले संकटग्रस्त घोषणा गरिएको हो।

गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले गाउँपालिकामा खाद्यान्न अभावसँगै क्षतविक्षत सडकले अस्तव्यस्त जनजीवन सिर्जना भएपछि संकटग्रस्त गापा घोषणा गरेको बताए। ‘गाइघाट कटारीसँग जोड्ने सडक क्षतविक्षत भएको र गएको बैशाख जेठमा लामो खडेरीले मकै उत्पादन शुन्य भएपछि खाद्यान्न अभाव भयो’, उनले भने, ‘लिम्चुङबुङको मुख्य खाद्यान्न बाली भनेको मकै खेती हो। त्यो पनि खडेरीले सखाप भयो। पहिरोले ढुवानी गर्ने सडक अवरुद्ध छ।’

उनले गाउँपालिकालाई बजारसम्म जोड्ने मुख्य दुई सडक पहिराले क्षतविक्षत भएपछि खाद्यान्न अभाव भएको बताए। लिम्चुङबुङलाई गाइघाट बजारसँग जोड्ने गाइघाट हुँदै मुकुर्ची लिम्चुङबुङ हलेसी सडकको चार दर्जन स्थानमा पहिरो गएको र कटारी बजारबाट लिम्बुङबुङ जोडिने कटारी, बेतेनी, ताप्ली लिम्चुङबुङ सडकमा दर्जनौं पहिरो गएको छ। 

गाउँपालिकाकै डोजर लगायतका मेशिन पनि छन’, पुन थप्दै अध्यक्ष राईले भने, ‘सडक मर्मत लागि गाउँपालिकाको बजेटले पुग्दैन। अनि समान्य रुपमा मर्मत गर्न इन्धन समेत छैन।’ खडेरीले मकै सखाप भएपछि खाद्यान्नको अभाव झेल्दै आएको लिम्चुङबुङले ढुवानी गरेको खाद्यान्नको भरमा थियो। ढुवानी गर्ने सडक समेत क्षतविक्षत भएपछि खाद्यान्न लगायतको समस्या आई परेको लिम्चुङबुङका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर राईले बताए।

‘विरामीलाई ठूला अस्पताल पुर्‍याउन सडक छैन', उनले भने, ‘पहिरोले खानेपानीका योजना क्षतविक्षत भएका छन। गाउँघरमा चामल बोक्न पैदाल हिडेर दुई दिनको बाटो मुकुर्ची पुग्नु पर्ने अवस्था आएकाले संटग्रस्त लिम्चुङबुङ गाउँपालिकाका घोषणा गरेका हौं।’ गाउँपालिकामा अत्यावश्यक औषधि, विभिन्न उपभोग्य वस्तु अभाव भएको छ।

दुवै सडकको अधिकांश ठाउँमा सडको जगसहित पहिरो गएकाले मर्मतमा ठूलो धनराशी लगाउनु पर्ने भएकाले प्रदेश र संघीय सरकारको गुहार मागेको गाउँपालिकाले जानकारी दिएको छ। यसैगरी ताप्ली गाउँपालिकामा समेत खाद्यान्नको संकट सुरु भएको गाउँपालिकाका अध्यक्ष उद्धवसिंह थापाले जानकारी दिए।

ताप्ली गाउँपालिकालाई कटारी बजारसँग जोड्ने मुख्य सडक कटारी बेतीन रुपाटार सडक मर्मत गर्न एक महिना लाग्ने भएको छ’, उनले भने, ‘त्यही मुख्य सडक नै क्षतविक्षत भएपछि खाद्यान्नको ठूलो समस्या परेको छ।’ ताप्लीमा पनि गएको बैशाख जेठको खडेरीले खाद्यान्न संकट परेको छ। ‘ताप्लीको पनि मुख्य खाद्यान्न बाली भनेको मकै नै हो’. ताप्ली गाउँपालिकाका उपाध्यक्ष कमलमाया राईले भनिन्, ‘खाद्यान्नको लागि प्रदेश र संघीय सरकारलाई सहयोग गर्न आग्रह गरेका छौं।’

खडेरीको मारमा परेको उच्च पहाडी क्षेत्रमा पर्ने उदयपुरगढी, रौतामाई लिम्चुङबुङ र ताप्ली गाउँपालिकामा बाढी पहिरोले थप पीडा दिएको जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारले बताए। ‘पहाडी क्षेत्रमा धेरै घर पहिरोमा परेकाले परिवार समेत विस्थापित भएका छन’, उनले भने, ‘पहाडी क्षेत्रमा खाद्यान्नको पनि संकट आइलागेको छ।’

हेलिकोप्टरबाट खाद्यान्न लैजाने तयारी

ग्रामीण सडक क्षतविक्षत भएपछि मुख्य गरी खाद्यान्नको संकट उत्पन्न भएको छ। स्थानीय तह र प्रदेश सरकारको सहयोगमा हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गर्ने तयारी समेत थालिएको छ। सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष विनोद कटुवाल दिवसले बिहीबार नै प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोलाई भेटेर स्थानीय तह र प्रदेश सरकारको सहयोगमा हेलिकोप्टरमार्फत खाद्यान्न पुर्‍याउने सहमति भएको बताए। 

‘तत्काल सडक खुल्ने अवस्था छैन। स्थानीय तहको लगानीमा सडक खुल्न सक्दैनन। मर्मत गर्नको लागि पनि इन्धन पुर्‍याउने अवस्था छैन’, उनले भने, ‘खडेरीको मारमा चारै गाउँपालिकामा बाढीपहिरोको कारण खाद्यान्न अभवा भएको छ। त्यसलाई हल गर्न लागि परेका छौं। प्रदेश सरकारले तत्काल काम सुरु गर्ने विश्वास दिएको छ।’

लिम्चुङबुङ, ताप्ली र उदयपुरगढी गाउँ पालिकाबाट निर्वाचित प्रदेश १ का प्रदेश सांसद नारायण बुर्जा मगरले खाद्यान्न संकट टार्न प्रदेश सरकारसँग गुहार मागेको बताए। ‘सत्ताधारी दल नेकपाका जिल्ला अध्यक्ष कटुवाल लगायत हामी सवैले प्रदेश १ सरकारको ध्यान आकर्षण गरेका छौं’, उनले भने, ‘सवै प्रक्रिया पुर्‍याएर हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गर्ने तयारी गरेका छौं।’

उदयपुरका प्रमुख जिल्ला अधिकारी ध्रुवहादुर खड्काले पहाडी क्षेत्रको लिम्चुङबुङ, ताप्ली, उदयपुरगढी र रौतामाई गाउँपालिकामा खाद्यान्न संकट परेको जानकारी आएको बताए। ‘हामीले पनि प्रदेश र संघीय सरकारलाई पत्र लेख्ने तयारीमा छौं’, उनले भने, ‘सकेसम्म तत्काल पहिरो खुल्ने अवस्था नभएकाले हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गर्ने तयारी गरेका छौं।’

लिम्चुङबुङ गाउँपालिकाले प्रदेश र संघीय सरकारलाई हेलिकोप्टर खाद्यान्न ढुवानीको लागि सहयोग गर्न पत्राचार गरेको जानकारी दिइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.