|

म्याग्दी :  संस्कृतमा एउटा भनाइ छ, ‘विभुक्षितं किं नकरोति पापम्’ अर्थात् ‘भोको मानिसले कुन पाप गर्दैन र? सबै किसिमका पाप कर्म गर्छ।’ संस्कृतको यो भनाइलाई म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोट फाँपरखेतका दृष्टिविहीन आइतबहादुर दर्जीको परिश्रमले भने पुनर्लेखन गर्नुपर्ने बनाइदिएको छ।

जन्मजातरूपमा दुवै आँखा नदेख्ने ५६ वर्षीय दर्जीले आफ्नो र परिवारको पेट भर्न र जिउ ढाक्न पापकर्म गरेर होइन आफ्नै बलबुताले परिश्रम गरेर समाजका लागिसमेत उदाहरणीय बनेका छन्। 

दृष्टिविहीन दर्जी विगत ६ वर्षदेखि एकाबिहानै एउटा हातले लठ्ठी टेकेर र अर्को हातले हथौडा बोकेर घरबाट निस्कन्छन्। गाउँमा निर्माण हुने विद्यालय भवन र व्यक्तिगत घरहरूको लागि गिट्टी कुटेर गुजारा चलाउनु उनको बाध्यता बनेको छ। 

दैनिकजसो बिहानै ज्यालामजदुरी गर्न जाने दर्जी दृष्टिविहिन भए पनि परिवारमा उनको जिम्मेवारी भने ठूलो छ। आर्थिक अवस्था कमजोर भएका दर्जीले भकुण्डेको अर्जुन माविमा निर्माणाधीन भवनका लागि गिट्टी कुट्ने गरेका छन्।

फापरखेतमा सार्वजनिक जग्गामा बसिरहेका दर्जी गत साल पत्रकार हरिकृष्ण गौतमको अगुवाइमा करिब १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग जुटेपछि जस्तापाताले छाएको घर बनाएर बसेका छन्  भने ५० हजारमा अरूको खेत बन्धकीमा लिएका छन्।

दैनिक घरखर्च चलाउनका साथै छोराको पढाई खर्च जुटाउन गिट्टी कुट्ने गरेको दर्जीले बताए। दर्जीका दुई छोरा र श्रीमती छन्। जेठा छोरा गाउँकै अर्जुन माविमा कक्षा १२ उत्तिर्ण गरेपछि उच्च शिक्षाका लागि आर्थिक अभाव भएकोले वैदेशिक रोजगारीमा जाने तरखरमा छन्। कान्छा छोराले पनि राम्रोसंग आँखा देख्दैनन्। कान्छा छोरा अनिल ७ कक्षामा पढ्छन्।

कमाएर नल्याए चुलो बल्दैन

‘मैले दुवै आँखा देख्दिनँ, तर कमाएर नल्याए  घरमा चुलो बल्दैन’ दर्जीले भने। दर्जीले आफ्नो सहारा भनेकै एउटा लठ्ठी र हथौडा भएको बताए। साहराको रुपमा रहेको लौरोभन्दा प्यारो गिट्टी कुट्नका लागि आवश्यक पर्ने हथौडा आफ्नो लागि महत्वपूर्ण रहेको दर्जीको भनाइ छ।

दर्जी परिवार गाउँकै सबैभन्दा कमजोर परिवारको रूपमा रहेको स्थानीय समाजसेवी भीमबहादुर पौडेलले बताए। छोराहरूलाई लत्ताकपडा, कपीकमल सहित खाजा खर्च जुटाउन समेत मुस्किल छ। ‘सकिनसकी दैनिक ३ सय जति कमाई हुन्छ। विरामी हुदाँ आफ्नो शरीरभन्दा छोराहरूको चिन्ता लाग्छ’ दर्जीले भने। दर्जीले पैसाको अभावमा कहिलेकाही एकछाक खाने गरेको समेत बताए।

‘पत्रकार हरिकृष्ण गौतम मेरो जीवनमा भगवान नै बनेर आउनुभयो’ अर्जुन माविको चौरमा गिट्टी कुट्दै गरेका दर्जीले भने  ‘उहाँकै आग्रहमा देश विदेशमा रहेका व्यक्तिहरुले मलाई सहयोग गरे र त्यसैको भरमा टिनले छाएको घरमा बस्न पाएको छु।’ ‘दर्जीको अवस्था अत्यन्त टीठलाग्दो थियो’ पत्रकार गौतमले भने ‘उनको दयनीय अवस्था देखेर मैले सहयोग जुटाएको हुँ।’

अपाङ्ताको क्षेत्रमा काम गर्ने धेरै संघसंस्था भएपनि आफ्नो घरमा सानो सहयोग समेत नगरेको दर्जीको गुनासो छ। ‘गरिवको घरमा त सहयोग गर्ने संघसंस्थाहरू पनि आउँदैनन्, कमाई गर्ने पनि सकिदैन्’ उनले भने। श्रीमती बिरामी हुने समस्याले समेत नियमित मजदुरीमा जान समस्या हुने गरेको दर्जीको भनाई छ। दर्जीले मनकारी व्यक्तिहरुसँग सहयोगको आग्रह गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.