कान्तिलोकपथ खुल्न एक महिना, ग्रामीण सडक अझै ठप्प

|

हेटौंडा : हेटौँडा–काठमाडौं चल्ने छोटो दूरीको सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिकाको कुलेखानी–फाखेल हुँदै फर्पिङ जोडिने सडक खण्डमा रहेको पहिरोको अवरोध हटेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुर र इन्द्रसरोवर गाउँपालिकाको प्रयासमा बाटो खुलेको हो। 

बाटोको केही ठाउँमा अझै पहिरो झर्ने क्रम नरोकिएकोले एक तर्फी रूपमा सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक यज्ञ प्रसाद भट्टराईले जानकारी दिएका छन्। यस्तै, सिस्नेरी हुँदै दक्षिणकाली जोडिने बाटो पनि खुलेको प्रहरीले जनाएको छ।

विशेषगरी सुमो सेवा सञ्चालन हुने यो सडकखण्ड अवरुद्ध हुँदा हेटौंडा-काठमाडौं छिटो जान नसकिने अवस्था रहेको थियो।  

यस्तै हेटौंडा–पालुङ हुँदै काठमाडौं जाने त्रिभुवन राजपथ भने पूर्ण रुपमा सञ्चालनमा आएको छ। केहि ठाउँमा झरेको पहिरो हटाएकोले त्रिभुवन राजपथमा कुनै समस्या नभएको प्रहरीले जनाएको छ।

कान्तिलोकपथ चल्न एक महिना, ग्रामीण सडक अझै ठप्प

यस्तै, संघीय राजधानी जोड्ने कान्तिलोकपथ पूर्णरूपमा सञ्चालनमा आउन अझै एक महिनाभन्दा बढी लाग्ने भएको छ। हेटौँडा–काठमाडौंको सजिलो र छिटोबाटोको रूपमा केही समय अघिबाट सञ्चालनमा आएको यो बाटो विनाशकारी अविरल वर्षाले तहसनहस बनाएको हो।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार कतिपय स्थान पूरै सडक बगाएको, कतै सय मिटरभन्दा लामो पहिरो खसेकोले बाटो तत्काल सञ्चालन गर्न असम्भव रहेको छ। उनले ठूलो वर्षा भए झन धेरै समय लाग्नेसमेत बताए।

यस्तै मकवानपुरका अधिकांश ग्रामिण सडकहरु अझै ठप्प रहेका छन् । धेरै जसोबाटो फराकिलो बनाउन डोजर चलाएको कारण बाटोहरु विग्रेको प्रजिअ तामाङले बताए। मकवानपुरको भीमफेदी गाउँपालिका हुँद कैलाश गाउँपालिकाको केन्द्र कालिकाटार जोड्ने बाटो अझै खुल्न सकेको छैन।

यस्तै,  थाहा नगरपालिकाबाट डाँडाखर्क–कैलाश जोड्ने बाटो अवरुद्ध छ। यस्तै, भीमफेदी गाउँपालिकाका छोटा दुरीका ग्रामिण सडकहरु पनि अवरुद्ध रहेका छन्। इन्द्रसरोवरको ग्रामिण सडकमा पनि पहिरोको कारण खुल्न नसकेको गाउँपालिका अध्यक्ष जीवन लामाले बताए।

यस्तै, पश्चिम मकवानपुरको मनहरी गाउँपालिका हुँदै राक्सिराङको खैराङ, काँकडा लगायत क्षेत्रको बाटो अवरुद्ध भएको र खुलाउने काम भइरहेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.