|

बैतडी : बैतडीको सुर्नया गाउँपालिका १ का वडा अध्यक्ष एवं नेपाली कांग्रेस सुर्नया गाउँपालिका १ का सभापति कलशबहादुर चन्दको मोटरसाइकल दुर्घटनामा परी निधन भएको प्रति नेपाली कांग्रेस बैतडीले गहिरो शोक व्यक्त गरेको छ। 

पार्टी सभापति नरेन्द्रसिंह थापा र सचिव प्रेमबहादुर चन्दद्वारा हस्ताक्षरित शोक विज्ञप्तिमा चन्दको निधनले नेपाली कांग्रेसले एक कर्तव्यनिष्ठ, निडर र स्वाभिमान कार्यकर्ता गुमाएको उल्लेख गरिएको छ । चन्दको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको जनाइएको छ। 

चन्दको निधनप्रति गहिरो शोक व्यक्त गर्दै नेपाली कांग्रेसले तीनदिन सम्म शोक मनाउने, पार्टीको झण्डा आधा झुकाउने, पार्टीका सबै तहका कार्यालयमा शोक पुस्तिका राख्ने र तीनदिनसम्म पार्टीका औपचारिक कार्यक्रम स्थगित गर्ने जनाइएको छ।

चन्दको यही साउन २ गते जिल्लाको सतबाँझमा मोटरसाइकल दुर्घटनामा परी निधन भएको थियो। यस्तै नेपाली कांग्रेसको भातृसंगठन तरुण दल बैतडीले पनि सुर्नया गाउँपालिका १ का वडा अध्यक्ष कलशबहादुर चन्दको निधनप्रति गहिरो शोक व्यक्त गरेको छ ।

तरुण दलका पूर्व जिल्ला कार्यसमिति सदस्य चन्दलाई गुमाउँदा लोकतन्त्रवादीलाई अपुरणीय क्षति पुगेको तरुण दलका जिल्ला उपाध्यक्ष महेश भट्टद्वारा हस्ताक्षरित शोक व्यक्तव्यमा उल्लेख गरिएको छ। 

गाउँपालिकाले एघार लाख सहयोग गर्ने

 दुर्घटनामा परी मृत्यु भएका सुर्नया गाउँपालिका १ का वडा अध्यक्ष कलशबहादुर चन्दको परिवारलाई गाउँपालिकाले किरिया खर्च बापत १ लाख रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय गरेको छ। गाउँ कार्यपाालिकाको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गर्दै किरिया खर्च तत्काल उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष बीरबहादुर बिष्टले जानकारी दिए । यस्तै परिवारिक भरणपोषणका लागि दशलाख रुपैयाँ सहयोग उपलब्ध गराउने पनि बैठकले निर्णय गरेको छ। 

बैतडीको सुर्नया गाउँपालिका १ हटैराज घर भएका ५० वर्षीय चन्द विस २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट सुर्नया गाउँपालिका १ को अध्यक्षमा निर्वाचित भएका थिए।

स्वर्गीय चन्दकी श्रीमतीसहित एक छोरा र एक छोरी रहेका छन्। चन्द निर्माण व्यवसायी संघ बैतडीको निवर्तमान अध्यक्ष समेत थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.