|

काठमाडौं :  पाँचौं संस्करणको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताका लागि नेपाल सेटलाइट टेलिकमले प्रायोजन गरेको छ।

शनिबार एक कार्यक्रम आयोजना गरी प्रतियोगिताको आयोजक नेपाल भलिबल संघ र नेपाल सेटलाइट टेलिकम प्रालिसँग सम्झौता भएको हो। सम्झौतापश्चात् सेटलाइटकी अध्यक्ष अस्मिता सुमार्गीले संघलाई २० लाखको चेक हस्तान्तरण गरेकी हुन्।

भलिबल खेल भन्नेबित्तिकै आफ्नै परिवार जस्तो महसुस हुने अध्यक्ष सुमार्गीले बताइन्। विदेशी टिमलाई नेपालमा ल्याएर प्रतियोगिता गर्नु चुनौतीपूर्ण रहे पनि यस्ता कार्यक्रमले देशको गौरव बढाउने उनको भनाइ छ।

नेपाली खेलाडीहरू पनि विदेशी टिमसँग प्रतिस्‍पर्धा गर्न सक्छन् भन्ने कुरामा आफू पूर्णरूपले विश्वस्त रहेको बताइन् 'क्षमता भएर पनि आर्थिक कठिनाइ हुनु खेलाडीहरूका लागि दुःखको कुरा हो' उनले भनिन्, 'यो कुनै व्यक्तिका लागि नभई राष्ट्रका लागि एउटा अवसर हो। भलिबल प्रतियोगिता सफल पार्नु पनि हाम्रो दयित्व हो।' 

भलिबल संघसँग जोडिन पाउनु आफ्ना लागि खुशीको कुरा रहेको उनले बताइन्। आफूबाट हुनसक्ने सबै प्रकारको सहयोग गर्न आफू र आफ्नो संस्था सदैव तयार रहेको उनको भनाइ छ। नेपालको खेलकुदको विकासमा सबै तह र तप्काका व्यक्तिले आ-आफ्नो स्थानबाट सहयोग गर्नसमेत उनले आग्रह गरिन्।

कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्माले सरकारले भलिबल खेललाई राष्ट्रिय खेल भनेर सूचित गरे पनि यसको उत्थानका लागि कुनै सहयोग नगरेको गुनासो गरे। 'खेलकुदको विकासबिना कुनै पनि राष्ट्र अगाडि बढ्न सक्दैन', उनले भने, 'बजेटमा पनि भलिबल खेलका लागि रकम नछुट्याउनु विडम्बनाको विषय हो।'

सरकारी तहबाट कुनै आर्थिक सहयोग नगरे पनि निजी संस्थानहरूले भलिबल खेलका लागि बर्सेनि सहयोगको गरेको उनले बताए।

साउन ३२ देखि भदौ ८ गतेसम्म संचालन हुने प्रतियोगितामा विभिन्न देशका ७ टिमले भाग लिनेछन्। नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्किस्तान र उज्वेकिस्तानसहित ७ टोलीले प्रतिस्पर्धा गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.