कुट्ने काठमाडाैंमा, कुटिने गुहार माग्दै प्रहरीमा

|

ओखलढुंगा " चम्पादेवी गाउँपालिका ८ का वडा अध्यक्षले आफ्नै सहकर्मीमाथि कुटपिट गरेका छन्। गाउँपालिकाको कार्यालयमै वडा नम्बर ७ का अध्यक्षलाई कुटपिट गरेका हुन्।  

कुटिने वडा ७ का वडा अध्यक्ष सुरेशकुमार थापालाई गाउँपालिकामा काम गरिरहेको अवस्थामा दिउँसो ३ बजे मादक पदार्थ पिएर वडा ८ का अध्यक्ष अजय लुइँटेलले कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा उजुरी दिएका छन्। उनले सार्वजनिक शान्तिविरुद्धको कुसरमा उजुरी दिएका हुन्।

उजुरीमा गाउँपालिका कार्यालयमा काम गरिरहेको अवस्थामा ‘तँलाई यहाँ बस्ने अधिकार छैन’ भन्दै एक्कासी कुटपिट गरेको उल्लेख छ।स्थानीयले अध्यक्ष थापासहित गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम भगत र सुब्बा ईश्वर ढुंगानालाई समेत कुटपिट गर्ने धम्की दिएको अडियो रेकर्ड प्रहरीमा बुझाएका छन्।

अडियोमा लुइँटेलले थापालाई कुटेको र अरु दुई जना कर्मचारी प्रमुख प्रशासकीय अधिकृत भगत र सुब्बा ढुंगानालाई आफुले मागेको चेक नकाटेको भन्दै ठिक पार्छु भनेको सुन्न सकिन्छ। 

आफूलाई धेरै पटक धम्की आएको र पछिल्लो पटक २०७६ असार ३० गते कार्यालयमै आक्रमण भएको पीडित थापाले बताए। उनले गाउँपालिकामा कर्मचारी र अन्य जनप्रतिनिधिले असुरक्षा महसुस गरेको र सुरक्षाका लागि उजुरी गरेको बताएका छन्। थापाको खुट्टामा चोट लागेको छ। 

लुइँटेलविरुद्ध अडियोसहित उजुरी आएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएस्पी पुष्पराज मल्लले बताए। उनले उजुरी र अडियो सुनेपछि लुइँटेललाई हाजिर गराउन प्रहरी खटाइएको जानकारी दिए।

लुइँटेल सम्पर्कमा आएपछि उजुरीमाथि छानबिन गरेर मुद्दा दर्ता हुने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी प्रमुख डिएसपी मल्लले बताए। 

लुइँटेल सम्पर्कविहीन भएको भनिए पनि उनले सामान्य भनाभन भएको स्वीकार गरेका छन्। उनले आफूहरू बीचको सम्बन्धलाई आँच पुर्‍याउने प्रपञ्च रचेको बताउँदै आफूले कुटपिट नगरेको बताए। आफू गाउँपालिकाको कामका लागि राजधानी काठमाडाैंमा रहेको बताउँदै उनले केही दिनमा गाउँपालिका फर्किने बताए।

लुइँटेल कांग्रेसबाट निर्वाचित अध्यक्ष हुन् भने थापा नेकपाका जिल्ला सदस्य, अध्यक्ष, उपाध्यक्षसहित बहुमत कार्यपालिका सदस्य जितेको कांग्रेस र नेकपाबीच गाउँपालिकाको बजेट लगायतका विषयमा लामो समयदेखि विवाद हुदै आएको छ।

थापाले गाउँपालिकाका अनियमितताका विषयमा सार्वजनिक रुपमै विरोध गर्दै आएका थिए। झगडा यही विषयमा हुन सक्ने स्थानीयको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.