|

पर्वत : जलविद्युत आयोजनाले नयाँ कर्मचारीको माग गर्दै विज्ञापन खुलाएपछि पर्वतमा निर्माणाधीन तल्लो मोदी जलविद्युत आयोजनामा फेरि विवाद सुरु भएको छ। 

कर्मचारी स्थायी गर्ने विषयमा यस अगाडि नै विवाद भएपछि गतअसार ९ गते आयोजनामा कार्यरत मजदुर तथा कर्मचारीहरू र आयोजना पक्षका बीचमा भएको सहमति लत्याउँदै व्यवस्थापनले नयाँ विज्ञापन गरेपछि कर्मचारीले आन्दोलनको घोषणा गर्दै काम बन्द गर्ने चेतावनी दिएका छन्। यस अगाडि कर्मचारीकै विज्ञापनका विषयमा नै आन्दोलन भएपछि जिल्ला प्रशासन कार्यालयको पहलसहमति भएकाे थियाे।

प्रतिनिधिसभाका सदस्य पदम गिरीको उपस्थितिमा आन्दोलनरत कर्मचारी र व्यवस्थापनका बीचमा २३ पदमा विज्ञापन खुलाउने र कार्यरत कर्मचारीलाई प्राथमिकता दिने सहमति भएकाे थियो। सहमतिपछि तीन हप्तादेखि रोकिएको निर्माण कार्य सुचारु भएको थियो। तर मोदी इनर्जी प्रालिले खुलाएको विज्ञापनमा कार्यरत कामदारले आवेदन दिने पद नै नराखिएपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

विज्ञापनको विषयमा आक्रोशित बनेका कर्मचारीहरूले पर्वतका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाललाई सहमति उल्लंघन भएको विषयमा जानकारी गराएका छन्। उनीहरूले पुनः विज्ञापन आह्वान नगरिए आयोजनाको काम ठप्प पार्ने चेतावनी दिएका छन्। प्रजिअ नेपालले सहमति विपरीत गरिएको विज्ञापन रद्द गरेर सहमतिलाई कार्यान्वयन गर्नुपर्ने र त्यसका लागि पहल गर्ने आश्वासन कर्मचारीलाई दिएकी छिन्। 

गत असार ९ गते जिल्ला प्रशासन कार्यालयमा भएको वार्ताका क्रममा आयोजनाको सुरुवातदेखि नै कार्यरत कर्मचारीलाई खुल्ला प्रतिस्पर्धामा भाग लिन दिने र बिदा हुन चाहने कर्मचारीलाई प्रोत्साहन रकम दिने विषयमा सहमति भएको थियो। आयोजनाको विद्युत् उत्पादनपछि २३ जनाको दरबन्दीमा खुल्ला विज्ञापन आव्हान गर्ने तथा ४० वर्ष नाघेका कामदारलाई एक लाख १५ हजारका दरमा प्रोत्साहन रकम दिएर बिदा गर्ने सहमति भएको थियो।

अहिले २३ पदमा विज्ञापन खुलाइए पनि कार्यरत कर्मचारीले आवेदन दिन नसक्ने र सबै जसो पदमा प्राविधिक पद भएकाले सहमति उल्लंघन भएको कर्मचारीले बताएका छन्। यता, मोदी इनर्जी लिमिटेडका तर्फबाट जनसम्पर्क अधिकृत सुरेन्द्र वेलवासले एक हप्ताको समय माग गरिएको र कर्मचारी सँगको सहमति कार्यान्वयन गरेर जाने आश्वासन दिएका छन्। 

निजी क्षेत्रको मोदी इनर्जी लिमिटेडले निर्माण गरिरहेको टनेल परीक्षणका क्रममा पानी चुहिएका कारण मर्मत भइरहेको छ। वैशाखको अन्तिम साता परीक्षणका लागि टनेलमा पानी पठाउँदा धेरै ठाउँबाट पानी चुहिएपछि मर्मतको काम भइरहेको छ। २०६९ साउनमा निर्माण सुरु भएकाे आयोजनाको उत्पादन लक्ष्य २०७४ असारसम्मकाे थियो।

आयोजनाले प्राकृतिक, मानवीय लगायतका कारण देखाउँदै यसअघि धेरै पटक उत्पादन मिति सारेको थियो। आयोजनाले असोजमा पनि उत्पादन नथाल्ने हो भने पेनाल्टी तिर्नुपर्ने अवस्था आउँदै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.