|

सल्यान : सल्यानको प्रमुख व्यापारिक केन्द्र कपुरकोटबाट एक महिनाको अवधिमा साढे सात करोडको ताजा तरकारी तथा फलफूल निकासी भएको छ। कृषि उपज बजार केन्द्र कपुरकोटबाट असार महिनामात्र साढे सात करोडको तरकारी निकासी भएको हो। केन्द्रका अनुसार ८ हजार १ सय ३४ क्विन्टल ताजा तरकारी तथा फलफूल निर्यात भएको छ।

एक महिनाको अवधिमा कृषि उपज बजार केन्द्रबाट  ३ हजार २ सय ६९ क्विन्टल टमाटर, २ हजार ६ सय ९७ क्विन्टल बन्दागोपी, १ हजार ४ सय २८ क्विन्टल काउली जिल्ला बाहिर निकासी भएको छ। यस्तै, १ सय १२ क्विन्टल सिमी ४ सय ५२ क्विन्टल भेडे खुर्सानी, ५३ क्विन्टल काँक्रा ४९ क्विन्टल हरियो खुर्सानी, ११ क्विन्टल गाजर, १३ क्विन्टल मुला, २४ क्विन्टल लसुन, निकासी भएको बजार केन्द्रका कर्मचारी विष्णुप्रसाद गौतमले बताए।

तराईमा बाढी पहिरोका कारण पनि यो वर्ष तरकारीले राम्रो बजार पाएको उनको भनाई रहेको छ। कपुरकोट बेमौसमी तरकारी खेतीका लागि परिचित रहेको र प्रत्येक वर्ष सल्यानबाट ५० देखि ६० करोडसम्मको ताजा तरकारी तथा फलफूल जिल्ला बाहिर निकासी हुने गरेको उनको भनाई छ।

कृषि उपज बजार केन्द्र कपुरकोटबाट काठमाडौं, नेपालगञ्ज, बुटवल, धनगडी, तुलसीपुरलगायत विभिन्न ठाउँमा जाने गरेको छ। कपुरकोट बजारका अलावा रीम, गर्पा, सिनवाङका विभिन्न स्थानमा तरकारी संकलन केन्द्रहरू रहेका छन्। पछिल्लो समय गाउँगाउँमा कृषि सडकको विकास भएपछि व्यापारीहरू किसानको खेतबारीमै गाडी लगेर तरकारी खरिद गर्न पुग्ने गरेका छन्।

सल्यानको सल्लीबजार, कालिमाटीको नाकाबाट पनि करोडौंको तरकारी निकासी हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.