|

सिरहा : जिल्लाको विभिन्न ठाउँमा शनिबार एकै दिन विभिन्न घटनामा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शनिबार दुई जनाको सर्पदंश, एक जना करेन्ट र दुई जनाको पोखरीमा डुबेर मृत्यु भएको हो।

सिरहाको अर्नामा गाउँपालिका १ पालटोलमा स्थानीय नन्दलाल पालकी ५ वर्षीया छोरी साक्षीकुमारी पालको खेल्दाखेल्दै घरनजिकै रहेको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। त्यस्तै, कल्याणपुर नगरपालिका ४ महुलिया टोलका मोहमद मसरफ हुसेनका छोरा करिब तीन वर्षीय मोहमद अफरोस हुसेनको आफ्नै घर अगाडिको खाल्डोमा जमेको पानीमा डुबेर घाइते अवस्थामा उपचारका लागि मिर्चैयास्थित प्राथमिक स्वाथ्य केन्द्र ल्याइए पनि मृत्यु भएको प्रहरीले जनाएको छ। 

सिरहा नगरपालिका १२ सारश्वर बस्ने प्रमोदकुमार साहकी छोरी ५ वर्षीया सन्ध्या कुमारी साह आफ्नै घर अगाडि खेल्ने क्रममा सर्पले डसेपछि जिल्ला अस्पताल सिरहामा सामान्य उपचार गरी थप उपचारका लागि लहान ल्याउने क्रममा बाटोमै शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसैगरी, गोलबजार नगरपालिका ४ स्थित विश्वकर्मा सप्लायर्सको ग्रिल उद्योगमा काम गरिरहेका बेला विद्युतको तार सर्ट भई गम्भीर घाइते भएका मजदुरको मृत्यु भएको छ।

करेन्ट लागेर घाइते भएका सर्लाही बागमती नगरपालिका ८ सोल्टीका करिब २० वर्षीय मनिषकुमार वि.क.को उपचारको क्रममा लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा मृत्यु भएको हो। 

कर्जन्हा नगरपालिका १ बन्दीपुरका करिब २२ वर्षीय तिलक बरालको शनिबार राती सर्पले डसेर मृत्यु भएको छ। सर्पले डसेपछि तत्काल बन्दीपुरस्थित नेपाली सेनाले संचालन गरेको सर्पदंश उपचार केन्द्रमा ल्याइएको भए पनि अवस्था गम्भीर भएकाले थप उपचारका लागि जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ। 

मृतकका आफन्तहरूले केन्द्रले बिरामीलाई राम्रो उपचार नगरी रेफर गरिंदा मृत्यु भएको आरोप लगाउँदै शनिबार दिउँसो केही बेर पूर्व पश्चिम सडकको बन्दीपुरखण्ड अबरुद्ध गरेको भए पनि प्रहरीले खुलाएको सिरहा प्रहरीले जनाएको छ। प्रहरीले सबै घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.