|

खोटाङ : खोटाङमा पक्राउ परेको आन्दोलकारीलाई रिहाइ गर्न माग गर्दै सदरमुकाम दिक्तेल विरोध जुलुस प्रदर्शन भएको छ। लोकसेवा आयोगको परीक्षा विथोलेको भन्दै प्रहरीले पक्राउ गरेको ४ जना आन्दोलनकारीलाई बिनासर्त रिहाइको माग गर्दै आदिवासी जनजाति महासंघ लगायतका आन्दोलनकारीले प्रदर्शन गरेका हुन्।

विरोधमा उत्रिएका आन्दोलनकारीले शनिबार बिहान दिक्तेल वहुमुखी क्याम्पसमा सञ्चालन भएको परीक्षा विथोल्ने प्रयास गरेका थिए। परीक्षा विथोल्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएका एलवी मगरलगायतका आन्दोलनकारीलाई तत्काल रिहा गर्न माग गर्दै नाराजुलुसहित दिक्तेल बजार परिक्रमा गरिएको छ। आदिवासी जनजाति महासंघ जिल्ला परिषदका सचिव रविन खम्बु, सह–सचिव एलबी मगर, खोटाङ दलित विकास मञ्चका अध्यक्ष मिलन चाहार र सविना अछामे प्रहरी नियन्त्रणमा रहेका छन्।

पक्राउ परेका चारैजनालाई रिहाई तथा असमावेशी विज्ञापन खारेजीको माग गर्दै जनजाति महासंघ तथा संयुक्त संघर्ष आन्दोलन परिचालन समितिको नेतृत्वमा प्रदर्शन गरिएको संयोजक हात्तिराम राईले बताए।

यसैबीच, पक्राउ परेका आन्दोलनकारीमामाथि प्रहरीले कुटपिट तथा अमानवीय व्यवहारमा गरेको भन्दै समाजवादी पार्टी, नेपाल, खोटाङलगायत अन्य ४ संघसंस्थाले विज्ञप्ति जारी गर्दै विरोध जनाएका छन्। विज्ञप्तिमार्फत माग गर्दै आन्दोलनकारीलाई बिनासर्त रिहाई गर्न आदिवासी जनजाति महासंघ, किरात राई यायोक्खा, नेपाल राष्ट्रिय दलित संघ खोटाङ र दलित उद्यमी सहकारी संस्थाले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेका छन् ।

दिक्तेलको भवनगैरावाट सुरु गरेको विरोध जुलुस रत्नपार्क–हाटडाँडा हुँदै त्रिवेणीचोकमा पुगेर कोणसभा गरेका थिए। आदिवासी जनजाति, दलित, महिला, अपाङ, मधेसी, मुस्लिमलगायतको अधिकारलाई कटौती गर्दै संविधानको भावना र मर्मविपरीत लोकसेवा आयोगले विज्ञापन खुलाएको भन्दै जिल्लामा चरणवद्द आन्दोलन भइरहेको छ। विज्ञापनको विरोधमा गरिएको प्रदेश १ बन्दका कारण खोटाङको दिक्तेलवजार ठप्प बनेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.