योजनाको बिल पास गर्दा धमाधम घुस

|

काठमाडौं : जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय दोलखाका सिनियर डिभिजन इन्जिनियर प्रकाश अधिकारी आर्थिक वर्षको मैजारोसँग घुसको रकम थान्को लाउन काठमाडौं आउँदैथिए। 

आर्थिक वर्षको अन्त्यका क्रममा अधिकारीले दोलखास्थित विभिन्न विकास आयोजनाको बिल मिलाउँदा लिएको घुसको रकम व्यवसथापन गर्न आएका अधिकारी भक्तपुरको जगातीबाट शुक्रबार पक्राउ परे।

उनी विभिन्न उपभोक्ता समितिसँग लिएको घुसको बिटो बोकेर बा. १ झ ५२८० नम्बरको सरकारी गाडीमै चढेर काठमाडौँ छिर्दैथिए। तर सरकारी पदमा बसेर गरेको बदमासी यसपटक ढाकछोप गर्न सकेनन् उनले अनि अख्तियारको फन्दामा परे। 

अधिकारीले घुस लिएर काठमाडौँ हान्निएको जानकारी दोलखास्थित घुस दिने उपभोक्ताहरुले नै अख्तियारसम्म पुर्याएका थिए। घुस लिएको रकमसहित काठमाडौँ छिरेको भरपर्दो सूचना पाएपछि अख्तियारले अधिकारीलाई बाटैबाटै पक्राउ गरेको हो।

अख्तियारका प्रवक्ता प्रदीप कोइरालाका अनुसार अधिकारी सवार गाडीमा खानतलासी गर्दा १३ लाख ३८ हजार ५ सय रुपैयाँ भेटियो। दोलखाबाट उजुरी परेअनुसार नै रकम भेटिएपछि उनलाई अख्तियारको टोलीले तत्कालै नियन्त्रणमा लिएको हो। 

अर्का इन्जिनियर पनि समातिए

अधिकारीसँगै अर्का इन्जिनियर पनि अख्तियारको फन्दामा परेका छन्। उनी हुन् जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय सिन्धुपाल्चोकका इन्जिनियर भोगेन्द्र साह। अख्तियारले अधिकारीसँगै आएका साहको साथबाट पनि घुसवापद लिएको एक लाख २९ हजार एक सय पाँच रुपैयाँ बरामद गरेको छ। 

गाडी चालक पनि पक्राउ

घुस बोकेका हाकिमलाई पुर्याउन आएका बा १ झ ५२८० नम्बरको गाडीका सवारी चालक सुमन खड्का पनि अख्तियारको फन्दामा परेका छन् । दोलखास्थित कार्यालयकै टोयोटा हाइलक्स गाडीमा हाकिमलाई बोकेर आएका खड्कालाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता कोइरालाले बताए। 

तीनजनालाई १५ लाख घुस 

शुक्रबार १४ लाख भन्दा बढी घुससहित भक्तपुरबाट सिचाईँका हाकिमसहित तीनजनालाई पक्राउ गरेको अख्तियारले शनिबार बर्दियामा १५ लाख रुपैयाँ घुससहित तीनजना इन्जिनियरयालाई समात्यो।

अख्तियारको नेपालगञ्जस्थित सम्पर्क कार्यालयको टोलीले सार्वजनिक विदाको दिन शनिबार दिउँसो एकै स्थानबाट तीन इन्जिनियरसहित चारजनालाई घुससहित रंगेहात समात्यो। 

कर्णाली नदी व्यवस्थापन कार्यालय बर्दियाका तीनजना इन्जिनियर कमल सिटौला, विश्वेश्वरप्रसाद शाह र हरिप्रसाद चौधरीलाई घुस लिइसकेको अवस्थामा अख्तियारको नेपालगञ्ज कार्यालयको टोलीले १५ लाख रुपैयाँ घुससहित समातेको हो। 

कर्णाली नदी व्यवस्थापन निर्माण योजनामा तारजाली भर्ने कामको बिल रकम भुक्तानी गरे वापत सेवाग्राहीसँग घुसको लेनदेन भइरहेको पूर्वसूचना पाएपछि नेपालगञ्जबाट अख्तियारको टोली बर्दियाको गेरूवा गाउँपालिका–१ मा पुगेको थियो। तीनजना इन्जिनियरले घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले फन्दामा पारेको हो।

चालक पनि समातिए

उक्त घुस प्रकरणमा इन्जिनियरहरुका सवारी चालक टंकप्रसाद ओझा पनि पक्राउ परेका छन्। अख्तियारका अनुसार उनी पनि घुस लेनदेनमा संलग्न थिए। ओझाले पनि घुसमा बार्गेनिङ गरेको पाइएपछि फन्दामा परेका हुन्। 

सव-इन्जिनियर उमा फन्दामा 

घुसको मामिलामा महिला–पुरुष दुवै उस्तै देखिएका छन्। शुक्रबार मात्रै अख्तियारको बर्दिबासस्थित कार्यालयको टोलीले सिरहाबाट सब–इन्जिनियरर उमा श्रेष्ठलाई पक्राउ गर्यो। 

सिरहाको गोलबजार नगरपालिकाकी सब–इन्जिनियर उमा श्रेष्ठले शौचालय निर्माणको भुक्तानी दिन सहज गराइदिए बापत सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा पुगेको अख्तियारको टोलीले पक्राउ गरेको हो।

सब–इन्जिनियर श्रेष्ठलाई सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस वापतको रकम लिइसकेको अवस्थामा गोलबजार नगरपालिका–७ पुरानो चोहर्वा बसपार्कस्थित अशोक साहको होटलबाट शुक्रबार रंगेहात पक्राउ गरेको हो  

अर्का इन्जिनियर पक्राउ

अख्तियारले बिहीबार सर्लाहीबाट पनि अर्का इन्जिनियरलाई समातेको थियो । सर्लाहीको रामनगर गाउँपालिकामा कार्यरत इन्जिनियर रामजीबाबु यादवलाई घुस लिइसकेको अवस्थामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासको टोलीले पक्राउ गरेको हो। 

अख्तियारका प्रवक्ता प्रदीप कोइरालाका अनुसार यादवले गाउँपालिकाको बजेटबाट विद्युत् जडान गर्न (विद्युतको पोल, तार, ट्रान्सफर्मर) प्राविधिक मूल्याङ्कनसहितको कार्य सम्पन्न प्रतिवेदन तयार गरी भुक्तानी दिन सहज गराइ दिएबापद ५० हजार रुपैयाँ घुस लिएका थिए। 

इन्जिनियर यादवले घुस मागिरहेको सूचना पाएपछि अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । यादवलाइए सेवाग्राहीसँग ५० हजार घुस वापतको रकम लिइसकेको अवस्थामा मलंगवा नगरपालिका–१०, अशोका होटलबाट बिहीबार नियन्त्रणमा लिएको हो। 

कम्प्युटर अपरेटर पनि उस्तै 

अख्तियारले तनहुँको दमौलीबाट पनि बिहीबारै एकजना कम्प्युटर अपरेटरलाई घुससहित समातेको छ। 

डिभिजन सडक कार्यालय, दमौलीका कम्प्युटर अपरेटर प्रकाश पौडेल र वाइल्ड स्ट्रोङ कन्सलटेन्सीका सुमित शाहीलाई पनि अख्तियारले समातेको हो। 

पौडेल र शाहीले सडक स्तरोन्नतिसम्बन्धी योजनाको भुक्तानी गरिदिए बापत सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, पोखराबाट गएको टोलीले एक लाख ७५ हजार रुपैयाँ घुससहित समातेको हो । 
दुवैजना घुस लिएको रकम व्यवस्थापनका लागेका बेला डिभिजन सडक कार्यालय, दमौली परिसरबाटै उक्त रकमसहित रङ्गेहात पक्राउ परेका कोइरालाले बताए

किन समातिए

आर्थिक वर्षको अन्त्यमा इन्जिनियर र ओभरसियरहरुलाई भ्याइनभ्याइ हुन्छ। ठेकेदारदेखि उपभोक्तासम्म हिउँदभरी काम गर्दैनन्। बर्षा लागेपछि जेठबाट उनीहरुलाई भ्याइ नभ्याइ हुन्छ। 

चुँदो झरीमा हिलोबीच गरेको कामका गुणस्तर बस्ने कुरै भएन। अझ प्राविधिकहरुले त बर्षायाममा सडक पिच र निर्माण जस्ता काम गर्नु बालुवामा पानी जस्तै हुने बताउँछन्। 

यस्तो बेलामा उपभोक्ता समितिदेखि ठेकेदारसम्म बढी भन्दा बढी बिल मिलाउन खोज्छन्। थोरै कामको पनि धेरै बिल पास गराउन खोज्दा त्यहीँनिर इन्जिनियर र ओभरसियरहरुले अड्को थापेर घुस माग्छन्। त्यो घुस इन्जिनियर, ओभरसियरबाट कार्यालय प्रमुखसम्म पुग्छ। 

आर्थिक वर्षको मैजारो भइसक्दा पनि कर्मचारीहरूले घुस लिन छाडेका छैनन्। यी शुक्रबार र शनिबार मात्रै सातजना इन्जिनियरहरू ३२ लाख ४२ हजार ६ सय ५ रूपैयाँ घुससहित पक्राउ परे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.