|

उदयपुर : तरकारीको पकेट क्षेत्र मानिने कटारी बेलका नगरपालिकामा बाढी पहिरोको कारण करोडौं रुपैयाँको तरकारी क्षति भएको छ। अविरल वर्षाको कारण फल लाग्दै गरेको तरकारी नष्ट भएको छ। बिक्रीको लागि तयार गरिएका तरकारी बाढी पनि पहिरोले सडक अवरुद्ध भएपछि किसानको घरमै कुहिएको छ।

कतार पठाउने तयारी गरिएएको करिब ३० टन तीतेकरेला समेत कुहिएको बेलका नगरपालिकाकाले जानकारी दिएको छ। बेलका नगरपालिका–२ कोसीटप्पुमा उत्पादित तीतेकरेला कतार निर्यात हुन थालेको छ। 

‘बाढी पहिरोका कारण निर्यात हुन नसकेपछि २० लाख रुपैयाँ बराबरको २० टन करेला कुहिको छ,’ बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले भने, ‘खेतमा पानी जमेकाले फल्दै गरेको हरियो बोट पनि पहेँलो भएको छ, निर्यातका लागि प्याकेजिङ गरिएको करेला कुहियो।’

नेपालमा उत्पादित तरकारी खाडी देशलगायत तेस्रो मुलक निर्यात गर्दै आएको ब्लाक डायमण्ड अर्गानिक प्रालिका निर्देशक नारायण कार्कीले २० टन कुहिएको  र ६०० बिघा जग्गामा लगाएको करेलाको बोट पहेँलो भएर नष्ट भएको बताए। ‘तयारी अवस्थाको कुहिँदा र हरियो बोट पहेलो भएर मर्ने अवस्थामा पुगेपछि झण्डै एक करोड रुपैयाँको उत्पदन घाटा लाग्ने भएको छ,’ उनले भने, ‘बिषादीरहित अर्गानिक तीतेकरेला कतार निर्यात पनि ठप्प भएको छ।’

प्रालिले ६०० बिघा जग्गामा तीतेकरेला र २५० बिघा क्षेत्रफलमा लोकहा, भिण्डी, घिरौला, बैगुन, फर्सी, चुकुनी, हरियो खुर्सानी, हरियो मकैलगायको उत्पादनका लागि नर्सरी व्यवस्थापन गरिरहेको थियो। 

यता कटारी नगरपालिका–११ का किसानले व्यावसायिक रुपमा गरेको तरकारी खेतीमा समेत बाढी पहिरोले क्षति पुगेको छ। वर्षातका कारण गोलभेडा उत्पादनका लागि बनाइएको टनेलामा क्षति पुगेको किसान उद्धव राउतले बताए। ‘पहिरोले खेती पुरिएको छ,’ उनले भने, ‘टमाटर, काँक्रा, रायोको साग, हरियो धनियाँ र सिमी बजार पठाउने तयारी हँुदै गर्दा बाढी पहिरोले क्षति पु¥यायो।’

बजार पठाउन तयारी अवस्थामा रहेको ५०० टनभन्दा बढी टमाटर वर्षातका कारण बारीमै कुहिएको राउतको भनाइ छ। गुहबारी क्षेत्रमा मात्रै दैनिक १०० टनभन्दा बढी टमाटार, ५ देखि ७ टन काँक्रा, हरियो धनियाँ र सिमी उत्पादन हुने गर्दछ । 

सिद्धिचरण राजमार्ग हुदै निर्यात हुने गरेको अर्गानिक तरकारी बजार पु¥याउन नसक्दा सातामा करिब २५ लाख रुपैयाँभन्दा बढीको तरकारी नष्ट भएको कटारी नगरपालिका–११ का वडाध्यक्ष दीपक बुढाथोकीले बताए। ‘बारीमा पहिरो र पहिरोबाट बचेको तरकारी समेत निर्यात गर्न नसक्दा किसानले ठूलो घाट व्याहार्नु परेको छ’, उनले भने, ‘फागुन÷चैतमा असिना पानीले करिब १० लाखको नोक्सान भएको थियो, अहिले अविरल वर्षातले करिब २५ लाखको नोक्सानी भएको अनुमान छ।’

यता अविरल वर्षासँगै आएको बाढी पहिरोले त्रियुगा, बेलाका, चौदण्डीगढी, कटारी नगरपालिका, रौतामाई, लिम्चुङबुङ, रौतामाई र ताप्ली गाँउपालिकामा बेमौसमी तरकारीमा क्षति पुगेको जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका प्रमुख सरोजराजकान्त अधिकारीले बताए। 

‘जिल्लाका आठवटै स्थानीय तहमा करिब एक करोड रुपैयाँको तरकारी खेतीमा क्षति पुगेको छ,’ उनले भने, ‘कतै उत्पादन हुन थालेको तरकारीको बोटनै कुहिएको छ, कतै उत्पादिन तरकारी बजार पु¥याउनका लागि सडक अवरुद्ध हुँदा किसानले घाटा व्यर्होनु पर्ने बाध्यता छ।’ ज्ञान केन्द्रका अनुसार बेलका, कटारी नगरपालिका र त्रियुगा नगरपालिकामा तरकारी बालीमा ठूलो क्षति पुगेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.