आलु मात्रै एक अर्ब ३६ करोडको भित्रियो

|

बाँके : नेपालगञ्ज नाकाबाट एक वर्षमै ६ अर्ब रुपैयाँ भन्दा धेरैको चामल भारतबाट आयात भएको छ । कृषिप्रधान देश नेपालमा केही वर्षयता आयात भएको खाद्यसामाग्रीको तथ्यांकले भारतसँग नेपालको निर्भरता बढ्दै गएको देखाएको छ ।

पेट्रोलियम पदार्थ, फलफूल र तरकारी मात्र नभई खाद्यन्नमा पनि नेपाल भारतमा निर्भर हुन थालेको हो। गत आव ०७५÷०७६ मा नेपालगन्ज नाका भएर भारतबाट ६ अर्ब ४७ करोड ७० लाख ६२ हजार ४५३ रुपैयाँको चामल आयात भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले बताए। 

निरौलाका अनुसार आ.व.२०७४÷०७५ मा पाँच अर्व ८५ करोड १८ लाख १४ हजार ३४१ रुपैयाँको चामल आयात भएको थियो। तर गत आ.व.मा एक अर्ब ३६ करोड ९८ लाख ५० हजार ८३७ रुपैयाँको आलु आयात भएको छ।

आ.व. २०७४÷०७५ मा ७७ करोड २७ लाख १२ हजार ११ रुपैयाँ बराबरको आलु आयात भएको थियो । नेपालगन्ज भन्सार कार्यालयका अनुसार, आँप, अम्बा, प्याज, केरा, लसुन आयात पनि बढेको छ । 

आ.व. ०७४÷०७५ मा सात करोड ८८ लाख ७९ हजार ८७० रुपैयाँको प्याज आयात हुँदा गत आवमा ३४ करोड ५६ लाख २० हजार ५८३ रुपैयाँको प्याज आयात भएको छ । 

त्यसैगरि, गत आ.व.मा २९ करोड १३ लाख ३८ हजार ९०४ को केरा, ११ करोड ३४ लाख ६३ हजार ९३६ को आँप र अम्बा तथा तीन करोड ६६ लाख २३ हजार ५१५ को टमाटर भारतबाट आयात भएको छ । 

आ.व. २०७४÷०७५ मा चार करोड ९६ लाख २५ हजार ७६ रुपैयाँको केरा, दुई करोड ६० लाख ४९ हजार ५९९ रुपैयाँको आँप र अम्बा तथा ४४ लाख ६३ हजार ८८५ रुपैयाँको टमाटर भारतबाट आयात भएको भन्सार कार्यालयले जनाएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.