|

बारा : जिल्ला अस्पताल कलैयामा पाँच महिनादेखि शल्यक्रिया सेवा बन्द छ। शल्यक्रिया सेवा बन्द हुँदा सर्वसाधारणलाई महँगो खर्चमा शल्यक्रिया गराउन जिल्लाबाहिर जान बाध्य भएका छन्।

पाँच महिनादेखि कलैया अस्पतालमा निःशुल्क अप्ररेशन सेवा रोकिँदा निकै दुःख भोग्नु परेको बारागढी गाँउपालिका–४ का असर्फी चौधरीले बताए। ‘छोरीलाई सुत्केरी ब्यथा लागेपछि कलैया अस्पतालमा लगेको थिएँ,’ चौधरीले भने, ‘डाक्टरले अपरेसन सेवा बन्द भएको भन्दै वीरगंजस्थित गण्डक होस्पिटलमा रिफर गरिदिए। वीरगंजमा ५० हजारभन्दा बढी खर्च भयो।’

प्रसूतिगृहको भवनको मुल गेटमा ताला लगाइएको छ।५० शय्याको कलैया अस्पतालमा पूर्वाधार राम्रो भए पनि सेवा भने प्रभावकारी हुन सकेको छैन। अस्पतालमा प्रायः प्रसूति सेवा लिन आउने गरेको कलैया अस्पताल विकास समितिका पूर्वअध्यक्ष सचिन्द्र ठाकुरले बताए। यहाँ उक्त सेवा बन्द भएपछि वीरगंजस्थित विभिन्न अस्पतालमा जान बाध्य भएका छन्।

यातायात खर्च नपाएको गुनासो

सुत्केरी हुँदा अस्पतालले उपलब्ध गराउँदै आएको थियो। तर, उक्त रकम नपाएको सर्वसाधरणको गुनासो छ। चार महिनाअघि बुहारी सुत्केरी भए पनि हालसम्म यतायात खर्च पाउन नसकेको कलैया उपमहानगरपालिका–२७ की रजनीदेवी सहनीले गुनासो गरिन्।

यता अस्पतालका प्रमुख त्रिभुवनचन्द्र झाले आमा सुरक्षा कार्यक्रमअन्तर्गत पाउने यतायात खर्च, सोबापत अस्पताललाई पाउने सोधभर्नाको रकम समेत प्रदेश सरकारले नपठाएको बताए। सेवा सञ्चालनका लागि जनशक्ति र रकम पठाउन सम्बन्धित निकायमा पटक–पटक पत्राचार गरे पनि सुनवाइ नभएको प्रमुख झाको भनाइ छ।

उनले अप्रेसनका लागि आवश्यक जनशक्ति अभाव, जेनेरेटर बिग्रिएका कारण पनि सेवा दिन नसकेको प्रष्टीकरण दिएका छन्। अप्ररेशन थिएटरको बिग्रिएको ढोका समेत मर्मत हुन नसकेको उनले बताए। अस्पतालमा विभिन्न समस्या भए पनि गत वर्षको साउनदेखि जेठसम्म. तीन हजार ५०० जनाको नर्मल प्रसूति सेवा दिएको प्रमुख झाले जानकारी दिए।

शल्यक्रियाका लागि दुई नर्स, कार्यालय सहयोगी दुई, शिशु हर्ने एक जना, बेहोस गर्ने एक जना आवश्यक पर्ने प्रमुख झाले बताए। अस्पतालमा अहिले उक्त जनशक्ति अभाव छ। अस्पतालमा ६० जनाको दरबन्दी रहे पनि १९ जना मात्र कर्मचारी रहेको प्रमुख झाले जानकारी दिए।

प्रदेश २ को स्वास्थ्य क्षेत्र हेर्ने क्षेत्रीय निर्देशक प्रमोद यादवले अपरेशन सेवा बन्द भएकोबारे अनभिज्ञता जनाए। ‘मलाई जानकारी छैन,’ यादवले भने, ‘कलैया अस्पतालका प्रमुखसँग जानकारी लिई सेवा चाँडै सञ्चालन गर्ने छौं।’ उनले आमा सुरक्षा भत्ता अस्पतालमा पठाएको बताए। 

औषधि अभाव

बारामा ६ वटा प्राथमिक स्वास्थ्य केन्द्र, ९८ हेल्थपोष्ट र वडाहरुमा रहेका दर्जनौं स्वास्थ्य केन्द्रमा सरकारले निःशुल्क उपलब्ध गराएको औषधि अभाव छ। ती स्वास्थ्य केन्द्रमा जीवनजलसमेत नपाएपछि निजी क्लिनिकबाट खरिद गर्न बाध्य हुनुपरेको सेवाग्राहीको गुनासो छ।

औषधिको अभाव भएपछि सेवाग्राहीहरु समस्यामा परेको स्वास्थ्य केन्द्र सिमराकी डा. प्रमा रश्मीले बताइन्। सरकारले ७० प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने भने पनि आफुहरुसँग १६ प्रकारको औषधि मात्र उपलब्ध रहेको थप औषधीका लागि पटकपटक ताकेता गर्दा पनि नपठाएको उनको भनाइ छ।

स्वास्थ्य केन्द्रमा गर्मी याममा धेरै आउने लुतो, चिलाउने, झाडापखाला, रुघाखाकी, कमजोरी हुने लगाएतका बिरामीहरु दैनिक १०० भन्दा बढी आउने गरेका छन्। 

जिल्लाका स्वास्थ्य केन्द्रहरुले औषधि माग गर्दा पनि कतिपय तहमा औषधि खरिद प्रकृयामा समेत नगएको र कतिपय तहमा स्वास्थ्य संयोजक नरहेको, स्थानीय तहका प्रमुखहरुको भूमिका फितलो भरहेको पाइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.