|

जनकपुरधाम : जनकपुरधामको जानकी मन्दिर विश्व प्रसिद्ध छ। विडम्बना हालसम्म विश्व सम्पदाको सूचीमा पर्न सकेका छैन। नेपाल सरकारले विश्व सम्पदाको सूचीका लागि आवश्यक कार्यअगाडि बढाएकै बेला प्रदेश सरकारले सौन्दर्यीकरणको नाममा मनपरी गर्न थालेको छ।

मुख्यमन्त्री लालबाबु राउतले गत मंसिर १३ गते सौन्दर्यीकरणको शिलान्यास गरे। त्यसको तीन महिनापछि सुरु भएको सौन्दर्यीकरणको काम तीव्र गतिमा भइरहेको छ। सयौं कामदार खटिरहेका छन्। विश्व सम्पदाको सूचीमा पार्न मौलिक र पुरातत्त्व संरचना नै हुनुपर्छ। तर, मन्दिरमा आधुनिकीकरणको कार्य भइरहँदा विश्व सम्पदाको सूचीमा नपर्ने खतरा बढेको छ।

मन्दिरमा बिहानैदेखि श्रद्धालु भक्तजनको भीड लाग्छ। दैनिक सयौँ आन्तरिक र बाह्य पर्यटक जानकी मन्दिरमा दर्शन गर्छन्। यसरी भिडभाड रहने जानकी मन्दिर यतिबेला अस्तव्यस्त देखिन्छ। मन्दिर परिसरमा जताततै बालुवा, गिट्टी, छड, होमपाइप राखिदा कुरूप झै देखिन थालेको छ।

प्रदेश सरकारले सौन्दर्यीकरणका लागि ८ करोड बजेट छुट्याएको थियो। तर, ७ करोड २१ लखमा ठेक्का लागेको छ। असार मसान्तमै कार्य सम्पन्न गर्नुपर्नेमा अहिलेसम्म आधा काम पनि पूरा भएको छैन। सोही कारण ठेकेदार हतारहतारमा काम गरिरहेका छन्।

कामबारे महन्थ नै अनभिज्ञ

प्रदेश सरकारले मन्दिरको सौन्दर्यीकरण काम गरिरहे पनि महन्थ राम तपेश्वर दास ‘वैष्णव’ नै अनभिज्ञ छन्। कसले ठेक्का लिएको र कस्तो मापदण्ड पालना गर्नुपर्ने विषयमा पनि महन्थ दास बेखबर छन्। प्रदेश सरकारले सल्लासमेत महन्थसँग गरेका छैन।

महन्थ दासले काम गुणस्तरहीन भइरहेको थाहा पाएपछि ठेक्का कसले लिएको विषयमा सोधखोज गरेपनि पत्ता नलागेको गुनासो पोखे। उनले भने, ‘गुणस्तरहीन काम भइरहेको बारे सिडिओ साहेबलाई समेत खबर गरेको छु। तर, अहिलेसम्म कसैले चासो लिएका छैन।’ मनपरी किसिमले काम गर्दा मन्दिर जोखिममा परेको उनको भनाई छ।

चुहिन थाल्यो मन्दिर

वर्षामा जानकी मन्दिर चुहिन थालेको छ। मन्दिरको दक्षिण पट्टीबाट ठाउँ ठाउँमा मन्दिर चर्केको छ। सयौं वर्ष पुरानो मन्दिर जीर्ण बनेर चुहिन थालेको र पछिल्लो पटक ०७२ सालमा आएको भूकम्पले पनि असर परेको महन्थ दासको भनाई छ।

अहिले सौन्दर्यीकरणको कामले पनि मन्दिरमा असर परिरहेको छ। मन्दिरमा एकसाथ ५/७ कामदारले ड्रिलले काम गर्दा मन्दिर नै हल्लिने गरेको महन्थ दास बताउँछन्। उनी भन्छन्, ‘८/१० दिन लगातार वर्षा हुँदा मन्दिर चुहिन्थ्यो। तर, यस वर्ष ३ दिनकै वर्षामा अति नै चुहियो। त्यही ड्रिलकै कम्पन्नले मन्दिरमा असर परेको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.