अब सम्झौता तोडिने लाइनमा पप्पु

|

पर्सा : कार्यसम्पादन गर्ने धक्कु लगाउँदै पर्सा, बारा र रौतहटमा विभिन्न योजना सम्झौता गरी अलपत्र पार्ने ६ वटा निर्माण कम्पनीसँगको सम्झौता तोडिएको छ। योजना निर्माणको सम्झौता गरेर नेपाल सरकारको योजनासमेत अलपत्र पार्ने निर्माण कम्पनीमध्ये ६ वटालाई शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय पर्साले सम्झौतै तोडिदिएको हो।

मध्य तराईका पर्सा, बारा र रौतहट तीन जिल्ला हेर्ने आयोजना कार्यालय पर्साले निर्माण कम्पनीलाई पटक–पटक मौखिक र लिखित सुझाव, आदेश र आग्रह गर्दासमेत काम सक्नभन्दा आयोजना कार्यालयको आग्रहलाई उल्टै लल्कार्दै हिँडेपछि बाध्य भएर गएको असार २३ गते नै सम्झौता तोडिएको सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय पर्साले जनाएको छ।

ती निर्माण कम्पनीले सार्वजनिक खरिद ऐन २०६४, सोको नियमावली २०६४ र निर्माण व्यवसायीले खरिद सम्झौताबमोजिम कार्य सम्पादन नगरेमा ठेक्का तोडी कालो सूचीमा राख्ने र वैकल्पिक उपायबाट कार्य सम्पन्न गराउने विभागीय कार्यविधि २०७१ बमोजिम ठेक्का तोड्ने निष्कर्षमा निर्माणको ठेक्का सम्झौता तोडिएको सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय पर्साका प्रमुख राजेन्द्र खतिवडाले बताए।

सम्झौताअनुसारको काम सक्न म्याद थपदेखि विभिन्न प्रकृया अपनाई अनुनय विनय गर्दा पनि निर्माण कम्पनीले वास्ता नगरेपछि प्रक्रियागत ढंगबाट निर्माणको ठेक्का सम्झौता तोडिएको उनले तर्क गरे।

सम्झौता तोडिएका कम्पनी :

ठेक्का सम्झौता तोडिने निर्माण कम्पनीमा स्वस्तिक श्रीविनायक कन्स्ट्रक्सन कम्पनी प्रालि., अजम्बर⁄शिवराम कन्स्ट्रक्सन जेभी दोलखा, शिवराम कन्स्ट्रक्सन कम्पनी प्रालि. दोलखा, र टौदह कन्स्ट्रक्सन चाल्नाखेल काठमाडौं रहेको कार्यालय प्रमुख खतिवडाले बताए। ती कम्पनीमध्ये स्वस्तिक श्रीविनायकले पर्साको भेडिहारीमा उपस्वास्थ्य चौकीको भवन, अजम्बर⁄शिवरामले रौतहटको जिंगडवा वेलपिछ्वा स्वास्थ चौकीको भवन र पर्साको शंकरसरैया स्वास्थ चौकीको भवन तथा पटेर्वा सुगौली स्वास्थ चौकीको भवन निर्माण गर्न सम्झौता गरेको थियो।

त्यसैगरी, शिवराम कन्स्ट्रक्सनले पर्साको सम्भौता स्वास्थ चौकीको भवन र टौदह कन्स्ट्रक्सनले बारा कलैयाको ४ परिवार स्टाफ क्वाटरको भवन निर्माणको सम्झौता गरी निर्माण कार्य अलपत्र छाडेको थियो। पटक–पटकको म्याद थपपछि पनि कार्य सम्पन्न नगरेपछि सम्झौता नै तोडिएको आयोजना कार्यालयले जनाएको हो।

अब सम्झौता तोडिने लाइनमा पप्पु

विभिन्न निर्माणका योजना सम्झौता गरी रुग्ण आयोजनाको सूचीमा शहरी विकास तथा भवन निर्माण विभागको समग्र छवि धमिल्याउने निर्माण कम्पनीमध्ये पप्पु कन्स्ट्रक्सन पनि सम्झौता तोडिने निर्माण कम्पनीहरूको लाइनमा चाहेको छ।

सम्झौताअनुसार कुनै पनि निर्माण कम्पनीसँगको समझौता तोड्न नपरोस् भन्ने भएपनि निर्धारित समयमा काम पूरा नगर्ने, लिखित र मौखिक सुझाव दिँदा पनि आलटाल गर्ने र आयोजना कार्यालयको कार्य सम्पादनमाथि नै प्रश्न चिन्ह खडा गर्ने खालका काम भए आयोजना कार्यालय चुप नबस्ने कार्यालयको दावी छ।

'कार्यालयको आग्रहलाई नमानी विगतमा पनि मुलुकमा बद्नाम निर्माण कम्पनी भनी चर्चा पाएको पप्पु कन्स्ट्रक्सन प्रालिसँग पनि निर्माणका लागि सम्झौता भएका छन्। त्यो सम्पन्न गर्नेमा भने विश्वस्त हुने ठाउँ कमै छ। तथापि उसलाई अन्तिम म्याद दिएको छ। सो म्यादभित्र काम पूरा नभए लगत्तै पप्पु कन्स्ट्रक्सनसँगको पनि निर्माणको जिम्मा तोडिनसक्छ' कार्यालय प्रमुख खतिवडाले भने 'हाम्रो चाहना भनेको कसैसँगको पनि सम्झौता तोड्न नपरोस भन्ने नै हो। अन्तिममा केही नलागे पनि कानूनी राज्यको पालना गर्न त सामान्य प्रक्रिया अवलम्बन गर्नु पर्ने हुन्छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.