सभामुख महराको निर्णय क्षमतामा नै ह्रास : मिन विश्वकर्मा

|

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेपालको संसदीय इतिहासमै अहिलेकोजस्तो कमजोर प्रतिपक्षी कहिल्यै नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई निकम्माको संज्ञा दिएका छन्। आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले प्रतिपक्षी दल कमजोर भएको बताएका हुन्।

‘मैले अहिलेकोजस्तो कमजोर प्रतिपक्षी दल कहिल्यै पनि थिएन्। म त भन्छु प्रतिपक्षी दल निकम्मा भयो। कांग्रेससँग कुनै तर्क र आधार छैन्’ उनले भने, ‘तर्कसर्क केही छैन बन्द भन्यो भैगयो । सत्तापक्षका सांसदले कुरा उठाएपछि मात्रै कांग्रेसले विरोध गर्छ ।’

रायमाझीले तत्काल मन्त्रिमण्डल पनि पुनर्गठन नहुने जिकिर गरे। उनले तत्काल प्रधानमन्त्री परिवर्तन गर्नेबारे पार्टीभित्र कुनै छलफल तथा बहस नचलेको पनि स्पष्ट पारे ।

रायमाझीले दुई वटा बेग्ला–बेग्लै पार्टी मिलेर नेकपा बनेकोले पार्टीभित्र केही विरोध तथा अन्तरहरु हुनु स्वभाविक भएको स्पष्ट पारे। पार्टीलाई सही दिशमा अघि बढाउनको लागि ‘रोडम्याप’ पनि तयार भइरहेको  उनले बताए।

रायमाझीले तत्काललाई पार्टीभित्र ६०–४० वा ५५–४५ को जस्तो देखिए पनि यसले निरन्तरता नपाउने जिकिर गरे। उनले भने, ‘पार्टी व्यक्तिवादी चरित्रले चल्दैन्।’ वर्तमान सरकार विगतकोजस्तो पूरानो सरकार नभएको जिकिर गर्दै अब विकास र समृद्धिको लक्ष्य हाँसिल गर्नेगरि द्रुत गतिमा काम गर्नुपर्ने उनको सुझाव थियो।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मिनबहादुर बिश्वकर्माले साउन ८ गतेको संसद बैठक चल्ने वा नचल्ने भन्ने कुरा सभामुख कृष्णबहादुर महराको भूमिकामा निर्भर पर्ने स्पष्ट पारेका छन्।

उनले भने, ‘साउन ८ गतेको संसद बैठक चल्ने वा नचल्ने भन्ने कुरा सभामुखको भूमिकामा भर पर्छ। प्रतिनिधिसभाको नियमावाली छ। यसको व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्छ । सभामुखको भूमिका ढंगले चलेको छैन्। त्यही भएर बैठक स्थगित भएको हो। राष्ट्रियसभाका अध्यक्ष नियमावालीअनुसार चल्नुभएको छ। त्यही भएर बैठक चलिरहेको छ।’

सांसद विश्वकर्माले संसद बैठक स्थगन् गर्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे। उनले सभामुख महराको निर्णय क्षमतामा नै ह्रास आएको टिप्पणी गरे। सरकारले अहिले दिनैपिच्छे प्रतिपक्षी दललाई एउटा एउटा मुद्दा दिएको सुनाए।

उनले भने, ‘सरकार एकपछि अर्को गरेर विवादमा फसेको छ। जनअपेक्षाअनुसार काम गर्न सकेको छैन्।’ विषादी प्रकरणमा वर्तमान कृषिमन्त्री चक्रपाणी खनालले देश र जनतालाई ढाँटेको उनको आरोप छ।

कांग्रेसका भातृसंगठन र शुभेच्छुक संघ–संस्थाले अनुशासन मान्न नहुने भनेर केही साथीहरूले वकालत गरेको सुनाउँदै त्यसलाई उनले हाँस्यस्पदको संज्ञा दिए। उनले पार्टीको लेबी र शुल्क लिने विषयमा पनि केही साथीहरुले धेरै भयो भनेर तर्क गरेकोमा नियतमाथिको प्रश्न भएको धारणा राखे। उनले भने, ‘कांग्रेस पदाधिकारीले मासिक ६ सय तिर्नुपर्ने कुरा के बढी हुन्छ? यो त नियतमा प्रश्न हो। यो त पार्टीभित्रको प्रतिपक्षी नियत हो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.