उपचारमा ठूलो खर्च, एनजीओ र ने का नेताहरु पनि पाउनेको सूचिमा

|

काठमाडौं : सरकारले आर्थिक २०७५/७६ मा विभिन्‍न व्यक्ति र संस्थालाई साढे १३ करोड रुपैयाँ बाँडेको छ। मन्त्रिपरिषदबाट स्वीकृति गराएर ११ महिनामा आर्थिक सहायताको नाममा केपी ओ‌ली नेतृत्वको सरकारले गृह मन्त्रालय लगायतका निकायबाट रकम बाँडेको हो। 

विशिष्ठ व्यक्ति, मन्त्री, पूर्वमन्त्री र नेतालाई समेत उपचार खर्चका नाममा ठूलो आर्थिक सहायता बाँडिएको हो। विभिन्‍न जिल्लाका नेताहरूको सिफारिसअनुसार ४८ जना भन्दा धेरैलाई एक लाख देखि ३० लाख रुपैयाँसम्म आर्थिक सहयता उपलब्ध गराएको अर्थमन्त्रालयको विवरणमा देखिएको छ। 

गत आर्थिक वर्षमा सरकारले १३ करोड ४१ लाख  ४७ हजार ९५६ रुपैयाँ विभिन्‍न व्यक्तिलाई वितरण गरेको छ। प्रदेश र स्थानीय तहको निर्वाचन बिथोल्न खोज्नेदेखि ठुला नेताको नाममा समेत पैसा बाँडिएको हो।

सबैभन्दा धेरै नेताहरूको सिफारिसमा कार्यकर्तालाई रकम वितरण गरिएको छ। उपचार खर्च र मृतकका परिवारलाई पनि सहयता उपलब्ध गराइएको छ। विश्‍वविद्यालयको सम्मेलनदेखि कतिपय संस्थालाई रजतयन्ती मनाउन  पनि लाखौँ रकम बाँडिएको छ। विभिन्‍न शीर्षकमा राखिएको खर्चबाट सरकारले ठूलो रकम उपलब्ध गराएको हो। यो सरकारले अघिल्ला सरकारहरुले जस्तै आर्थिक सहयताको नाममा आफ्ना आसेपासे संस्था र व्यक्तिहरुलाई पैसा बाँडेको अर्थको रेकर्डमा देखिएको छ।

माथिल्लो तहका नेताहरुले पनि उपचारका लागि भन्दै केही लाख रुपैयाँ बुझेको देखिएको छ। व्यक्तिको हकमा सरकारले ६ हजारदेखि ३० लाख रुपैयाँसम्म वितरण गरेको छ। त्यस्तै संस्थानका लागि एक करोड रुपैयाँसम्म वितरण गरिएको छ। 

उपचारमा ३ करोड

करिब साढे करोड रुपैयाँको  २५ प्रतिशत उपचार गर्न निकासा गरिएको छ । उपचाको नाममा एकै व्यक्तिका लागि ९० हजारदेखि अधिकतम ३६ लाख रुपैयाँसम्म बाँडिएको छ। त्यस्तै विभिन्‍न आन्दोलनका घाइतेलाई पनि उपचार खर्च बाँडिएको छ। सकारकारी कर्मचारी र विशिष्ठ व्यक्तिलाई पनि सरकारले उपचार खर्चका नाममा पैसा बाँडेको छ।

बिमा गरेर भविष्यमा हुने जोखिम बहन गर्न सर्वसाधारणलाई आग्रह गर्दै आए पनि माथिल्लो तहमा काम गर्नेहरूले उपचारका लागि राज्यकोषको दोहन गरेको देखिएको छ। बहालवाला मन्त्रीहरूले समेत उपचार खर्चका नाममा एक लाख रुपैयाँ पनि लिएको भेटिएको छ।

नेतालाई उपचार खर्च, कसलाई कति?

उपचारका लागि खर्च भएको रकममध्ये विशिष्ठ, मन्त्री र पूर्वमन्त्रीको नाममा ३० प्रतिशत खर्च भएको देखिएको छ। सरकारले  सुदुरपश्चिम प्रदेशका प्रमुख मोहनराज मल्लको उपचारका लागि सबैभन्दा धेरै रकम उपलब्ध गराएको छ। उनको उपचारका लागि सरकारले ३६ लाख ३६ हजार ८४७ रुपैयाँ निकासा गरेको छ।

पूर्वमन्त्री तथा कांग्रेस नेता नरहरि आचार्यको उपचारको लागि सरकारले ३३ लाख ६१ हजार ५४५ रुपैयाँ खर्च भएको छ। पूर्वमन्त्री रामकृष्ण ताम्राकारलाई उपचारका लागि सरकारले २५ लाख रुपैयाँ दिएको छ। राष्ट्रकवि माधवप्रसाद घिमिरेको उपचारमा १४ लाख ९८ हजार आर्थिक सहायता उपलब्ध गराइएको अर्थको रेकर्डमा छ। 

सरकारले बहालवाला उद्योग वाणिज्य मन्त्री मातृका प्रसाद यादवलाई पनि उपचार खर्च दिएको छ। उनलाई उपचारका लागि भन्दै सरकारले एक लाख १३ हजार रुपैयाँ उपलब्ध गराएको हो।

त्यसैगरी पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको उपचारमा १० लाख रुपैयाँ उपलब्ध गराइएको छ। गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीको उपचारका लागि सरकारी कोषबाट ७ लाख ७९ हजार रुपैयाँ सहायता दिइएको छ। पूर्वराष्ट्रपति रामवरण यादवको उपचारमा पनि सरकारले २ लाख रुपैयाँ सहायता दिएको छ। 

 

मृतकका परिवालाई ६५ लाख

नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले विभिन्‍न आन्दोलन र अन्य कारणले मृत्यु भएका परिवारका आफन्तको नाममा ६५ लाख रुपैयाँ निकासा गरेको छ।

बलात्कारपछि हत्या गरिएकी कञ्‍चनपुरको उल्टाखामकी निर्मला पन्तका परिवारलाई १० लाख रुपैयाँ दिइएको छ। सर्लाहीमा निर्माण सामग्री  निकाल्दा बनाइएको खाल्डोमा डुबेर मृत्यु भएपछि गरिएको आन्दोलनमा घाइते सरोजनारायण यादवलाई १० लाख रुपैयाँ उपलब्ध गराइएको अर्थको रेकर्डमा छ। मृतकका परिवारहरूलाई दुई लाख देखि १० लाख रुपैयाँसम्म सरकारी कोषबाट उपलब्ध गराइएको भेटिएको छ। 

रोहण गुरुङ र ध्रुव शिवाकोटीलाई ३०-३० लाख

झापाको विर्तामोड नगरपालिकाका प्रुमख ध्रबुकुमार शिवाकोटीलाई सकारले ३० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ। आन्दोलनको क्रममा हानिएको ढुंगाले घरको झ्यालको शिशा फुटेकै कारण उनलाई त्यति ठुलो आर्थिक सहायता उपलब्ध गराइएको हो। उनी तत्कालीन नेकपा एमालेबाट निर्वाचित मेयर भएका हुन्। उनले रकम नलिने घोषणा गरे पनि अर्थमन्त्रालयले निकासा गरेको देखिएको छ।

त्यस्तै वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङलाई पनि सरकारले ३० लाख रुपैयाँ उपलब्ध गराएको छ। उनको घरमा विप्लव समूहका कार्यकर्ताले बम विष्फोट गराएका थिए। त्यहीकारण उनलाई सहयोगस्वरुप ३० लाख रुपयाँ उपलब्ध गराइएको हो। उपचार खर्चबाहेक व्यक्तिगत सहायता उनीहरूलाई सबैभन्दा धेरै दिइएको हो।

सांसदलाई पनि सहयाता 

पूर्व सांसद टुकराज सिग्देललाई सरकारले आर्थिक सहायता उपलब्ध गराएको छ। तत्कालीन एमालेबाट निर्वाचित उनलाई सरकारले १० लाख रुपैयाँ सहायता उपलब्ध गराएको हो। विशेष गरी नेताहरूको नाममा उपचारका लागि सरकारले ठूलो रकम खर्च गर्ने गरेको छ। उनलाई पनि उपचारका लागि १० लाख रुपैयाँ दिइएको हो। 

एनजिओलाई एक करोड, आमा घरलाई ५० लाख

सरकारले राष्ट्रिय-अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको अनुदानमा चलेका संस्थाहरूलाई पनि आर्थिक सहायता उपलब्ध गराएको छ। यसमध्ये आमाको घर  संस्थालाई ५० लाख रुपैयाँ उपलब्ध गराइएको छ। एचआइभी शिक्षा सदन र मानव सेवा घरलाई एक/एक करोड रुपैयाँ आर्थिक सहायता उपलब्ध गराइएको छ। 

विश्‍वविद्यालयको अन्तरक्रियालाई ३० लाख

एसिया गुठी र काठमाडौं युनिभर्सिटी अफ स्कुलले गरेको एक सम्मेलनका लागि सरकारले ३० लाख रुपैयाँ उपलब्ध गराएको छ। यी दुई संस्था मिलेर नेपालको संविधान २०७२ नामक अन्तर्राष्ट्रिय सम्मेलन गरेका थिए। 

रजतजयन्ती मनाउन २० लाख

धनी पेशाकर्मी मानिने कानुन व्यवसायीले पनि सम्मेलनका नाममा सरकारबाट पैसा लिएका छन्। कानुन व्यवसायीको रजत जयन्तीको लागि सरकारले २० लाख रुपैयाँ उपलब्ध गराएको हो। कानुन व्यवसायीको छाता संगठन नेपाल वार एसोसियसन २०७५ सालमा २५ वर्ष पुरा गरेको थियो। सरकारले २०७५ पुस महिनामा नेपाल बारलाई २० लाख रुपैयाँ निकासा गरेको हो। 

कुन महिनामा कति निकासा

२०७६ असार : एक करोड १५ लाख ६९ हजार

२०७६ जेठ:  १४ लाख ५० हजार

२०७६ वैशाख: तीन करोड ४७ लाख ९० हजार

२०७५ चैत :१ करोड ५१ लाख

२०७५ फागुन : १ करोड २१ लाख

२०७५ माघ : ६९ लाख ९५ हजार

२०७५ पुस : २ करोड ३३ ला

२०७५ मंसिर : एक करोड दुई लाख

२०७५ कात्तिक : १० लाख

२०७५ असोज : सहायता छैन

२०७५ भदौ : एक करोड ८० लाख

२०७५ साउन : ९८ लाख ५१ हजार 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.