यी हुन् सुदूरपश्चिम प्रदेशका इन्चार्ज र सहइञ्चार्ज

|
फाइल फोटो

धनगढी : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले  जिल्ला इन्चार्ज र सहइन्चार्जको टुंगो लगाएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले इन्चार्ज–सहइन्चार्जको टुङ्गो लगाएको हो।

सुदूरपश्चिमका नौ वटा जिल्लामा पूर्वएमालेका तर्फका पाँच जनाले जिल्ला इन्चार्जको जिम्मेवारी पाएको छन्।  बाँकी चार जिल्लाको जिम्मेवारी पूर्व माओवादीले पाएको छ। प्रदेशमा कुनै जिल्लामा सातजना सहइन्चार्ज भएका छन् भने कुनै जिल्लामा एकजना पनि छैनन् । कैलालीका सात जनाले सहइञ्चार्जको जिम्मेवारी पाएका छन्। दार्चुलामा भने एक जना पनि सहइञ्चार्ज छैनन्।

मुख्यमन्त्री भट्ट जिम्मेवारीविहीन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट भने जिम्मेवारीविहीन भएका छन्। दोहोरो जिम्मेवारी नलिने बताएपछि उनी जिम्मेवारी विहीन भएका हुन्। ‘मुख्यमन्त्रीलाई डोटीको इन्चार्ज हुन भनिएको थियो तर, उहाँले दोहोरो जिम्मेवारी लिन चाहनु भएन’ भट्टका स्वकीय सचिव शिव बताए। सुदूरपश्चिम प्रदेश सरकारका दोस्रो वरियताका मन्त्री प्रकाशबहादुर शाहले भने बाजुराको सहइन्चार्जको जिम्मेवारी लिएका छन्।

छिमेकी कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालिकोट जिल्लाको जिम्मेवारी लिएका छन्। गण्डकी र प्रदेश ५ का मुख्यमन्त्रीहरू पृथ्वीसुव्वा गुरुङ र शंकर पोखरेल यसअघि नै प्रदेश इन्चार्ज भइसकेका छन्।

कहाँ को इन्चार्ज र सहइञ्चार्ज

कैलालीका इन्चार्जको जिम्मेवारी तत्कालीन माओवादीले पाएको छ। सुदूरपश्चिम प्रदेशमै सबैभन्दा धेरै निर्वाचन क्षेत्र रहेको कैलालीमा तत्कालीन माओवादीकी रुपा चौधरी इन्चार्ज भइन्। उनी सत्तारुढ दल नेकपा सुदूरपश्चिम प्रदेश कमिटी सचिव रहेका नेप बहादुर चौधरीकी श्रीमती हुन्। उनी पूर्वसंविधान सभा सदस्य पनि हुन्।

कैलालीमा पूर्वएमालेमा मदनकुमारी शाह (गरिमा), झपटबहादुर रावल, नारदमुनी राना, महेश्वर पाठक र पूर्व माओवादीका वीरमान चौधरी लिलाकुमारी भण्डारी र हरिनारायण चौधरीले सहइञ्चार्जको जिम्मेवारी पाएका छन्।

शाह प्रतिनिधि सभामा कैलाली क्षेत्र नम्बर १ पराजित भएकी उम्मेदवार हुन्। उक्त  क्षेत्रबाट राजपाका रेसम चौधरी निर्वाचित भएका थिए। रावल प्रतिनिधिसभामा कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन्। राना कैलाली क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद हुन्। उनले कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री देउवाकी पत्नी आरजु राणा देउवालाई पराजित गरेका थिए।

चौधरी प्रदेश सभा सदस्य हुन्। पाठक तत्कालीन एमालेका तर्फबाट दोस्रो संविधान सभामा शेरबहादुर देउवासँग चुनावमा होमिएका थिए। भण्डारी पहिलो संविधान सभामा कैलाली क्षेत्र नम्बर ६ वाट निर्वा्चित भएकी थिइन्। उनी पूर्व राज्य मन्त्री पनि हुन्। चौधरी राष्ट्रिय सभा सदस्य हुन्।

कञ्चनपुरमा विक्रम शाही इन्चार्ज भएका छन्। कञ्चनपुरमा पनि पाँचजना सहइञ्चार्ज भएका छन्। कञ्चनपुरमा देवीलाल चौधरी, निरुदेवी पाल राजेन्द्र रावल रामकुमार ज्ञवाली र लालबहादुर विश्वकर्मा सह इन्चार्ज हुनु भएको छ।

कञ्चनपुरमा इन्चार्जको जिम्मेवारी पाएका शाही २०६४ सालमा काँग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग पराजित भएका थिए। उनी पूर्व एमालेका हुन्। सहइञ्चार्जको जिम्मेवारी पाएका चौधरी पूर्व संविधान सभा सदस्य हुन्। उनी पूर्व माओवादी हुन्। पाल प्रतिनिधिसभा सदस्य हुन्।  रावल दोस्रो संविधानसभामा रमेश लेखासँग पराजित भएका उम्मेदवार हुन्। विश्वकर्मा पूर्वराज्य मन्त्री हुन्। पाल, रावल र विश्वकर्मा तीनै जना पूर्व एमालेका हुन्।

डोटीमा  प्रेमबहादुर आले इन्चार्ज भएका छन् । उनी प्रतिनिधि सभा सदस्य हुन्। सहइन्चार्जको जिम्मेवारी गौरी ओली पाएकी छन्। उनी पूर्व संविधानसभा सदस्य हुन्। डोटी इन्चार्ज र सहइञ्चार्ज दुवै पूर्व एमालेले पाएको छ।

डडेल्धुरामा खगराज भट्ट इन्चार्ज भएका छन्। उनी पूर्वमाओवादी हुन्। भट्ट लगातार तेस्रो पटकसम्म कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग पराजित भएका थिए। निरादेवी जैरु सह इन्चार्ज भएकी छन् उनी प्रतिनिधि सभा सदस्य हुन्। उनी तत्कालीन एमाले हुन्।

बाजुरामा लालबहादुर थापा इन्चार्ज र प्रकाशबहादुर शाह सह इन्चार्ज भएका छन्। थापा प्रतिनिधिसभा सदस्य हुन् भने शाह सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री हुन्। दुवै तत्कालीन एमाले हुन्।

अछाममा तारामान स्वार इन्चार्ज भएका छन् भन् शरदसिंह भण्डारी सह इन्चार्ज भएका छन्। स्वारका पुराना नेता हुन् भने भण्डारी पूर्व संविधानसभा सदस्य हुन्। दुवै पूर्व माओवादीका हुन्।

बैतडीमा नरेन्दबहादुर कुँवर इन्चार्ज भएका छन्। पुरनसिह दयाल तथा रेणु चन्द सह इन्चार्ज भएका छन्। कुँवर पूर्वमाओवादीका हुन्। सहइञ्चार्ज मध्ये चन्द पूर्वमाओवादी हुन् भने दयाल पूर्वएमाले हुन्। दुवै पूर्वसंविधान सभा सदस्य हुन्।

बझाङमा भैरवबहादुर सिंह इन्चार्ज भएका छन्। सह इन्चार्ज  देवराज रेग्मी भएका छन्। सिंह प्रतिनिधि सभा सदस्य हुन् । उनी पूर्व एमाले हुन्। रेग्मी पूर्व माओवादी हुन्। उनी दुवै संविधानसभा सदस्यमा पराजित भएका थिए।

दार्चुलामा गणेश ठगुन्ना इन्चार्ज तोकिएका छन्। उनी प्रतिनिधि सदस्य हुन्। उनी पूर्व एमालेका हुन्। दार्चुलामा सह इन्चार्जमा अझै सहमति हुन सकेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.