|

भक्तपुर : महानगरिय प्रहरी वृत्त थिमिले चोरी र लुटपाटमा संलग्न १० जनालाई पक्राउ गरेको छ। जिल्लाको विभिन्न स्थानबाट मोटरसाइकल, मोबाइल चोरी गर्ने र सार्वजनिक यातायातमा यात्रुको झोला लुटेर फरार १० जनालाई पक्राउ गरेको हो।

प्रहरीले मध्यपुर थिमि ९ राधेरोधबाट नक्कली सवारी दर्ता किताब र चोरीको मोटरसाइकलसहित ४ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको चौतारा नगरपालिका–५ बस्ने १९ वर्षीय बालकृष्ण विश्वकर्मा, सिन्धुपाल्चोककै तिमाल गाउँपालिका–५ का १९ वर्षीय राकेश लामा, तिमाल–९ का २१ वर्षीय फुर्साङ लामा र २४ वर्षीय दावा लामा रहेका छन।

उनीहरूले गत असार ८ गते मध्यपुर थिमि १ का अजितकुमार साहको स ८ प ६८५२ नं. को मोटरसाइकल चोरी गरी सो मोटरसाइकलको नक्कली सवारी दर्ता किताबसमेत बनाई चलाइरहेको अवस्थामा पक्राउ गरिएको हो।

त्यसैगरी, मध्यपुर थिमि–१ लोहकिल्थलीस्थित सुरेश चौधरीको बा ७ प ५४७१ न.को मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई महानगरीय प्रहरी वृत्त थिमीको टोलीले पक्राउ गरेको छ। गत असार ३० गते हराएको सो मोटरसाइकलसहित उदयपुर गाइघाट घरभई हाल ललितपुर टिकाथली बस्ने १९ वर्षीय दीपक थापा मगर र सिन्धुपाल्चोक तौथली घर भई हाल टिकाथलीमै बस्ने २१ वर्षिय कुमार नेपालीलाई पक्राउ गरेको हो।

त्यस्तै, प्रहरीले मोबाइल चोरी गर्ने समूहका ३ जनालाई मध्यपुर थिमि–१, लोहकिल्थलीबाट शनिबार पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा रामेछापको मन्थली नगरपालिका–१ बस्ने २२ वर्षीय अमित कार्की र २० वर्षीय लक्ष्मण थापा रहेका छन्। उनीहरूले लोहकिल्थली र धुन्चेपाखाबाट मोवाइल चोरी गरेको प्रहरीले जनाएको छ।

प्रहरीले सार्वजनिक यातायातमा लुटपाट गरेको अभियोगमा ओखलढुङ्गाको चम्पादेवी–१ बस्ने २१ वर्षीय गोपाल कार्कीलाई पक्राउ गरेको छ। कार्कीले शनिबार मध्यपुर थिमि ४ क्षयरोग केन्द्र नजिक बा १ ख ८९१० न.को गाडीमा यात्रुको झोला लुटपाट गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई कानुनबमोजिम कारवाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.