|

पाँचथर : जिल्लाको फाल्गुनन्द गाउँपालिका ३ पाङ्ग्रे भीरमा खसेको पहिरोका कारण अबरूद्ध मेची राजमार्ग खुलाउन सकिएको छैन।

बिहीबारदेखि नै पहिरो झरिरहेको र झरेको पन्छाउँदा पनि फेरि झर्ने अवस्था रहेकाले अबरूद्ध राजमार्ग खुलाउन नसकिएको हो। पहिरो पन्छाउन भन्दै पहिरोग्रस्त क्षेत्रमा स्काभेटर, लोडर लगायतका सामान पुर्‍याइएको छ। तर अलिकति पन्छाउने बित्तिकै पहिरो झर्ने गरेको छ। 

पहिरोग्रस्त क्षेत्रमा पाखा नै बगेर झर्ने अवस्था पनि देखिन्छ। यसले गर्दा राजमार्ग खोल्न समस्या देखिएको पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले बताए। ‘पहिरो गएको क्षेत्रमा आंशिक सडक खोलिएको छ। आइतबार दिउँसो पानी परेन भने एकातर्फी सवारी आवात-जावत गर्ने गरी सडक खोल्न सकिन्छ होला’ उनले भने, ‘अब दशैंसम्म पहिरो झरिरहने समस्या देखिने भएकोले पहिरो तत्काल पन्छाए पनि मेसिन एउटा राख्नु पर्ला।’

पहिरोका कारण सवारी आवातजावत नभएपछि यात्रुले सास्ती खेप्नु परेकाे छ। पहिरो गएको क्षेत्र नजिकदेखि हिँडेर जोखिम मोल्दै खोला तरेर इलाम, झापा, मोरङसँगै काठमाडाैं जाने सवारी भेट्न करिब २० मिनेट हिड्नु पर्ने अवस्था छ।

खोला क्षेत्रमा घरिघरी पहिरोका कारण झरेको ढुँगा गुड्केर आइपुग्ने गरेको छ। जोखिमपूर्ण उक्त क्षेत्रमा यात्रुहरूलाई सचेत गराउन भन्दै प्रहरी नै परिचालन गरिएको छ। यसअघि भने पहिरो खसेर सडक अबरूद्ध नहुँदा दैनिक सयौं यात्रुबहाक र मालबहाक सवारी उक्त सडक हुँदै आवातजावत गर्दै आएको थियो। तर पहिरोले गर्दा सडक अबरूद्ध भएपछि ठप्प छ।

तराइका जिल्लासँगै भारतीय बजारमा बिक्रीका लागि लगिएको गोलभेँडा पनि पिकअप मै कुहेको छ। व्यवसायीले नोक्सान बेहोरेका छन्। यता किसानले पनि उत्पादन गरेको गोलभेँडा लिन व्यवसायी सडक ठप्प भएपछि नजाँदा गोलभेँडा बारीमै कुहिएका छन्। यसरी पहिरोले गर्दा सवारी ठप्प भएपछि किसान र व्यवसायी दुवैलाई क्षति भएको अवस्था एकातिर रहँदा अर्कोतिर भने यातयात व्यवसायीले यात्रुलाई मनोमानी ढंगले तोकिए भन्दा बढी भाडा अशुल्दै आएका छन्।

फिदिमदेखि इलामसम्मको भाडा तीन सय भएपनि पहिरोग्रस्त पाङ्ग्रे भीर क्षेत्रसम्मको भाडा नै डेढ सय रूपैयाँ तिर्न यात्रु बाध्य छन्। त्यसपछि उता इलामसम्मको भाडा नै ३०० रूपैयाँ असुल्ने गरेका छन्। यसैबीच सडक अबरूद्ध भएपछि पाँचथर, ताप्लेजुङ र तेह्रथुमको आठराई क्षेत्रका विरामीलाई सुविधा सम्पन्न अस्पतालमा उपचारका लागि लैजान समस्या भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.