|

काठमाडौं : केही दिन निष्कृय रहेको मनसुन सोमबारदेखि फेरि सकृय भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबारदेखि केही दिन भारी पानी सम्भावना रहेकाले मध्य तथा पूर्वी भेगमा सर्तकता अपनाउन आग्रह गरेको छ।

मध्य र पूर्वी भेगका केही ठाउँमा सोमबार भारी वर्षा हुने सम्भवना रहेकाले बाढी, पहिरो तथा डुबानको खतराबाट सचेत रहन महाशाखाका मौसमविद राजु प्रधानाङ्गले आग्रह गरे। पानी पार्ने वायु (न्यून चापीय रेखा) नेपालको  दक्षिणतिर अवस्थित रहेको र बंगालको खाडीबाट नेपाल प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण पूर्वका अधिकांश साथै मध्य तथा पश्चिमका केही स्थानहरुमा पानी पर्ने मौसमविद प्रधानाङ्गले जानकारी दिए।

अहिले काठमाडौं उपत्यकासहित मध्य र पूर्वी भेगका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानहरुमा पानी परिरहेको छ। यस्तै, पश्चिमी भूभागको मौसम आंशिकदेखि सामान्य बदली भई एक दुई स्थानमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

दिउँसो देशको पूर्वी र मध्य भूभागमा सामान्यदेखि पूर्ण बदली साथै पश्चिमी भूभागमा आंशिकदेखि सामान्य वदली रहने जनाइएको छ। पूर्व र मध्य भेगका अधिकांश स्थानमा साथै पश्चिमका केही स्थानहरुमा पानी पर्नेछ।  आज राति पनि देशका अधिकांश भूभागमा पानी पर्नेछ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.