|

कञ्चनपुर : बेलौरी नगरपालिका–६ मा रहेको पुरैनी ताल चरा हेर्नेहरुका लागि उत्कृष्ट गन्तव्य हो। तालमा बसाइँ आउने आगन्तुक चरा र रैथाने चराका कारण भरिभराउ हुने गर्दछ।

तालमा एकैसाथ दर्जनौं प्रजातिका चरा विचरण गरेको दृश्य यस क्षेत्रका लागि नौलो होइन। तालमा रहेको कमल फूलले ताललाई झनै आकर्षक बनाएको छ। तर, मानव अतिक्रमणले तालको क्षेत्रफल मात्र घटेको छैन, यसको सुन्दरता पनि हराउँदै गएको छ।

यसअघि ३२ बिघा क्षेत्रफलमा फैलिएको ताल अहिले २८ बिघामा खुम्चिएको छ। स्थानीयले ताल वरिपरि अतिक्रमण गरी खेती गर्न थालेपछि क्षेत्रफलमा खुम्चिएको स्थानीय रामबहादुर चौधरीले बताए। यसका साथै यहाँ पाइने चराको पनि शिकार गरिँदै आइएकाले चरा संरक्षणमा चुनौती थपिएको छ।

ताल संरक्षणको पहल

बेलौरी नगरपालिकाले तालको संरक्षण गर्ने योजना अघि सारेको छ । यसका लागि तालको नक्सांकन गर्ने कार्ययोजना छ ।

यस्तै, करिब १६ लाख रुपैयाँको लागतमा तालको पानी सुकेको करिब सात बिघा जग्गामा पोखरी निर्माण गर्ने र तालको चारैतिर माटोको पर्खाल निर्माण गर्ने योजना बनाइएको नगर प्रमुख पोतीलाल चौधरीले बताए।

 ‘तालको पुरिँदै गएको भागमा पोखरी निर्माण गर्दा ताललाई पुरानै अवस्थामा फर्काउन सकिन्छ,’ उनले भने, ‘पोखरीमा माछापालन गर्ने योजना छ।’ तालको केही क्षेत्रमा अहिले पनि स्थानीयले माछापालन गर्दै आएका छन्। तालको पानी सिँचाइमा प्रयोग हुने गरेको छ। 

स्थानीयले पनि ताल संरक्षणका लागि अतिक्रमित जग्गा फिर्ता गर्न सहमत भएका छन्। संरक्षणका लागि सिद्धेश्वर सहकारी संस्थाले पहल गर्दै आएको छ। सहकारीले तालमा रहेका जलपंछीलाई संरक्षण गर्न र तालको जैविक विविधता बचाई राख्न स्थानीयलाई सेचतना कार्यक्रम गर्दै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.