|

दाङ : तुलसीपुर उपमहानगरपालिका कार्यालय साउन १५ गते देखि ‘क्यासलेस’ हुने भएको छ। आर्थिक पारिदर्शिताका साथै नागरिकलाई कैंकिङ प्रणालीप्रति अभ्यस्त बनाउनका उक्त योजना लागू गर्न लागेको नगर प्रमुख  घनश्याम पाण्डेले बताए। 

क्रेडिक कार्ड हुने सेवाग्राहीले ‘स्वैप मेसिन’बाट र अन्यले उपमहानगरपालिका कार्यालयभित्र रहेको बैंकको काउन्टरबाट पैसा भुक्तानी गर्ने व्यवस्था मिलाइने उपमहानगरपालिकाले बताएको छ। उपमहानगरपालिकाभित्र शाखा राख्नका लागि बैंकहरुलाई आह्वान गरिएको थियो। आह्वान गरिएका बैंकहरुमध्ये मेगा बैंकले नगद संकलन काउन्टर राख्ने  उपमहानगरका वित्तीय अधिकृत ललित घर्तीले जानकारी दिए।

उनका अनुसार उपमहानगरपालिकाका १९ वटै वडामा स्वैप मेसिन राख्ने प्रक्रिया अघि बढाइएको छ। ‘पहिलो चरणमा तुलसीपुर कार्यालयमा क्यास काउन्टर र स्वैप मेसिन जडान हुन्छ,’  घर्तीले भने, ‘त्यसपछि वडा वडामा लगिनेछ।’

उपमहानगरपालिका कार्यालयको हाताभित्रै सेवाग्राहीको सहजताका लागि एटिएम मेसिन समेत राखिने बताइएको छ। त्यसैगरी सेवाग्राहीहरुलाई कार्डको प्रयोगतर्फ आकर्षित गर्नका लागि कार्ड प्रयोग गर्नेहरुलाई केही प्रतिशत छुट दिने योजनामा रहेको उपमहानगरपालिकाका प्रवक्ता सूर्यबहादुर डाँगीले बताए।

उपमहानगरपालिकालाई पेपरलेस बनाउनका लागि घटना दर्ता र कर संकलन अनलाइनमार्फत गर्न थालिएको उनले बताए। घरजग्गा नक्सापासलाई पनि चालु आर्थिक वर्षदेखि अनलाइनमा लैजाने गरी तयारी भइरहेको पनि प्रवक्ता डाँगीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.