पाठकको मन छुने सफलताको सूत्र!

|

काठमाडौं : साहित्यिक बजारमा निस्कने अनेक पुस्तकमा कभर निर्माण गरिरहेको एउटा नाम हो सन्तोष कुमार दाहाल।

उनले व्यावसायिक रूपमा ग्राफिक तथा कभर डिजाइन गर्न थालेको छ वर्ष भयो। पुस्तक चर्चामा आउनु लोकप्रिय हुनु एउटा लेखकको ठूलो उपलब्धी हो। यद्यपि पुस्तकको बाहिरी कभर पनि पुस्तक चर्चित हुनुको अर्को कारण हो। उत्कृष्ट कभरबिना कुनै पनि पाठकले किताबको विषयवस्तुमा प्रवेश गर्ने-नगर्ने निर्क्यौल गर्छन्। उनी भन्छन्, 'पाठकको ध्यान केन्द्रित गर्न उत्कृष्ट कभर हुनु जरूरी छ।'

बजारमा हरेक हप्ता साहित्यिक पुस्तक सार्वजनिक भइरहेका हुन्छन्। ती पुस्तक सार्वजनिक गर्नुपूर्व तिनको विषयवस्तुबारे टिकाटिप्पणी हुने गर्छन्। केही पुस्तक विमोचनपछि रातारात हिट हुन्छन्। केही पुस्तक बजारमा आउँछन् तर पाठकलाई अत्तोपत्तो हुँदैन। लेखक र प्रकाश बाहेकले पुस्तक निस्केको सुइँकोसम्म पाउँदैनन्।

अहिलेको साहित्यिक बजारको ट्रेण्डलाई हेर्दा बजारमा पुस्तक आउनुअघि पुस्तकको कभर पहिले देख्न पाइन्छ। कभर सार्वजनिक भइसकेपछि नै पाठकले भित्र के छ? अनुमान लगाउँछन्। कभर हेरेरै पाठकले त्यो पुस्तक पढ्ने नपढ्ने मुड बनाउँछन्। त्यसैले त प्रकाशन गृहले कभर डिजाइनमा मेहनत गरेका हुन्छन्। एउटा कृतिका लागि कभर कति महत्वपूर्ण छ त? उनी भन्छन्,'विषयवस्तुको भाव र त्यसले दिने सन्देशको आधारमा कभर डिजाइन गरिन्छ। कभर भनेको कृतिको द्वार हो।'

कसरी बनाइन्छ कभर?

उनले डिजाइन गरेका पुस्तक मदन पुरस्कार गुठीको छनोट समितिमा पनि परेका छन्। पुस्तकको कभर भन्दा पनि लेखनलाई प्राथमिकता दिने मदन पुरस्कार गुठीको पुरानो धारणा छ। पुरस्कारका लागि छनोट हुनु कभर डिजाइनका लागि पनि सुखद क्षण हो। उनका लुम्बिनी गाउँ, प्रति नायक, विचारको लास परेका छन्। यस्तै आम्मोइ र गुहा लेख गुहा चित्र दोस्रो संस्करणमा डिजाइन गरेका छन्।

यस्तै उनले डिजाइन गरेका कृतिहरू आरोहण, सारङ्गी, प्रेमदासको डायरी, आवरण, स्कुल बेच्‍ने बालक लगायतका दर्जनौँ किताब डिजाइन गरेका छन्।

नेपाली बजार सानो छ। त्यसमाथि कभर निर्माण गर्ने काम प्राविधिक हो। यस क्षेत्रमा काम गर्नेहरुको संख्या थोरै। जब प्रकाशकले कुनै कृति बजारमा ल्याउन लेखकसँग सम्झौता गर्छ तब प्रकाशक कभर डिजाइनरकहाँ आइपुग्छन्। सबै कृतिहरू पढ्न सकिने अवस्था हुँदैन। दाहाल पनि त्यो कुरा स्वीकार्छन्। 'सबै किताब पढ्न सकिँदैन', उनले सुनाए, 'कतिपय किताबको कभर निर्माण गर्दा लेखक र प्रकाशक स्वयंले सुझाव दिनुहुन्छ।'

खाँचो तालमेलको

पुस्तकको कभर बनाउने क्रममा कहिलेकाहीँ प्रकाशकहरूसँग मत र मन नमिल्न पनि सक्छ। कतिपय अवस्थामा आफूलाई मनै नपरे पनि कभर निर्माण गर्नुपर्ने बाध्यता आउने उनको अनुभव छ। उनी भन्छन्, 'व्यवसाय हो भन्दैमा आफैँलाई चित्त नपर्ने कभर बनाउन मेरो नैतिकताले दिँदैन। भोली बजारमा आफूले गरेको कामको प्रशंसा होस् भन्‍ने त हरेकको मानवीय गुण नै हो।'

लेखकहरूलाई जति आफ्नो किताबको माया लाग्छ। डिजाइनरलाई पनि पुस्तकको माया उस्तै लाग्ने उनले सुनाए। लेखकले विषयवस्तुमा हुनुपर्ने गति र लयबारे सबै जानकारी लिन सक्छ। तर कभर डिजाइनमा लेखकले दबाव दिन नसक्ने उनले बताए। कतिपय लेखकले भने अति नै गर्ने गरेको गुनासो गर्छन् उनी। 'त्यस्तो अवस्थामा कभर अन्यत्रै बनाउनुस भनेर पठाउने गरेको छु', उनी सुनाउँछन्। 

'आफ्नो कामबाट सन्तुष्टि प्राप्त भएन भने किन गर्नु? कभर राम्रो नभए बजारमा लुकेर हिँड्नु जस्तो लाजमर्दो केही हुँदैन', उनी भन्छन्, 'किताब बजारमा आउँदा लेखकको जति ढुकढुकी बढ्छ, त्यस्तै ढुकढुकी आफ्नो पनि बढ्छ। लेखन र पुस्तकको कभर विच तारताम्य मिलिदिए। सुनमा सुगन्ध हुन्छ।'

कहिलेकाहीँ उनी पुस्तक पसल र लाइब्रेरी चाहार्छन् उनी। आफूले गरेको कभर डिजाइन र अरूले गर्ने कभर डिजाइनबीच तुलना गर्छन्। कहाँनेर चुकेँ म? अथवा मैले अझै के गर्न जरूरी छ, उनी स्वमूल्याङ्कन गर्छन्। अग्रज र समकालीन डिजाइनरहरूले गरेको कभर डिजाइनबारे उनले सक्दो खोजी गर्ने गर्छन्। कसरी राम्रो गर्न सकिन्छ त्यसबारे पनि आत्मसमीक्षा गर्छन्। उनले बनाएका किताबको चर्चा बजारमा भइरहँदा उनी खुशी हुन्छन्। आफूले डिजाइन गरेका किताबको चर्चा हुँदा खुशी नहुने भन्‍ने कुरै हुँदैन। उनी भन्छन्, 'आफूले हुर्काएको सन्तानको माया कुन बाबु आमालाई हुदैँन र?'

पुस्तकसम्बन्धी सम्पूर्ण काम

उनी कभर मात्रै डिजाइन गर्दैनन्। 'एसकेडी ग्राफिक एण्ड प्रिण्टिङ सोलुसन'मा पुस्तकसम्बन्धी सबै काम गर्छन्। डिजाइनरँग ले-आउट तयार पार्दा प्रकाशकले सम्झौता गर्न जरूरी रहेको उनको अनुभवले बताउँछ।

विभिन्‍न प्रकाशन गृहसँग उनले सहकार्य गरेका छन्। पुस्तक तयार पार्दा कभर डिजाइनदेखि ले-आउटसम्म सक्दो मेहनत जरूरी छ। काममा इमान्दार हुनु आवश्यक छ। कतिपयले फण्ट ठूलो बनाएर चर्को रकम असुल्ने गरेको चर्चा बजारमा सुनिन्छ। कम्युटरमा पुस्तकको ले-आउट मिलाउँदै गरेका दाहालले कि बटम ट्याइपिङ गर्दागर्दै रोकिदैँ भने, 'पानाको हिसाबले किताबका फण्टहरू चाहिने भन्दा ठूलो बनाएर चर्को मूल्य असुल्नु मर्यादा भन्दा बाहिरको काम हो। यसलाई भस्ट्राचार भन्दा अन्यथा हुँदैन।'

सुरूवाती दिनमा उनले विभिन्‍न पुस्तक डिजाइन गरे। तर पछिल्लो क्रममा साहित्यिक कृतिमा उनको लगाव बढिरहेको छ। साहित्यका फरक फरक विधाले आपूलाई मोहित गराउने भएकोले पनि साहित्यिक कृतिको कभर डिजाइनमा अझ सन्तुष्टि मिल्ने उनी बताउँछन्।

कसरी आइपुगे यस क्षेत्रमा?

बालककालमा गाउँमा हुँदा उनका दाजुको चिठी आउँथ्यो। गाउँमा अन्य दाइहरूको चिठी हस्तलेखनमा आएथ्यो। तर उनका दाजुले भने टाइपिङ गरेर सफा र सुन्दर तरिकाले पठाउँथे। गाउँका छिमेकीले पनि उनको दाजुको तारिफ गर्थे। उनलाई लाग्थ्यो। कम्युटर चलाउने मान्छेहरू सबैको प्यारो हुन्छन्।  दाहाल एसएलसी दिएपछि खोटाङबाट काठमाडौं आए। उनलाई लाग्थ्यो, कम्युटर भनेको धनीले चलाउने चिज होला। तर दाजुको गाउँमा छुट्टै सम्मान थियो।

उनलाई पनि यस क्षेत्रमा लाग्ने रहर जाग्यो। कुनै कम्युटर इन्स्टिट्युटमा गएर सिकेका होइनन् उनले ज्ञान। कामले काम सिकाउँदै गयो। उनले सिक्दै गए। कम्युटरबाट गाउँमा आफूलाई कसरी हेर्छन् उनलाई थाहा छैन। तर आफ्नो कामबाट सिंगो परिवार खुशी राखेका छन्। उनी आफूपनि  आफ्नो कामबाट सन्तुष्ट छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.