|

म्याग्दी : गण्डकी प्रदेशमा पर्ने प्राकृतिक सौन्दर्यले युक्त म्याग्दी जिल्ला स्वदेशी तथा विदेशी पर्यटकहरुलाई मोहनी लगाउन सफल हिमाली जिल्ला हो। प्रचुर पर्यटकीय क्षेत्रको सम्भावना बोकेको म्याग्दी पर्यटकीय गन्तव्यका लागि मात्रै होइन, प्राचिन संस्कृति, सभ्यता, दर्शन, जातीय तथा भौगोलिक विविधता,प्राकृतिक स्रोत र सुन्दरता लगाएतका कारणहरुले पनि सवैलाई आफूतिर आकर्षित गर्ने जिल्लाको रुपमा परिचित छ।

उत्तरबाट पूर्वतर्फ कलकल गर्दै बगेको कालिगण्डकी र पश्चिमबाट पूर्वतर्फ बगेको म्याग्दीनदीले म्याग्दीको सौन्दर्य र महत्वलाई झन बढाएका छन्। शालीग्राम शिला पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीले म्याग्दीको धरालाई सिंचित गर्दै पवित्र बनाएको छ भने यहाँ रहेको विश्वकै गहिरो गल्छी ‘अन्धगल्छी’ले म्याग्दीलाई संसारमै चिनाएको छ।

पछिल्लो समयमा आन्तरिक एवं बाह्य पर्यटकको रोजाइको गन्तव्य बनेको छ। आन्तरिक पर्यटकको संख्या झन ह्वातै बढेको छ। हिमाली जिल्ला म्याग्दीमा भ्रमण गरेर मनोरञ्जन लिनका लागि यस्ता थुप्रै ठाउँहरु रहेका छन्। पर्यटकहरुका लागि यहाँका ठाउँहरु घुम्न लायक छन्। धार्मिक तथा पर्यटकीयस्थलहरु, बाइसे–चौबीसे राज्यका पालाका राजदरबार, कोत मन्दिर र तातोपानीका कुण्डहरु यहाँ प्रशस्तै छन्।

म्याग्दी जिल्ला

धार्मिक, ऐतिहासिक र पर्यटकीय हिसाबले उच्च पहाडी जिल्ला म्याग्दी प्रशस्तै सम्भावना भएको जिल्लाको रुपमा चिनिन्छ। समुन्द्री सतह ७९२ मिटर रत्नेचौरदेखि ८ हजार १६७ मिटरको उचाई भएको अग्लो चुचुरो धौलागिरी हिमालसम्म म्याग्दी जिल्ला फैलिएको छ। जलाधारीय क्षेत्रका हिसाबले म्याग्दी जिल्ला कालीगण्डकी, रहुघाट नदी र म्याग्दी खोलासहित तीन क्षेत्रमा विभाजित रहेको छ।

संसारका ८ हजार मिटर अग्ला हिमालहरुमध्ये ८ ओटा हिमाल नेपालमा छन्। तीमध्ये म्याग्दी जिल्लामा संसारकै सातौं अग्लो हिमाल धौलागिरी ८,१६७ मिटर र ८,१६४ मिटर अग्लो अन्नपूर्ण हिमाल पर्छ। यसैगरी ६ हजार मिटरभन्दा अग्ला ५१ ओटा हिमालका चुचुराहरु म्याग्दीमा रहेको नेपाल पर्वतारोहण संघले प्रमाणित गरेको छ। धौलागिरी, अन्नपूर्णसहित मानापाथी, चुरेन, गूर्जा, निलगिरी, मुना, पुठा, सिता जस्ता हिमालहरु यहाँ छन्। धौलागिरी हिमालमा मात्रै विभिन्न ६ ओटा चुचुराहरु रहेका छन्।

बेनीबजार (सदरमुकाम)

संघिय नेपालको राजधानी काठमाडौंदेखि २८५ किमी, गण्डकी प्रदेशको राजधानी पोखराबाट ८० किलोमिटर पश्चिममा म्याग्दी जिल्ला पर्दछ। पूर्वमा पर्वत, उत्तरमा मुस्ताङ र डोल्पा, पश्चिमा रुकुम तथा दक्षिणमा बागलुङ जिल्ला पर्ने म्याग्दीको सदरमुकाम बेनीबजार हो। हिमालपारीको जिल्ला मुस्ताङको मुख्य प्रवेशद्वारका रुपमा बेनीबजार रहेको छ।

‘बेनीको बजार, जता माया उतै छ नजर किरेमिरे जाले रुमाल’ बोलको गीतले समेत चर्चित बेनीबजारमा बास बसेर यहाँका थुप्रै ठाउँहरु घुम्न सकिन्छ। बेनीदेखि उत्तर ३ किमीमा प्रसिद्ध गलेश्वर मन्दिर अवस्थित छ। सदरमुकाम बेनीबजारको आसपासका क्षेत्रमा बेनी शिवालय, लक्ष्मीनारायण मन्दिर, बुद्ध विहार, महारानीथान लगायतका थुप्रै धार्मिक क्षेत्रहरु छन्। बेनीदेखि नजिकै पर्यटकीयस्थल लभ्लीहिल रहेको छ। बेनीमा अहिले अग्र्या्निक उत्पादनका पसलहरु पनि सञ्चालनमा छन्।

घोरेपानी र पुनहिलः

जिल्लाको उत्तरी क्षेत्र अन्नपूर्ण गाउँपालिमा–६, घारमा पर्ने घोरेपानी र पुनहिलम्याग्दीको प्रमुख पर्यटकीय गन्तव्य हुन्। समुन्द्री सतहदेखि २ हजार ८७४ मिटरको उचाइमा घोरेपानी पर्दछ। घोरेपानीको शिरमा तीन हजार २१० मिटरको उचाइमा पुनहिल पर्छ। म्याग्दी सदरमुकाम बेनीबाट सवारीसाधन मार्फत अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर–घार–शिख–चित्रे हुँदै घोरेपानी पुगिन्छ। त्यस्तै कास्कीको नयाँपुल, घान्द्रुक भएर पनि घोरेपानी र पुनहिलमा पुगेर रमाउन सकिन्छ।

बेलुका घोरेपानीका होटलमा बास बसेर बिहान सबेरै पुनहिल पुगेर सुर्योदय, हिमालको दृश्य अवलोकन गर्न पाइन्छ। पुनहिलबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरी, गूर्जा, मानापाथी हिमाललगायत दर्जनभन्दा बढी हिमश्रृङ्खलाहरुको प्रत्यक्ष दृश्यवलोकन गर्न सकिन्छ। संसारको सबैभन्दा ठूलो गुराँसे जङ्गल यसै क्षेत्रमा पर्दछ। जहाँ २७ प्रकारका लालीगुराँसहरु पाइन्छन्। पर्यटकको रोजाइमा घोरेपानी पर्ने गर्दछ। घोरेपानीमा पछिल्लो समय स्वदेशी पर्यटकको बाहुल्यता बढ्दै जान थालेको

खयरबराह मन्दिर, खोप्रालेक

अन्नपूर्ण गाउँपालिका–५, शिखको पाउद्धारमा रहेको अर्को प्रसिद्ध धार्मिक तीर्थस्थल हो खयरबराह मन्दिर र खोप्रालेक। म्याग्दीको बेनीदेखि करिब ४ घण्टाको कच्ची मोटरबाटाको यात्रापछि मन्दिरसम्म २ दिनको यात्रा तय गर्नुपर्ने हुन्छ। खयर क्षेत्रमा व्यावसायिक रुपमा भेडापालन गरिएको छ। खोप्रालेकमा पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकहरु जाने गरेका छन्।

अन्धगल्छी र रुप्से झरनाः

संसारकै गहिरो अन्धगल्छी उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा पर्दछ। हिमालपारीको जिल्ला मुस्ताङ जाने बेनी–जोमसोम सडकखण्ड अन्तर्गत पर्ने यस अन्धगल्छीमा मुस्ताङ आवतजावत गर्ने पर्यटकहरु पुगेर अवलोकन गर्ने गर्दछन्। विश्वमै शालिग्राम पाइने एकमात्र पवित्र कालीगण्डकी नदीले निर्माण गरेको यो अन्धगल्छीको गहिराई ६ हजार ९६७ मिटर रहेको छ। संसारको सातौं अग्लो चुचुरो धौलागिरी र अन्नपूर्ण हिमालको बिचमा अवस्थित यो गल्छी समुन्द्री सतहबाट १ हजार २ सय मिटरको उचाइमा अवस्थित छ। गल्छीको अवलोकन गर्न दैनिक रुपमा आन्तरिक एवं बाह्य पर्यटकहरु त्यहाँ पुग्ने गरेका छन्।

यस अन्धगल्छीदेखि केही माथी रहेको मनै लोभ्याउने सुन्दर प्राकृतिक रुप्से छहरा पर्यटकीय दृष्टिकोणले निकै सुन्दर, मनमोहक र आकर्षक छ। यो छहरा समुन्द्री सतहबाट झण्डै १ हजार ८ सय मिटरको उचाइमा रहेको छ। यस छहराले हुलाक टिकटमा समेत स्थान पाइसकेको छ। म्याग्दी सदरमुकाम बेनीबजारदेखि ३० किलोमिटर उत्तर पूर्वमा पर्ने रुप्से छहरा तथा अन्धगल्छी पुग्न करिब १ दिनको पैदलयात्रा तय गर्नुपर्छ। प्राकृतिक मनोरम छहराले पर्यटकहरुलाई आकर्षण गर्ने गरेको छ। बेनी–जोमसोम सडकखण्ड अन्तर्गत पर्ने अन्धगल्छी र रुप्से झरनामा बेनीबाट सवारीसाधनमार्फत ३ घण्टामा सजिलै पुग्न सकिन्छ। मुस्ताङ जाने पर्यटकहरु सवारी रोकेर यस झरनामा फोटो खिच्छन्।

लभ्लीहिल (प्रणय शिखर)

पछिल्लो समय पर्यटकीयस्थलको चर्चा बटुलेको स्थानका रुपमा परिचित छ लभ्लीहिल (प्रणय शिखर)। ‘मायालु डाँडा’ अर्थात् लभ्लीहिलका नामले चर्चित पर्यटकीयस्थल लभ्लीहिलमा खासगरी तन्नेरीहरुको भीड लाग्ने गर्दछ। म्याग्दी सदरमुकाम बेनीबजारदेखि नजिकमा रहेको पर्यटकीय गन्तव्यको सम्भावना बोकेको लभ्लीहिलमा अहिले दिनहुँजसो सयौंको सङ्ख्यामा पर्यटकको चहलपहल बढेको छ। लभ्लीहिलमा रेलिङ, आराम बेन्च र गोलघर बनाएपछि पर्यटक बढेका छन्।

बेनीदेखि आधा घन्टाको दूरीमा रहेको लभ्लीहिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, पुलाचौर, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाज लगायतका क्षेत्रहरु देख्न सकिन्छ। यसैगरी म्याग्दी जिल्लाको अधिकांश भू–भागका साथै उत्तरी पर्वतको जलजला गाउँपालिकासहित संसारको सातौं अग्लो चुचुरो धौलागिरि, अन्नपूर्ण हिमाल तथा सूर्योदय र सुर्यास्तको समेत अवलोकन गर्न पाइन्छ। बेनीबजार आसपासका क्षेत्रबाट बग्ने म्याग्दी र कालीगण्डकी नदीको बहावलगायत आकर्षक दृष्यको यस ठाउँबाट अवलोकन गर्न सकिन्छ।

भकिम्लीको स्वर्गाश्रमः

गाउँको शिर र वरिपरीबाट सप्तरङ्गी डाँडाकाँडाले घेरिएको पर्यटकीयस्थल भकिम्लीको स्वर्गाश्रम म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीमा पर्दछ।स्वर्गाश्रमबाट धौलागिरि, मानापाथी, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे, गूर्जा, चुरेन, बेहुला–बेहुली नामाकरण गरिएका हिमालहरु देखिन्छन्। यहाँबाट धौलागिरी र अन्नपूर्ण रेन्जका सबै हिमश्रृङ्खलाहरु देखिनुका साथै यस ठाउँबाट डेढ दर्जनबढी हिमालहरुको प्रत्यक्ष अवलोकन गर्न सकिन्छ। स्वर्गाश्रम नजिकै तपस्याका लागि ओढार पनि रहेको छ। विभिन्न समयमा ऋषिमुनिहरु र माताहरु आएर तपस्या गर्नेस्वर्गाश्रममा आन्तरिक र बाह्य पर्यटकहरु पुग्ने गरेका छन्।

बेलढुङ्गा (पत्थर)

बेलको जस्तो आकारको रुपमा रहेको हुँदा भकिम्लीको शिरमा अवस्थित ढुङ्गाको शिलालाई बेलढुङ्गा नामाकरण गरिएको छ। म्याग्दी र छिमेकी जिल्ला बागलुङको सिमानामा पर्ने बेलढुङ्गाबाट बागलुङकै काठेखोला गाउँपालिकाको धम्जा तथा घुम्टेको लेक, गाजाको धुरी र म्याग्दी जिल्लाका अधिकांश भू–भागहरु देखिन्छन्। म्याग्दी सदरमुकामदेखि ३ कोष टाढा रहेको भकिम्ली गाउँदेखि १ घण्टाको दुरीमा अवस्थित बेलढुङ्गा पर्यटकहरुका लागि निकै आकर्षक गन्तव्य मानिन्छ। म्याग्दीको सदरमुकाम बेनीबजारदेखि सवारीसाधनमार्फत डेढ घण्टा र १ घण्टाको पैदलयात्रा गरेर पुग्न सकिने यस स्थानबाट धौलागिरि, मानापाथी, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे, गूर्जा, चुरेन, बेहुला–बेहुली सहित दजनौं हिमालका साथै विभिन्न दृश्यहरु निकै सुन्दर, आकर्षक र मनमोहक देखिन्छन्।

जगन्नाथ मन्दिर

कुखुरापालन र मदिरा निषेधित गाउँका रुपमा चिनिने म्याग्दीको गाजनेमा प्रसिद्ध जगन्नाथ मन्दिर अवस्थित रहेको छ। बेनी नगरपालिका–५, गाजनेमा पर्ने नेपालमै फरक स्वरुपको आजभन्दा ५ सय २५ वर्ष पुरानो जगन्नाथ मन्दिरभित्र जगन्नाथ, डिम्ब महाराज, गणेश, रामलक्ष्मण, कृष्ण, बलराम, नृसिंह, चतुर्बाहुका मूर्तिहरु सुरक्षित गरिएको छ। नेपालमा बाईसे–चौबीसे राज्यका पालामा गाजने गाउँमा १४औं शताब्दीताका तत्कालीन राजा दिलिपबम मल्ल (डिम्ब)ले भारतको उडिसा राज्यबाट भगवान् जगन्नाथको मूर्ति ल्याएर जगन्नाथ मन्दिरको स्थापना गरेको किम्बदन्ती रहेको छ।

गुफाको डाँडो

बेनीबजारदेखि ३ घण्टाको पैदल दुरीमा रहेको जगन्नाथ मन्दिरमा सवारीसाधनमार्फत एक घण्टामा सजिलै पुग्न सकिन्छ। पर्यटकीय सम्भावना बोकेको गुफाको डाँडाबाट झण्डै दुई दर्जन हिमालहरु देखिन्छन्। हिमालको साथसाथै यस ठाउँबाट म्याग्दी जिल्लाको साविकका ४१ गाविसहरुमध्ये ३६ वटा गाविसहरु नाङ्गो आँखाले प्रत्यक्ष रुपमा अवलोकन गर्न सकिन्छ।

निस्कोटको बराहताल

हिमालसँगै पौडी खेल्न मिल्ने ताल हो पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा पर्ने निस्कोटको बराहताल। यो बराहताल र तालको आसपासबाट मनोरम हिमश्रृङ्खलाहरु देखिन्छन्। बराहतालमा वनजङ्गल र हिमालहरु देखिने प्रतिबिम्ब (छाँया) निक्कै आकर्षक अनि मनमोहक लाग्छ। पहाड र आकास जोडिएको क्षितिजमा पर्ने हिमाल र तलाउमा देखिने हिमालको दृष्यले सबैलाई अचम्मित बनाउँछ। निस्कोट गाउँमा पुग्ने जो कोही पनि बराहताल हेर्न भनेर त्यहाँ पुग्ने गरेका छन्।

तातोपानी कुण्ड

प्राकृतिक चिकित्सालयको रुपमा विकसित हुँदै गैरहेको सदरमुकाम बेनीदेखि ९ किलोमिटर पश्चिम बेनी नगरपालिका–४, सिङ्गास्थित तातोपानी कुण्ड रहेको छ। चिसोका कारण हुने सबै प्रकारका रोगहरु निको हुने भएपछि तातोपानी कुण्डमा दिनहुँ स्वदेशी र विदेशी पर्यटक तथा बिरामीहरुको भीड बढ्दै जान थालेको छ। पर्यटकीय हिसाबले पनि तातोपानी कुण्ड निकै आकर्षणको केन्द्रका रुपमा रहेको छ।

तातोपानी कुण्डमा डुबुल्की मारेपछि ग्याँस्ट्रिक, बाथरोग, गानोगोला, युरिकएसिड, हार्डजोर्नी दुख्ने, हड्डीको दुखाई, सड्केको, मर्केको, बज्रिएकोसहित चिसोका कारणबाट उत्पन्न सबै प्रकारका रोगहरु निको हुने जनविश्वास रहिआएको छ। कुण्डकै कारण तातोपानीमा पछिल्लोपटक होटल व्यवसाय फस्टाउँदै गएको छ भने होमस्टे समेत सञ्चालनमा रहेको छ। तातोपानी कुण्डमा मात्रै वार्षिक झण्डै २० हजार मानिसहरु आउने गरेका छन्।

गलेश्वर मन्दिर

प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारमा रहेको धार्मिक तीर्थस्थल हो म्याग्दीको गलेश्वर मन्दिर। बेनी नगरपालिका–९, गलेश्वरमा रहेको गलेश्वरधाम एउटै चक्रशिलामा अवस्थित छ। सत्ययुगमा सतीदेवीको गलापतन भएर गलेश्वर नाम रहन किम्बदन्ती रहेको पाइन्छ। यस मन्दिरको नजिकै कहिल्यै नसुक्ने जलबराह कुण्ड समेत रहेको छ।

पौलस्त्य पुलहाश्रम

पौलस्त्य ऋषिका नाति लङ्काका राजा रावण जन्मिएको ठाउँ पौलस्त्य पुलहाश्रम म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरस्थित पछैमा पर्दछ। राउण्ड धौलागिरी बेसक्याम्पसम्म पु¥याउने लक्ष्य राखिएको पदमार्ग धार्मिकस्थल पौलस्त्य पुलहाश्रम हुँदै अगाडि बढाउन निरन्तरता दिइने भएको छ। पौलस्त्य मन्दिर नजिकै रावणको नाभी गाडिएको भन्ने ढुङ्गा (पत्थर) पनि रहेको छ। विश्वका १५ ओटा पवित्र धार्मिक तीर्थस्थलहरुमध्ये एक पौलस्त्य मन्दिरको बारेमा पुराणहरुमा पनि उल्लेख गरिएको छ। मनोरम हिमश्रृङ्खलाहरु देखिन्छन्।

टोड्के क्षेत्र

लोकल मुला, आलु, धजरालगायत उत्पादनहरु पाइने क्षेत्रका रुपमा चिनिएको टोड्के पर्यटकीयस्थल हो। मनोरम दृष्यावलोकन गर्न सकिने टोड्के पर्यटकीय हिसाबले महत्वपूर्ण सम्भावना बोकेको क्षेत्रका रुपमा चिनिन्छ।

टोड्केमा म्याग्दीसहित विभिन्न जिल्लाका साथै विदेशी पर्यटकहरु जान थालेका छन्। टोड्केको धुरीबाट म्याग्दी जिल्लाको अधिकांश भू–भागका साथै हिमाली जिल्ला मुस्ताङ र पर्वतको डाँडाकाँडा समेत देखिन्छ। पर्यटकीयस्थलको रुपमा रहेको टोड्केमा हेलिप्याड पनि रहेको छ। टोड्के वनभोज खान, घुमफिर गर्न र लोकल उत्पादन खरिद गर्न पर्यटकका लागि उपयुक्त छ।

स्वर्गद्वारी आश्रम

पर्यटकीय क्षेत्र टोड्केमा एकसय वर्ष पुरानो धार्मिकस्थल स्वर्गद्वारी आश्रम पनि रहेको छ। आश्रममा देशका विभिन्न जिल्लाबाट समय समयमा ऋषिमुनिहरु आएर तपस्या गर्ने गरेका छन्। प्युठान जिल्लामा रहेको प्रसिद्ध स्वर्गद्वारी मन्दिरको शाखा मानिने टोड्केको स्वर्गाश्रम आसपासका क्षेत्रमा अन्य धार्मिक संरचनाहरुको पनि विस्तार गरिएको छ।

पछिल्लोपटक पर्यटकहरुलाई लक्षित गरेर टोड्के नजिकै पूर्णगाउँ र झिँ गाउँमा होमस्टे सञ्चालन गरिएको छ। टोड्केमा स्थानीयले रिसोर्ट बनाउन थालेका छन्। यस आश्रमबाट धौलागिरी, अन्नपूर्ण र माछापुच्छ्रे हिमाल आँखै अगाडि देखिने हुँदा यस क्षेत्रलाई ऋषिमुनिहरुले पनि धेरै मन पराएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.