कर्मचारीले प्रदेश सरकारको बदनाम गराएको गुनासो

|

विराटनगर : गृहजिल्ला भोजपुरका एक कार्यालय प्रमुख घुससहित पक्राउ परेपछि प्रदेशका मुख्यमन्त्री शेरधन राईले कर्मचारीहरुलाई कडा निर्देशन दिएका छन्। त्यस्ता गतिविधिमा संलग्नलाई कसैलाई नछाड्ने चेतावनी उनले दिएका छन्। 

प्रदेश मातहतका मन्त्रालयका सचिव, सहसचिव, उपसचिव तथा कार्यालय प्रमुखहरुलाई आफ्नो कार्यालयमा सोमबार बोलाएर मुख्यमन्त्री राईले घुसबारे पर्याप्त सूचना आएको बताए। उनले त्यस्तो गरेको थाहा पाए एक घण्टामै कारबाही गरिने बताउँदै मुख्यमन्त्री राईले कर्मचारीलाई सचेत गराएका हुन्।

गत असार ३० गते भोजपुर जिल्लाको जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयका प्रमुख मोहन बाबु यादव रंगेहात एक लाख ८० हजार सहित रंगेहात पक्राउ परेका थिए । 

त्यसलगत्तै मुख्यमन्त्रीको निर्देशनमा मातहतका सबै कार्यालय प्रमुखलाई बोलाएर निर्देशन दिइएको हो । मुख्यमन्त्री राईले कर्मचारीलाई प्रदेशको बद्नाम थालिएको भन्दै त्यस्तो नगर्न सचेत गराए । उनले कसको आडमा गरिएको हो? सूचना दिन निर्देशन पनि दिए।

‘कुन अड्डा कसरी चलिरहेको छ भन्ने विषयमा निरन्तर निगरानी गरिरहेका छौँ’, उनले भने, ‘मान्छे (कर्मचारी) रंगेहात समातिनु र यति अंक रकममाथि बुझाउनु पर्ने भनेर बयान आउनु यो कस्तो तरिका हो? ‘माथि भनेको काहाँ हो ? घुसका निम्ति विभिन्न सेटिङ मिलाइन्छ, मिलाउने काम भइरहेको छ ।’

आफ्नो जिल्ला सिँचाइ प्रमुख घुससहित समातिनुलाई उनले गम्भीर भने। ‘डिभिजन प्रमुख घुस लिँदालिँदै पक्राउ परे। यही श्रृंखला दोस्रो, तेस्रो हुँदै गए प्रदेशको अवस्था के हुन्छ ?’, मुख्यमन्त्रीले प्रश्न गरे, ‘दिउँसै अड्डामा फिटान भएर जाने, ठाडै घुस माग्ने, घुस संकलन गर्ने, पुर्‍याउने, अत्यन्तै लज्जास्पद र घृणित कामलाई प्रदेश सरकारले नोटिस गरेको छ।’

यसमा सबै गम्भीर बन्नुपर्ने बनाउँदै उनले प्रदेश सरकारको व्यवस्थाप्रति अविश्वास पैदा हुनेतर्फ सबै सचेत बन्नुपर्नेमा जोड दिए। आफूले इमानको जगमा उभिएर नेतृत्व गर्ने बताउँदै अब आक्रमकरुपमा अगाडि बढ्ने पनि दाबी गरे।

प्रदेश सरकारले केही थाहा पाउँदैन भनेर जे मन लाग्यो त्यही नगर्न पनि उनले कर्मचारीलाई सचेत गराए। राईले आर्थिक वर्ष २०७६/०७७ को बजेट जेठ १५ भित्र सक्ने दाबी पनि गरे। पूर्व बजेटको समीक्षासँगसँगै चालू आर्थिक वर्षको बजेट कार्यान्वयनको एक्सन प्लान निर्माण भइरहेको बताउँदै उनले आगामी वर्षको बजेट जेठ १५ देखि उता कुनै तालिम, गोष्ठी र टेण्डर नगर्ने बताए ।

बैठकमा आफ्ना कुरा राख्दै प्रदेशका प्रमुखसचिव सुरेश अधिकारीले प्रदेश सरकारको उद्देश्य र दृष्टिकोणका आधारमा काम गर्न कर्मचारी संयन्त्रको प्रभावकारिताको समीक्षा गर्नु आवश्यक रहेको बताए। 

उनले कार्यालय प्रमुखहरु घुससहित समातिनु लज्जास्पद भन्दै त्यसले प्रदेशको इज्जतमा धब्बा लागेको पनि बताए। उनले सबै कर्मचारीको सयमा सय नम्बर आउँदा कार्यालयको प्रगति भने ४० प्रतिशत मात्रै हुनु अमिल्दो भएको उल्लेख गरे। 

प्रदेश सरकार बनेको डेढ वर्ष पुगेपछि पहिलो पटक मुख्यमन्त्रीको निर्देशनमा यो बैठक बोलाइएको हो । बैठकमा पत्रकारहरुलाई पनि सहभागी गराइएको थियो । प्रदेश सरकारमा विकास बजेट दुरुपयोग भएको आलोचना भइरहेका बेला मुख्यमन्त्रीले कडा निर्देशन दिएका हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.