महाधिवेशन घोषित मितिमै

|

काठमाडौंः राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले पार्टीको महाधिवेशन तोकिएकै मितिमा हुने बताएका छन्। 

पार्टीको अध्यक्ष मण्डलको संयोजकको पदभार ग्रहण गर्दै यादवले महाधिवेशनका लागि आवश्यक तयारीमा ध्यान दिने बताए। ‘महाधिवेशन घोषित मितिमै हुन्छ’, पार्टी कार्यालय बबरमहलमा सोमबार पदभार ग्रहण गर्दै यादवले भने, ‘त्यसका लागि आवश्यक आन्तरिक तयारीमा मेरो जोड रहन्छ।’

राजपाले आगामी कात्तिक २८ देखि ३० गतेसम्म पार्टीको महाधिवेशन गर्ने निर्णय यसअघि नै गरिसकेको छ। चक्रीय प्रणाली अनुसार पदभार सम्हालेका यादव अगामी असोज ५ गतेसम्म २ महिना संयोजक पदमा रहनेछन्। अध्यक्ष मण्डलका ६ जना सदस्यले दुई दुई महिनामा चक्रीय प्रणाली अनुसार पालैपालो संयोजक पद सम्हाल्ने सहमति भए पनि पार्टी एकीकरणदेखि डेढ वर्ष महन्थ ठाकुरमात्रै संयोजक बने। 

त्यसपछि दुई दुई महिनामा नेतृत्व परिवर्तन हुँदै यादवसम्म आइपुग्दा एक चक्र पूरा भएको छ। उनले केही दिन भित्रै अध्यक्ष मण्डलको बैठक राखेर महत्वपूर्ण निर्णयहरु गरिने बताएका छन्। 

संसदको अवरोध यथावत

राजपा अध्यक्ष मण्डलका संयोजक यादवले प्रतिनिधिसभामा आफूहरुको अवरोध कायमै रहने बताए। सर्लाही गोलीकाण्ड छानबिनका लागि संसदीय समिति गठन नभएसम्म सदन चल्न नदिने उनको भनाई छ। 

सर्लाहीमा विप्लव समूहका नेता कुमार पौडेल र अर्का युवा सरोजनारायण महतोको राज्यले सुनियोजित ढंगले हत्या गरेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राजपाले प्रतिनिधिसभाको बैठकमा अवरोध गर्दै आएका छन्। 

‘सर्लाही गोलीकाण्डबारे छानबिन समिति गठन भएन भने यही ८ गतेको संसद पनि चल्न दिँदैनौ, यादवले भने। उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि सरकारलाई सदनमार्फत् दबाब दिइने बताए। उनले सरकारविरुद्ध थप आक्रामक रुपमा प्रस्तुत हुने संकेत गरे। 

कांग्रेससँग कार्यगत एकता

यादवले नेपाली कांग्रेससँग राजपाको मुद्दाका आधारमा संसदभित्र कार्यगत एकता मात्रै भएको स्पष्ट पारे। पछिल्लो केही समयदेखि संसदभित्र कांग्रेससँग एजेण्डा मिलेको भन्दै यादवले अरु थप मुद्दामा पनि कार्यगत एकता गर्दै जाने बताए।

‘सरकारको छायाँबाट सदनलाई मुक्त गर्न राजपाले लोकतान्त्रिक शक्तिसँग कार्यगत एकता गर्छ। त्यहि अनुरुप काँग्रेससँग मुद्दाका आधारमा कार्यगत एकता भएको हो।’ यादवले थपे। कांग्रेससँगै मिलेर राजपाले बाढीपीडितको उद्दार तथा राहतमा सरकारको ध्यानाकर्षण गराउन छलफल गर्ने भन्दै असार ३० गते संसदमा स्थगन प्रस्ताव दर्ता गराएको थियो।  

तर सभामुख कृष्णबहादुर महराले संसद बैठक सूचना टाँसेर साउन ८ गतेसम्म स्थगित गरेपछि काँग्रेस र राजपा नेपाल दुवै रुष्ट भएका छन्। 

समाजवादीसँग एकतामा जोड

राजाप नेपाल र समाजवादी पार्टी नेपालबीचको एकता प्रक्रियालाई पनि आफूले प्राथमिकताका साथ अघि बढाउने संयोजक यादवले बताए। विभिन्न चरणमा भएको कुराकानीबारे वार्ता समितिसँग विफ्रिङ लिने भन्दै यादवले त्यसपछि मात्रै आवश्यक प्रक्रिया अघि बढाउने बताए।

‘बाहिर आएजस्तो सबै मिलिसक्यो भन्ने होइन, हामी छलफलकै क्रममा छौं, यादवले भने, एकताका लागि समाजवादी पार्टीले सरकार छोड्नुपर्ने शर्त हावादारी कुरा हो।’ 

राजनैतिक र सैद्धान्तिक विषयमा कुरा मिले एकता गर्न सकिने उनको भनाई थियो। उनले समाजवादी पार्टीसहित पहिचानको मुद्दा लिएर क्रियाशील अरु पार्टीसँग पनि एकताको प्रक्रिया अघि बढाउने बताए। 

पदभार ग्रहण कार्यक्रममा पार्टी पदाधिकारी तथा कार्यकर्ताले यादवलाई स्वागत गरेका थिए। यादवले पदभार ग्रहण गरिरहँदा अध्यक्षमण्डलका अन्य पाँचजना सदस्य उपस्थित भएनन्। 

अध्यक्ष मण्डलका सदस्यहरु बाढीपीडितको राहत र उद्दारमा जिल्लामा रहेकाले पदभार ग्रहण कार्यक्रममा उपस्थित नभएको पार्टी महासचिव केशव झाले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.