|

काठमाडौं : गत असार ११ गते गृहमन्त्रालयका प्रवक्ता तथा सहसचिव रामकृष्ण सुवेदी सवार गाडी समात्ने ट्राफिक प्रहरीलाई स्पष्टीकरण सोधिएको छ।

सरकारले जारी गरेको निषेधित क्षेत्रमा नियम मिचेर पार्किङ गरेको सरकारी गाडी समात्ने ट्राफिक जवानद्वय टीकाराम बुढा र कमलेश कुमारलाई ट्राफिक प्रहरी महाशाखा प्रमुख वसन्त पन्तले स्पष्टीकरण सोधेका हुन्। 

असार ११ गते बिहान साढे १० बजेको समयमा सिंहदरबारको पूर्वी गेटमा नियम मिचेर पार्किङ गरेको गाडीको ह्वील 'लक' लगाउने ट्राफिकद्वयलाई सडकमै दोसल्लासहित सम्मान थापेको भन्दै महाशाखाले स्पष्टीकरण सोधेको स्रोतले जनाएको छ। 

सह-सचिव सुवेदी र गृहका अन्य अधिकृतले प्रयोग गर्दै आएको बा २ झ ३४६ र बा २ झ ४३८८ नम्बरको सरकारी गाडीलाई ट्राफिक प्रहरीद्वयले ह्‍विल लक गरेका थिए। महाशाखा प्रमुख पन्तले सडकमै किन सम्मान थापेको भन्दै स्पष्टीकरण सोध्ने क्रममा प्रहरी जवान टिकाराम बेहोस भएर ढलेका थिए।

'महाशाखाले उनीहरुलाई गृहको गाडी लक गरेकोमा स्पष्टीकरण सोधेको होइन', एक अधिकृतले भने, 'संगठनको अनुमति नलिइ सडकमै दोसल्ला र खादासहित सम्मान थापेकाले किन त्यस्तो गरेको भनेर सोधिएको हो। गाडी लक गरेकोमा त हामीले प्रशंसा नै गरेका छौँ।'

महाशाखा प्रमुख पन्तले स्पष्टीकरण लिने क्रममा ढलेका टीकारामलाई अस्पताल नै भर्ना गरेर उपचार गरिएको थियो । दुवै ट्राफिकमाथि महाशाखाले कारवाही अघि बढाएपछि उनीहरु चिन्तित बनेका छन्।

यसबारेमा महाशाखा प्रमुख वसन्त पन्तसँग सम्पर्क गर्दा उनले ट्राफिक जवानद्वयलाई स्पष्टीकरण सोधिएको कुरा गलत रहेको बताए । 'हामीले दुवैलाई स्पष्टीकरण सोधिएको कुरा गलत हो', उनले भने,'सडकमै सम्मान थापेकोबारेमा केही कुरा भएको हो। गृहको गाडी समातेकोमा हामीले स्पष्टीकरण सोधेको कुरामा कुनै सत्यता छैन।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.