बालुवाटारमा तीन घण्टा छलफल, सचिवालय सर्‍यो

|
फाइल फोटो

काठमाडौं : पार्टीका विभागहरूको नेतृत्व टुंग्याउन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफल निष्कर्ष विहीन भएको छ। स्कुल विभागको नेतृत्त्वमा सचिवालयसदस्यद्वय ईश्वर पोखरेल कि नारायणकाजी श्रेष्ठ भन्ने विषयमा अध्यक्षद्वयबीच सहमति जुट्न नसकेको हो।

सोमबार साँझ बसेका दुवै अध्यक्षबीचको छलफलबाट स्कुल विभागको नेतृत्व कसलाई दिने भन्ने विषयमा सहमति जुट्न नसकेपछि मंगलबार बस्ने भनिएको सचिवालयको बैठक पनि नबस्ने भएको छ।

अध्यक्षद्धयबीच पार्टीको स्कुल विभागको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा निर्णय हुन नसकेपछि भोलि दिउँसो १ बजेका लागी बोलाइएको पार्टीको सचिवालय बैठक स्थगित भएको हो। स्कुल विभागको नेतृत्वको विवाद समाधानका लागि दुई अध्यक्षबीच ३ घण्टा छलफल भए पनि निर्णय हुन नसकेको हो।

दिउँसो ४ बजेदेखि अध्यक्षद्वयबीच साँझ ७ बजेसम्म प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो। स्कुल विभागको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा फेरि बसेर निर्णय गर्ने बैठकमा सहभागी नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए।

पौडेलका अनुसार स्कुल विभागमा पार्टी सचिवालयका सदस्यद्धय ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठले दाबी रेका छन्। अध्यक्ष ओलीले स्कुल विभागको नेतृत्त्व पोखरेललाई दिनुपर्ने अडान लिएका छन् भने अध्यक्ष प्रचण्डले पार्टी प्रवक्ता श्रेष्ठलाई स्कुल विभागको प्रमुख बनाउनुपर्ने अडान राख्दै आएका छन्।

पार्टी सिद्धान्तबारे विवादित अभिव्यक्ति दिँदै आएकाले पूर्वमाओवादी पक्ष पोखरेललाई स्कुल विभागको प्रमुख दिन असहमत भएको हो। पूर्वएमालेका अधिकांश नेतासमेत पोखरेललाई स्कुल विभागको जिम्मेवारी दिन नहुने पक्षमा छन्। तर अध्यक्ष ओलीले पोखरेललाई नै स्कुल विभागको जिम्मेवारी दिन खोजेपछि विवाद चुलिँदै गएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.