सफाइका नाममा धमाधम मासिँदै झाडी

|
तस्बिर सौजन्यः विवेक गौतम

पथरी (मोरङ) : सामुदायिक वनले सुरु गरेको वैज्ञानिक वन कार्यक्रमले जंगलको अस्तित्व संकटमा पर्दै गएको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

मोरङ्गको पथरीशनिश्चरे नगरपालिका क्षेत्रको जैविक विविधता अध्ययन गरेको टोलीले वैज्ञानिक वन कार्यक्रमबाट वन्यजन्तु र पंक्षीलाई असर पार्ने निचोड निकालेका हुन्।

अनुसन्धानकर्तामध्येका एक विवेक गौतमका अनुसार वैज्ञानिक वन कार्यक्रम अन्तर्गत ‘थिनिङ्ग’प्रक्रियाले वनको परम्परागत मान्यतालाई नै प्रभाव पारेको छ । ‘वन भनेको झाडी भएको वन्यजन्तुको आश्रयस्थल भन्ने बुझिन्छ। तर वैज्ञानिक वनले झाँडी फाडेर व्यवसायिक विरुवा हुर्काउँदा वनलाई मान्छेमुखी बनाइँदै छ’, उनले भनेक छन्। वन्यजन्तु आश्रयकै अभावमा वन क्षेत्र छोडेर अन्यत्र बसाइँ सर्न थालेका छन् ।

वन सफाइ‘किलिङ्ग’ले पनि वन्यजन्तु र पंक्षीलाई असर पारेको अनुसन्धानकर्ताहरु बताउँछन्। पथरी-शनिश्चरेका विभिन्न वनमा २ महिना लगाएर गरिएको अनुसन्धानबाट वैज्ञानिक वन लागू भएका वनबाट वन्यजन्तु र चराचुरङ्गी अन्य वनमा सर्न थालेको गौतमले बताए। 

‘वैज्ञानिक वन कार्यक्रमका नाममा वनका पुराना रूख काट्दा वन्यजन्तुको बासस्थान मासिँदैछ,’ गौतमले भने ‘टोड्कामा बस्दै आएका पंक्षी र जन्तुसमेत संकटमा परेका छन् ।’

सरकारले वनक्षेत्रका रुख काट्दै नयाँ विरुवा हुर्काउन वैज्ञानिक वनको अवधारणा ल्याएको हो। मोरङ्गका १३५ सामुदायिक वनमध्ये ३५ वटामा वैज्ञानिक वन कार्यक्रम लागू भएको छ।

वन्यजन्तुले झाडी मन पराउँछन्। तर वैज्ञानिक वनका नाममा सफाइ गरिँदा उनीहरुलाई असर परेको अनुसन्धानकर्ताहरूको भनाइ छ । बाक्ला झाडी सफाइ गर्दा त्यहाँ भएका वन्यजन्तु र पंक्षीले बासस्थान छोडिरहेका छन् । यसले भोलीका दिनमा वन्यजन्तुको संख्या घटने निश्चित जस्तै छ।

झाडी फाडिएकै कारण पथरी-शनिश्चरे क्षेत्रमा पाइने केही चराचुरुङ्गी र वन्यजन्तुले यो क्षेत्र छोडिसकेको उनीहरुको भनाइ छ । वैज्ञानिक वन कार्यक्रमले वनका रुख हुर्काउन तारघेरा लगाउँदा वन्यजन्तुले बासस्थान गुमाउने उनीहरुको तर्क छ । 

गौतम लगायतको टोलीले पथरी-शनिश्चरेका विभिन्न वन क्षेत्रका सरिसृप स्तानधारी, माछा, चराचुरुङ्गी र उभयचरको अध्ययन गरेको थियो। त्यसक्रममा संकटोन्मुख वन्यजन्तु र पंक्षीको सूची पनि तयार पारिएको छ। 

अर्जुन काफ्लेबाट

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.