|

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पाकिस्तानी प्रधानमन्त्री इमरान खानबीच सोमबार भेटवार्ता भएको छ।

ट्रम्प र खानबीच मुख्य गरेर अफगानिस्तानमा १८ बर्षदेखि जारी युद्वका बारेमा छलफल भएको अधिकारीहरूले जनाएका छन्।

अमेरिकाले अफगानी सरकार र विद्रोही तालिबान लडाकूबीचमा शान्ति सम्झौता गराउन चाहेकाले खानसँग ट्रम्पले अफगान युद्धका बारेमा छलफल गरेका हुन्।

चर्चित पूर्व क्रिकेट खेलाडी समेत रहेका पाकिस्तानी प्रधानमन्त्री खान सोमबार पहिलो पटक प्रधानमन्त्रीका रूपमा ह्वाईट हाउस प्रवेश गरेका हुन्।

अमेरिकी राष्ट्रपति ट्रम्पका वरिष्ठ अधिकारीहरूले अफगानिस्तानमा शान्ति वार्ता अगाडि बढाउनका लागि पाकिस्तानबाट सहयोगको वातावरण बनाउन यो भ्रमण उपलब्धिमुलक हुने अपेक्षा गरिएको बताएका छन्।

खानले अमेरिकी केही मन्त्री, सांसदलगायतका सरकारी अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको अमेरिकी अधिकारीहरूले जानकारी दिएका छन्।

पाकिस्तानी प्रधानमन्त्री खान तीन दिने भ्रमणका लागि आइतबार अमेरिका पुगेका छन्। आफ्ना विदेशमन्त्री, सेना प्रमुखसहितको टोलीका साथ खान विमानस्थलबाट बाहिरिएपछि रेल चढेर गन्तव्यतर्फ लागेका थिए।

अमेरिका आउदा उनले पाकिस्तानी एयरफोर्सको विमानसमेत प्रयोग नगरी नियमित उडानबाट अमेरिका गएका थिए।

खानले मुलुकको आर्थिक सङ्कट न्युनिकरणका लागि फजुल खर्च जोगाउने अभियान थालेका छन्। प्रधानमन्त्री खानले प्रधानमन्त्री पद सम्हालेलगत्तै अत्यधिक सुविधा सम्पन्न सरकारी निवासमा नबस्ने घोषणा गरेका थिए।

फजुल खर्च नियन्त्रण गर्ने र सादा जीवनशैली अपनाउने खानको पछिल्ला कदमहरूको विश्वभरी प्रशंसा भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.