काठमाडौं : कवि गोपालप्रसाद रिमालले राणाकालमै लेखेको कालजयी कविता ‘रातो र चन्द्रसूर्जे जंगी निशान हाम्रो’ संगीतबद्ध भएको केही दशकपछि अब म्यूजिक भिडियोका रुपमा प्रस्तुत भएको छ।
यस कवितालाई अम्बर गुरुङले वीररसमा संगीतवद्ध गरेर राष्ट्रिय गीतका रुपमा तयार पारेका थिए। उतिबेलै गुरुङ र अर्का गायक फत्तेमानको स्वर समेटेर रेडियो नेपालमा यसको रेकर्ड गरिएको थियो। यो गीतलाई पछिल्लो समय लोक रक ब्याण्ड नेपथ्यले गाउँदै आएको छ।
संगीतकार एवं गायक अम्बर गुरुङबाट यस गीतलाई गाउने आधिकारिक अनुमति ब्याण्डले प्राप्त गरेपछि केहि वर्षअघि तयार भएको नेपथ्यको एल्बम ‘मेरो देश’ मा यसलाई समेटिएको थियो।
त्यसैगरी, नौ वर्षअघि नेपाली सेनाले यस गीतलाई ‘सैनिक गीत’ बनाउने निधो गरेपछि उसका प्रत्येक जस्तो औपचारिक कार्यक्रममा यो धुन बजाउँदै आइरहेको छ। यो गीत अब नेपथ्यको आधिकारिक च्यानलमा हेर्न पाइने छ।
‘म्यूजिक भिडियोमा नेपथ्य ब्याण्डकै लाइभ कन्सर्टका दृश्यहरुलाई संयोजन गरिएको छ,’ ब्याण्डको व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘गीत गाउँदा दर्शकहरूमा देखिएको ब्यापक उत्साह र ऊर्जाले नै शब्दको शक्ति देखाउने भएकाले यस्तो निर्णय लिएका हौँ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।