|

गुल्मी : गुल्मीमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन्। जिल्लाको सत्यवति गाउँपालिकाको २ वटा वडाको ३ घरमा पहिरोले घर पुरिँदा ११ जनाको मृत्यु भएको छ। 

सत्यवति गाउँपालिकाको लिम्घामा ८ जनाको र ठूलो लुम्पेकमा २ र १ जना पहिरोबाट बच्नका लागि भाग्ने क्रममा मृत्यु भएको हो। सत्यवति गाउँपालिका ४ को लिम्घामा मृतक मध्ये ६ जनाको शव  पहिचान भएकाे छ भने अरु २ जनाको शव निकाल्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। 

पहिरोमा परेर मृत्यु हुनेहरूमा ६५ वर्षीय छल्ली बिक, २८ वर्षीय कम्बु बिक, २५ वर्षीय निर्मला बिक, १२ वर्षीय अंजली बिक, १० वर्षीय हेमन्त बिक, ७ वर्षीय शिवानी बिकको शव बाहिर निकालिएको प्रहरी जनाएको छ। त्यस्तै सोही गाउँपालिका ३ को ठूलोलुम्पेक कसिन डाँडा पहिरोमा पुरिएर ३२ वर्षीय तिलकुमारी त्रामु, ९ वर्षीय दर्शन त्रामु र पहिरोबाट बच्न भाग्ने क्रममा ६३ दुर्गाबहादुर सिंजाली मृत्यु भएको हो। 

पहिरोमा ८ वर्षीय तारा बिक ६ वर्षीय सुमन बिकको शव निकाल्ने कार्य जारिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रबीन्द्र खड्काले बताए। एकजना वालक सन्दीप बिक मावली घरमा गएकाले जीवितै रहेका छन्। ठूलोलुम्पेमा रुद्र बिकको घर पहिरोले घर पुरेकोे छ। पहिरोमा घर घर पुरिँदा ४० वर्षीय मायाँ बिक र १६ वर्षीय गबी बिक बेपत्ता भएका छन्।  

पहिरोमा पुरिएर २ जना घाइते भएका छन्। सत्यवति ४ का १० वर्षीय करिष्मा त्रामु र १३ वर्षीय धनी त्रामुको घाइते भएको प्रहरीले जनाएको छ। गए रातिदेखि परेको अबिरल वर्षातले घरमाथिबाट पहिरो जाँदा घरमा सुतिरहेकाको मृत्यु भएको हो। उद्धारको लागि जिल्लाबाट प्रहरी नायव उपरीक्षक मिनबहादुर घले, सशस्त्र प्रहरी नायव उपरीक्षक दिनेश रामयमाझी सहितको टोली घटना स्थलल पुगेर उद्धार कार्य सुरु गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। पहिरो प्रभावित क्षेत्रमा डक्टरसहितको स्वास्थ्य टोली पनि पुगेको छ। 

जिल्ला बिपद व्यवस्थापन समितिको बैठकले उद्धार र राहतमा जुटने निर्णय गरेको छ। गए रातिदेखि परेको वर्षातका कारण ठूलो लुम्पेकको करिब २०० घर जोखिममा रहेको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताए। सिङ्गो गाउँ नै पहिरोको प्रभावित रहेकाले संख्याको आकंलन गर्न सकिने अवस्था नरहेको अध्यक्ष ढकालले बताए।

घरहरू जोखिममा रहेकाले स्थानीय विद्यालयहरूमा बसिरहेका छन्। कुनै पनि समयमा पहिरो खस्ने डरले स्थानीय त्रसित हुँदै उनीहरूलाई खानपिनको लागि वडा कार्यालयले व्यवस्थापन गरेको छ। प्रभावित क्षेत्रमा जिल्लाबाट र बुटवलबाट स्वास्थ्य सहितको उपचारको लागि खटिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।  

पहिरो प्रभावित क्षेत्रमा जिल्लाबाट रेडक्रम, जिल्ला समन्वय समिति, नेकपाका जिल्ला स्तरिय नेता तथा कार्यकर्ताहरू प्रभावित क्षेत्रमा उद्धारमा खटिएका छन्।

राहत लिएर मन्त्री प्रभावित क्षेत्रमा 

गुल्मीको सत्यवति गाउँपालिकाको बिभिन्न स्थानमा पहिरो प्रभावित क्षेत्रमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रातहसहित प्रभावित क्षेत्रमा पुगे। मन्त्री ज्ञवाली, गृह मन्त्रालयका सह-सचिव इन्दु घिमिरे, डाक्टर राशम ज्ञवाली, मन्त्रीका प्रेस सल्लाहाकार सुदन ज्ञवाली सहितको टोली लिएर प्रभावित क्षेत्रमा पुगेकाे हाे। 

प्रभावित क्षेत्रमा पुगेर ज्ञवालीले स्थलगत अवलोकन गर्नुका साथै प्रभावित परिवारलाई राहत सामग्री वितरण गरे। मन्त्री ज्ञवालीले जिल्लाको सत्यवति गाउँपालिकाको ठूलो लुम्पेक र लिम्घामा पहिरोमा पुरिएर मृत्यु हुनेहरूप्रति दुख व्यक्त गर्दै राहत र उद्धारमा जुटन आग्रह गरे।

यस्तै गुल्मी क्षेत्र २ का सांसद एवं श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले शोक वक्तब्य जारी गर्दै सत्यावति गाउँपालिकामा पहिरोबाट भएको मानवीय क्षतिप्रति दु:ख ब्यक्त गर्दै  समवेदना प्रकट गर्दै राहत र उद्धारमा जुटन आग्रह गरे। यस्तै प्रदेशका सांसद तथा सामाजिक विकास मन्त्री सुदर्शन बराल पनि प्रदेशबाट प्रभावित क्षेत्रमा पुगेका थिए। उनी औषधि, टेन्ट र भाँडाकुडासँगै कम्मल लिएर प्राभावित क्षेत्रमा पुगेका हुन्।

यता प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले गुल्मीको सत्यवति गाउँपालिका ३ को ठूलो लुम्पेक र सिन्धी तथा वडा ४ को लिम्घामा अविरल वर्षासँगै गएको पहिरोमा परी मृत्यु भएकाप्रति दुख व्यक्त गरेका छन्।

मंगलबार एक बक्तव्य जारी गर्दै मुख्यमन्त्री पोखरेलले पहिरोमा परी ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेका छन्। घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको पोखरेलद्धारा जारी बक्तव्यमा उल्लेख छ।

विपद् प्रभावित क्षेत्रमा उद्धारका लागि सुरक्षाकर्मी सहितको टोली सक्रिय रहेको उल्लेख गरिएको छ। प्रभावित क्षेत्रमा चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा खटिएको उल्लेख गरिएको छ। उद्धार र राहतलाई व्यवस्थित बनाउन सरकारी निकायबीच संयोजनको आवश्यक व्यवस्था मिलाइएको मुख्यमन्त्री पोखरेलद्बारा जारी बक्तव्यमा भनिएकाे छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.