|

सप्तरी : प्रदेश २ को सुदूर पूर्वी जिल्ला सप्तरी सिरहामा छुट्टा-छुट्टै घटनामा मंगलबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म तीन घण्टाको अवधिमा सात जनाको मृत्यु भएको  छ। सप्तरीको पाँच ठाउँमा तीन जनाको चट्याङ लागेर, एक जनाको सडक दुर्घटना र थप एकको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। 

सप्तरी प्रहरीका अनुसार सुरुङ्गा नगरपालिका ३ दौलतपुरका ५५ वर्षीय हरीहर चौधरी, हनुमानगर कंकालिनी नगरपालिका ११ योगिनियाँका शुभनारायण पण्डितकी श्रीमती ४५ वर्षीया शिवसतीदेवी पण्डित र तिलाठी कोइलाडी गाउँपालिका १ तिलाठीकी १५ वर्षीया पुनम यादवको चट्याङ लागेर मृत्यु भएको हो। प्रहरीका अनुसार चट्याङ्ले घाइते भएका सुरुङ्गा ३ की ५० वर्षीया चन्द्रदेवी चौधरी र ४५ वर्षीया चन्द्रदेवी चौधरीको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार गरी डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ। 

खडक नगरपालिका ७ कल्याणपुरस्थित पूर्व पश्चिम सडकमा हायसको ठक्करले मोटरसाइकल चाललकको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना. ५ ख ५९८२ नम्बरको हायसले विपरीत दिशातर्फ जाँदै गरेको स. १ प ९७६९ नं. को मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका खडक नगरपालिका ६ का अन्दाजी ५५ वर्षीय कारी साहको उपचारको क्रममा विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

घाइते साहको स्थानीय एडभान्स अस्पतालमा उपचार गरी विराटनगर पुर्‍याइएकाे थियाे। विराट नर्सिङ होममा उपचारका क्रममा उनकाे मृत्यु भएको हो। तिलाठी कोइलाडी गाउँपालिका १ कामत टोलका संजय कामतकी श्रीमती अन्दाजी ३५ वर्षीया रानीदेवी कामतको आफ्नै घरमा बजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।  

सिरहामा बृद्धासहित दुईको मृत्यु

सिरहाको धनगढीमाई नगरपालिका २ र अर्नमा गाउँपालिका ३ लालपुर गाउँमा मंगलबार एक बृद्धासहित दुई जनाको मृत्यु भएको छ। सिरहा प्रहरीका अनुसार खेतमा काम गरिरहेका बेला अर्नमा ३ का अन्दाजी २२ वर्षीय बिजुली महराको चट्याङ लागेर मृत्यु भएको हो। त्यसअघि मंगलबार धनगढीमाई नगरपालिका २ धनगढाको मुस्लिम टोलमा वर्षाले गलेको घर भत्किँदा स्थानीय नथुनी मियाँकी श्रीमती करिब ५५ वर्षीया कुसमा खातुनको उपचारको क्रममा मृत्यु भएको थियो। 

घर भत्किँदा घरधनी ७५ वर्षीय आजम राइनसहित उनकी श्रीमती करिब ६५ वर्षीया करियाही खातुन, राइनका छिमेकी महेश गिरीका छोरा करिब २३ वर्षीय सुवाष गिरी घाइते छन्। घाइतेहरूको धनगढीमाई ११ स्थित श्रमजीवी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.