|

संविधान संशोधन विधेयकको विषयलाई लिएर प्रतिपक्षी मोर्चाले संसद बैठक निरन्तर अवरोध गर्दै आएको छ। संसदमा जारी गतिरोध अन्त्यको पहलस्वरुप सभामुख ओनसरी घर्तीले सोमबार बोलाएको सात दलको बैठक फलदायी भएन। यद्यपी  दलहरुले सहमतिमा पुग्नका लागि वार्ता र संवादलाई निरन्तरता दिने समझदार बनाए। दलहरु सहमतिमा पुग्ने आधार के छ ? र, संसदको गतिरोधको अन्त्य कसरी हुन्छ? रेडियो थाहासञ्चार नेटवर्कका लागि देवीराम देवकोटाले सभामुख ओनसरी घर्तीसँग गरेको कुराकानी :

गतिरोध अन्त्यका लागि बोलाइएको बैठकमा एमाले  अध्यक्ष केपी ओलीको अनुपस्थितिलाई कसरी लिनुभएको छ ?

राजनीतिक दलको शीर्ष नेताहरुको विभिन्न कार्यव्यस्तता हुन्छ। त्यसैले यसलाई मैले स्वभाविक रुपमा लिएको छु। उहाँ नआएपनि आफ्ना दलका नेताहरुलाई पठाउनुभएको थियो। उहाँको तर्फबाट राख्ने कुराकानी, छलफल हुनुपर्ने विषयवस्तुहरु उहाँको तर्फबाट आफ्नै दलका नेताहरुले राख्नुभएको थियो। जो नेताहरुलाई पठाउनुभएको थियो उहाँले सरसल्लाह गरेरै पठाउनुभएको थियो र उहाँहरुले आफ्नो दलको तर्फबाट राख्नुपर्ने कुराहरु पर्याप्तै राख्नुभयो।

बैठकमा दलहरुले पुरानै अडान दोहोर्‍याएको सार्वजनिक भएको छ वास्तविकता के हो?

दुवै पक्षको आ-आफ्नो अडान छ तर अरु विकल्पमा पनि छलफल भएको छ। सबैले दुईपक्षीय, त्रिपक्षीय, बहुपक्षीय छलफल गर्छौं त्यसका लागि सभामुखले समय दिनुपर्‍यो र हामी निष्कर्षमा पुग्छौं भनेर कुरा राख्नुभएको छ। उहाँहरुको छलफल हुँदै गर्दा केही समय लाग्ने देखिन्छ। गतिरोध अन्त्य गर्न उहाँहरु बस्नुहुन्छ होला।

पटक पटकको छलफलले पनि गतिरोध अन्त्य हुन त सकेन। कहिलसम्म टुंगिन्छ त?

विगतमा हामीले  निकै ठूला विवादमा पनि राजनीतिक दलहरुले एकै ठाउँमा पुगेर निर्णय गरेको कुरा देखेकाछौं। अवश्य पनि उहाँहरुकोबीचमा मतभिन्नता छ। मतभिन्नता भएपनि छलफल र बहसबाट नजिक ल्याउने हो। नजिक ल्याउने काम चाहिँ बारबार भइरहेको छ। रिजल्ट आउँदा अवश्य पनि नेपाली जनताको हितमा आउनेछ।

प्रतिपक्षी दलले संविधान संशोधनलाई थाँती राखेर निर्वाचन कानुनलाई अघि बढाउने विकल्प अघि सारेको छ। त्यो  संभावना छ कि छैन?

उहाँहरुले विभिन्न विकल्पमा छलफल गर्नुभएको छ। तर निष्कर्षमा पुग्नुभएको छैन, मिल्नुको विकल्प छैन भन्ने कुरामा राजनीतिक दल एकमत हुनुहुन्छ। उहाँहरुले हाम्रोबीचमा छलफल बहस हुनुपर्छ भन्ने कुरा दोहोर्‍याउनुभएको छ। सहमतिमा पुग्नका लागि विभिन्न प्रकारका अप्सनहरुमा दुईपक्षीय र बहुपक्षीय छलफल गरियो भने कुनै न कुनै निष्कर्षमा हामी पुग्न सक्छौं र छलफलका लागि तयार हौँ भन्नेमा एकमत हुनुभयो।

आ-आफ्नो अडानमा दलहरु यथावत रहँदा सहमति कसरी जुट्ला ?

निष्कर्षमा पुग्नका लागि अलकति ढिलाइ भएको कुरा सत्य हो। हामीसँग अहिले ढिलाइ गर्ने समय छैन। तैपनि राजनीतिक दलकोबीचमा छलफल बहस भइराख्दा अलिकति समय लगाएर राम्रो निष्कर्ष पर्खनु उचित हुन्छ भन्ने मलाई लाग्छ। त्यसैले उहाँहरुले हिजो पनि केही समय सरसल्लाह र छलफल गर्छौं भनेपछि मैले सहमति दिएँ। मैले सहमति हुन्छ भन्ने विश्वास गरेको छु। राजनीतिक दलहरुकोबीचमा नमिल्दो तर्क भएको छैन। उहाँहरु कसरी सहमतिमा पुग्‍ने भन्ने विकल्पको खोजीमा हुनुहुन्छ। उहाँहरु एकठाउँमा आउनुहुन्छ भन्ने आधार हामीले देख्‍न सक्छौं। 

दलहरु एक ठाउँमा उभिने आधार चाहिँ के हुन् ?

तीन तहको निर्वाचनमा दलहरुको एकै मत छ। छिटोभन्दा छिटो चुनाव घोषणा गर्ने र त्यसको लागि संसदमा भएको विधेकयलाई अगाडि बढाउनका लागि कसैले विमति राख्‍नुभएको छैन। यो नै ठूलो आधार हो, यसैको वरिपरि सबै कुराहरु मिल्नसक्छ। त्यसैले उहाँहरुले बारम्बार सहमतिका लागि संवाद जारी राख्‍नुभएको छ त्यसले  जनतको हितमा र राष्ट्रको हितमा निष्कर्ष निकाल्छ।

प्रधामन्त्रीले निर्वाचन र संविधान संशोधनमा विधेयकमा प्याकेजमा सहमति गर्ने प्रस्ताव गर्नुभएको रहेछ। प्याकेजमा सहमति संभव छ ?

यी विषयमा प्याकेजमा सहमति गर्न संवादलाई निरन्तरा दिनुपर्छ भन्ने विषयमा अघिल्लो बसाइ देखिनै छलफल भएको छ। स्वभाविक रुपमा प्रधामन्त्रीज्युले  आफ्नो भनाइ राख्नेक्रममा यो प्रस्ताव गर्नुभयो। प्याकेजमा सहमति खोज्नका लागि दुईपक्षी, त्रिपक्षीय र बहुपक्षीय छलफल गर्ने निष्कर्ष राजनीतिक दलहरुले दिनुभयो।

दलहरुलाई समय दिँदै जाँदा चैतमा गर्ने भनिएको  स्थानीय तहको निर्वाचन पर सर्ने भयो हैन ?

निर्वाचन सर्ने कारण त मैल देख्दिँन। तर उहाँहरुले अब चाहिँ अलि छिटो छलफल गरेर निष्कपर्षमा पुग्नुपर्ने हुन्छ। ढिलाइ भइरहेको कुरा सबैलाई महसुस भएको छ। मैले निष्कर्षमा पुग्न दलहरुको ध्यानाकर्षण गराइरहेको छु। तीन तहको निर्वाचनका लागि २०७४ माघ ७ गतेभित्र जुन जिम्मेवारी लिएका छौं त्यसलाई पूरा गर्न पनि मैले दलहरुको ध्यानाकर्षण गराएको छु। दलहरु यसमा गम्भीर हुनुहुन्छ। निर्वाचनभन्दा अर्को ठूलो कार्यभार हामीसँग छैन। सबैपक्ष त्यसमा केन्द्रित हुनुभयो भने समयमै निर्वाचन संभव छ।

संसद अवरोध हुँदा निर्वाचन कानुन समेत पेश हुन सकेको छैन। कहिलेसम्ममा संसद खुल्छ ?

संसदमा जुन प्रकारको गतिर‍ोध छ यो राम्रो कुरा होइन। संसदमा भइरहेको अवरोधका कारण जनताका कामहरु ठप्प भएका छन्। यस्तो अवस्था आउन दिनु हुँदैनथ्यो तर आयो। यसलाई चाँडो खुलाउनुपर्छ भन्नेतर्फ म केन्द्रित भइरहेको छु। दलहरुकोबीचमा पनि संसदमा जारी गतिरोध अन्त्य गर्नका लागि छलफल भइरहेको छ। गतिरोध अन्त्यका लागि मैले दलहरुलाई सकेसम्म संविधान संशोधन विधेयकको विषयमा सहमति जुटाउनुस् नभए प्रक्रियामा सहमति गर्नुस्, संसदभन्दा बाहिरबाट निर्णय हुनसक्दैन भनेको छु। संसदको  गतिरोध अन्त्य गर्ने  विधि यही हो, उहाँहरुले यसलाई स्वीकार गर्नुहुन्छ। म दलहरुको सहमतिबाटै सदन सञ्चालन गर्न प्रयत्नशील छु। सहमति जुटाएर सदनको गतिरोध अन्त्य गर्ने मेरो पहल सफल हुन्छ भन्नेमा म आशावादी छु।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.