|

विराटनगर : बिहानैदेखि परेको अविरल वर्षाका कारण प्रदेशसभा संसद भवनमा ढलको पानी जमेपछि बैठक स्थगित भएको छ। संसद भवनमा ट्वाइलेटको हजमा पानी भरिएर दुर्गन्धति पानी बैठकस्थलको रोष्टमका साथै मूल ढोकामै जमेपछि बैठक सूचना टाँस गरेर स्थगित भएको हो।

संसद संचालन सुरु भएको १७ महिना पुगेको छ। तर, पुरानै भवन र पुरानै संरचनाको पनि उपर्युक्त ढंगले मर्मत सम्भाव नगरिँदा बुधबार बस्ने भनिएको संसद बैठक अवरुद्ध हुन पुग्यो। वर्षा रोकिएसँगै सुरक्षाकर्मीले रोष्टम अगाडिको पानी सफा गरेको भए पनि मूल ढोकाको पानी बैठक सुरु हुने समय दिउँसो १ बजेसम्म कायम थियो।

संसद बैठकस्थलको मूल ढोकामा जमेको फोहोरयुक्त पानी मोटरले तानिँदै ।


पानी जम्दा मात्रै बैठक चल्न सक्थ्यो होला तर, त्यहाँ अत्यन्तै दुर्गन्धित अवस्था भएपछि संसद बैठक स्थगित गरिएको प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीको भनाइ छ। ‘बैठकस्थलमा पानी साधारण भन्दा पनि फोहोर पानी पसेका कारण दुर्गन्ध फैलिएयो र आजको अवस्था आएको हो,’ सभामुख भण्डारीले भने, ‘यसलाई हामी व्यवस्थापन गर्न लागेका छौँ।’ पानी भित्र नपस्ने गरी व्यवस्था गर्न प्राविधिकको राय, सल्लाह र इष्टिमेटअनुसार काम तत्काल गरिरने उनको भनाइ छ।

गत वर्ष पनि संसद भवनमा पानी पसेको थियो। झण्डै १५ दिन अगाडि पनि वर्षाका कारण संसद भवनमा पानीको जमेको थियो। त्यसबेला उपर्युक्त व्यवस्थापन गर्न नसक्दा अहिलेको अवस्था आएको कतिपय सांसदको भनाइ छ। नेपाली कांग्रेस संसदीय दलका नेता राजिव कोइरालाले त संसद बैठकको अवस्था यस्तो देखिँदा जनता कसरी बसेका होलान् भनि प्रश्न गरे। उनले १७ महिनासम्म सामान्य मर्मत गर्न नसकेको भन्दै सरकारप्रति कटाक्ष पनि गरे।

संसद बैठकस्थलको मूल ढोकामा जमेको फोहोरयुक्त पानी


‘हामी संसदमा भाग लिन भनेर आएका थियौं । तर, यहाँ आएपछि थाहा भयो संसद हल भित्र बाढीको पानी पसेर फोहोर भएको कारण संसद स्थगित गर्नुपर्ने कारण भयो भनेर सभामुखज्यूले भनेपछि स्थगित भएको हो,’ कोइरालाले भने, ‘संसद सुरु भएको १७ महिनासम्ममा पनि हालत यस्तो छ, अन्य जनताको अवस्था के होला? भाँचिएको पुल, अवरोध भएका बाटाहरू कहिले बन्ला? जनता घर कहिले बन्छ? संसद सचिवालयको हालत यो छ।’ ७ दिनमा बन्छ भनेर सभामुखले जवाफ दिएको भए पनि १७ महिनासम्म नबनेको भन्दै सरकार कसरी अगाडि बढेको छ भन्नेकुरा देखिएको उनले बताए।

संसद बैठक साउन १९ गतेसम्मका लागि स्थगित गरिएको हो। सो समयावधिमा जमेको पानी फ्याक्ने र आगामि दिनमा त्यस्तो हुन नदिने गरी काम गर्ने संसद सचिवालयको तयारी छ। बुधबारको बैठकमा प्रदेश लोकसेवा आयोग गठन सम्बन्धमा बनेको विधेयकबारे छलफलको कार्यक्रम राखिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.