पूर्वाधारका लागि बल्ल जग्गाको टुङ्गो लाग्यो

|

म्याग्दी : अन्तराष्ट्रिय व्यापार नाकाका लागि नेपाल र चीनबीचको प्रमुख नाकामध्येको एक उपल्लो मुस्ताङको कोरलामा चीनले पूर्वाधार निर्माणका सम्पूर्ण कामहरु सकिसन्दा पनि नेपालतर्फको तयारी भने शून्य देखिएको छ।

नेपाल र चीनबीच व्यापार तथा पारवहन सम्झौताको प्रोटोकलमा गत भदौमै सहमति बनिसकेको थियो। सहमति लगत्तै चीनले आफ्नो सीमा क्षेत्रमा व्यापार तथा पारवहनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेको छ तर कोरला नाकामा नेपाली पक्षको तयारी शून्य बराबर छ ।

चीनले आफ्नो सीमासम्म १२ चक्के ट्रक आउन सक्ने कालोपत्रे सडक निर्माण गर्नुका साथै भन्सारका लागि सुविधासम्पन्न भवन निर्माण पनि गरिसकेको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्ण विष्टले जानकारी दिए। विष्टले दिएको जानकारी अनुसार चीन तर्फ १० किलोमिटर (किमी) टाढासम्म कालोपत्र सडक निर्माण भइसकेको छ। नेपालतर्फ भने कोरला नाकादेखि करीब १९० किमी तल म्याग्दीको बेनीसम्म मात्र कालोपत्र सडक तयार भएको छ। चीनतर्फ अन्तर्राष्ट्रिय व्यापारका लागि भौतिक पूर्वाधार तयार भइसकेका छन्। नेपालतिर भने सुरक्षाकर्मी बस्न कर्कटपाताले बारेर बनाएको एउटा छाप्रो मात्रै रहेको छ।

भन्सारका लागि भयो जग्गाको व्यवस्था

नेपाल र चीन सरकारले कोरला सीमामा भन्सार खोल्ने औपचारिक घोषणा गरिसके पछि चीन सरकारले आफ्नोतर्फको काम अगाडि बढाइसकेको थियो। तर, नेपालतर्फको संरचना विकासको त कुरै छोडौं भन्सारका लागि लामो समयसम्म जग्गाको समेत  व्यवस्थापन हुन सकेको थिएन। लोमान्थाङ गाउपालिकाका  अध्यक्ष सुवर्ण विष्टका अनुसार नेपाली पक्षले केही समय अघिमात्र भन्सार कार्यालय निर्माणका लागि जग्गाको टुंगो लगाएको छ। कोरला नाका नजिकैको १ हजार रोपनी जग्गा भन्सार निर्माणका लागि सरकारले व्यवस्थापन गरेको छ।

कोरला क्षेत्रमा व्यक्तिगत जग्गा नहुँदा पनि समस्या भएको उपल्लो मुस्ताङवासीको भनाइ रहेको छ। भन्सार कार्यालयका लागि सरकारले नै जग्गा व्यवस्था गरेको हो। जग्गाको व्यवस्थापन भएपछि अव भने कोरला नाकामा भौतिक पूर्वाधार निर्माणको काम शुरु हुनेमा स्थानीय आशावादी बनेका छन्। 

यस्तो छ कोरला नाकाको इतिहास

सन् १९६० भन्दा पहिला कोरला नाका नेपाल र तिब्बतका लागि एउटा महत्वपूर्ण व्यापार नाका थियो। यो नाका विशेष गरी प्राचीन साल्ट रूट (ढिके नूनको कारोबार हुने मार्ग) को केन्द्रका रूपमा चर्चित थियो। सन्  १९४९ सम्म तिब्बत स्वतन्त्र थियो।  तर, सन् १९५० मा तिब्बतमा चीनको शासन शुरू भयो। चीनको विरोधमा सन् १९६० मा तिब्बतको खामका बासिन्दा (खम्पा) हरूले नेपालको भूमि (मनाङ र मुस्ताङ) प्रयोग गरी विद्रोह थालेपछि यो नाका बन्द भयो। सन् १९६० देखि बन्द रहेको यो नाका ५८ वर्ष वितिसक्दा पनि अझै  खुल्न सकेको छैन्।

धार्मिक शिक्षाको मार्ग कोरला नाका

कोरला नाकाको इतिहास केवल व्यापारिक प्रयोजनसँग मात्र जोडिएको छैन्। यो नाका बुद्ध धर्म र शिक्षाका लागि पनि उत्तिकै इतिहास बोकेको र सम्भावना रहेको नाका पनि हो। सन् १९६० पूर्व यही नाकाको प्रयोग गरेर तत्कालीन तिब्बतका बासिन्दाहरु बौद्ध शिक्षा आर्जनका लागि नेपाल र भारतमा आउजाउ गर्ने गर्दथे।

मुस्ताङका प्रदेश सभा सदस्य इन्द्रधारा विष्टका अनुसार यो नाका खुलेपछि व्यापार र पर्यटनको क्षेत्रमा मात्रै होइन बौद्ध धर्म र शिक्षाको प्रचारप्रसार र खोज अनुसन्धानमा पनि महत्वपूर्ण उपलव्धी हासिल हुने सम्भावना रहेको छ।

सांसद विष्टका अनुसार वर्षेनी हजारौं संख्यामा कैलास मानसरोवर पुग्ने भारतीय पर्यटकमध्ये विहार र उत्तर प्रदेशका तीर्थयात्रीका लागि सबैभन्दा छोटो बाटो यही हुनेछ।

चीन तयार, नेपालको पुगेन तयारी

चीनको पूर्वाधार विकासको गति हेर्दा उनीहरू छिटै नाका खुलाउन तयार देखिएका बुझिएको छ।  तर नेपालको भने तयारी नै पुगेको छैन्। ‘चीनले छोटो समयमै नाकामा भन्सार, अध्यागमन कार्यालयदेखि कर्मचारी आवासगृह समेत निर्माण गरिसकेको छ,’ सांसद विष्ट भन्छन् ‘हाम्रोतर्फ पनि छिटो गर्नु प¥यो  भनेर गाउँपालिका, जिल्ला र प्रदेशबाट पनि लबिङ भइरहेको छ ।’

सडक पुगेपछि हट्यो चीनको एकाधिकार

उपल्लो मुस्ताङसम्म सडक नपुगुन्जेल त्यस क्षेत्रका बासिन्दा पूर्णतः चीनकै बजारमा निर्भर थिए। कच्ची सडक मात्र पुग्दा पनि अहिले उनीहरू स्वदेशी दैनिक उपभोग्य वस्तुमा निर्भर हुन थालेका छन्। लोमान्थाङका अध्यक्ष विष्टका अनुसार अहिले दैनिक उपभोग्य वस्तु खरीद गर्न त्यस क्षेत्रका बासिन्दा र व्यापारी पोखरा आउने गरेका छन्।

दुई वर्षभित्र बेनीदेखि जोमसोमसम्म कालोपत्र र जोमसोमदेखि कोरलासम्म ग्राभेल गर्ने योजना रहेको सांसद विष्ट बताउँछन्। उनका अनुसार त्यसका लागि करीब ७ अर्ब रुपैयाँ लाग्ने अनुमान छ।

चीनपट्टि कोरला नाकाबाट ४६ किलोमिटरको दूरीमा ढोङ्बा जिल्लाको सदरमुकाम पर्छ। नाकासम्मै कालोपत्र सडक निर्माण चाँडै सक्ने चिनियाँ तयारी देखिएको लोमान्थाङका बासिन्दा बताउँछन्। कोरलाबाट ११० किमी टाढा मुस्ताङको सदरमुकाम जोमसोम पर्छ। जोमसोम र कोरलाबीचमा करीब १३ ओटा गाँउ छन्। नाकामा हरेक वर्ष असार र असोजमा लाग्ने दुवै देशको संयुक्त मेला नै हालसम्म उक्त नाकाबाट हुँदै आएको कारोबार हो। मेला लागेका बेला मुस्ताङका बासिन्दा वर्षभरिका लागि आवश्यक सामान खरीद गरेर राख्छन्।

मेलामा नेपाली व्यापारीले उवा र फापरको पिठो, चौंरीको छाला, चामल, मैदा, चाउचाउ, बिस्कुटलगायत सामग्री बिक्री गर्छन्। हरेक दशैंमा तिब्बततर्फबाट भेडाच्यांग्रा नेपाल ल्याउने गरिन्छ। भन्सारको पूर्वाधार तयार नभएकाले त्यसका लागि वैधानिक बाटो छल्ने गरिएको छ। वैधानिक व्यवस्थापन भएपछि उक्त समस्या समाधान हुने स्थानीय बासिन्दाको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.